कविता : राधा, याद छ तिमीलाई ?
ढाकाको गुन्यु अनि
मखमली चोलीमा सजिन्थ्यौ तिमी
तिम्रो पछ्यौरीको फुर्कोमा
मेरो सुन्दर संसार कोर्ने गर्थे म
मखमलको बुट्टामा
जीवनका रसरंग भर्ने गर्थे म ।
राधा, याद छ तिमीलाई ?
तिम्रो मोती रूपी दन्तलहर देखिन्थे
जब पिपलपाते ओठको पर्दा खुल्थ्यो
आँखा तिरमिराथ्यो तिम्रो
टल्किने नाकको फुलीले
अनि हेर्थ्यौ लोलाएका आँखाहरूले मेरी राधा ।
राधा, याद छ तिमीलाई ?
तिम्रो पाउजु बज्दा, संगीतमय
हुन्थ्यो मेरो मानसपटल,
नागवेली चालका तस्बिरहरू
घुमिरहन्थे मेरो नयन वरिपरी
रेशमी कपाल छाल बनेर
आउथ्यो मेरो वरिपरि, मेरी राधा ।
राधा, याद छ तिमीलाई ?
जब तिम्रो मधुर मुस्कान छरिन्थ्यो
लाजले भुतुक्कै भै मबाट पर पुगी
जिस्काउथ्यौँ मलाई मेरी राधा ।
राधा, याद छ तिमीलाई ?
पानी भर्न जाँदा ढुङ्गे धारामा
छर्किन्थ्यौ चिसो पानीको बूंदहरुले
ओतप्रोत बनाई मायालु भावले
जब निथ्रुक्क पार्थ्यौ नि राधा,
मेरो आङ सिरिङ हुन्थ्यो अनि
तिमी मरी मरी हाँस्थ्यौँ
तिमी मरी मरी हाँसेको देखेर
म पनि मरीमरी हाँस्थे ।
साच्ची याद छ तिमीलाई ?
तिम्रो र मेरो मेलापातमा
कैयौँ पटक भेट हुन्थ्यो
धान रोप्न जाँदा,
हिलो खेल्दै गरेकी तिमी
हलोको हरिसमा टेकी अनउ समातेर खेत जोत्दै गरेको म
अनि पहेंलो पटुकी सपक्क बेरेर
धान रोप्दै गरेकी मेरी राधा ।
राधा, याद छ तिमीलाई ?
हामी प्रेमिल जोडी बनेर
उकाली ओराली भन्ज्याङ चौतारी गर्दा
तिम्रो हातको स्पर्शले
तरंगित हुँदा मेरो मन
मन्द मन्द मुस्कुराउथ्यौँ मेरी राधा ।
राधा, याद छ तिमीलाई ?
रातो माटोले लिपेको खरले छाएको
डाँडाको टुप्पोमा तिम्रो महल
महल भित्रको चिसो भुँइ
भुँइमा राखेको माटोको घैंटी
घैंटीभित्रको अमृत सरी पानी
घुटुघुटु पिउँदै हुन्थ्यौँ मेरी राधा ।
राधा, याद छ तिमीलाई ?
गुँरासको फूल शिरमा सजाई
उकालीको सूसेलीसँगै मेला पात झर्न लाग्दा
हाम्रा आँखा हजारौं पटक जुध्थे
लुटुपुटु पर्थ्यौ गरूडको छायाँमा
सर्प परेझैं लुटुपुटु मेरी राधा ।
शालीन अनि सशील मेरी राधा
आज धेरै याद आयो मेरी राधा ।
प्रतिकृया दिनुहोस