‘नो सेक्स प्लिज !’ यौन उत्तेजनामा बाधक किन ?
यौनका सन्दर्भमा हामी मानव इतिहासकै सबैभन्दा स्वतन्त्र समयमा बाँचिरहेका छौँ। विगत ४० वर्षमा गर्भनिरोधक चक्कीदेखि लिएर टिन्डर र ग्राइन्डरजस्ता डेटिङ एपको विकास भएको छ। धेरै हदसम्म यौन अशक्तताको उपचार पनि हुन थालेको छ। यस्ता विकासक्रमले यौन सम्बन्ध कायम गर्न नसकिरहेकालाई पनि सम्भावनाको नयाँ ढोका खोलिदिएको छ। सन् १९७० को दशकयता यौनका विषयमा निर्मित सामाजिक मान्यताहरू भत्किएका छन्। समलिंगी सम्बन्ध, सम्बन्ध–विच्छेद, विवाहअघिको यौनलाई मात्र होइन, बहुप्रेम सम्बन्ध र यौन साझेदार सट्टापट्टाजस्ता फरक यौन व्यवहारलाई समेत विकसित देशको समाजले पचाउन थालेको छ।
यौनसम्बन्धी चर्चाले हामीलाई अझै आकर्षित गरिरहेको छ। आफ्नो यौनिकताको सिद्धान्तलाई परिभाषित गर्न दार्शनिक मिसेल फुकोले भनेका थिए, मानिसहरू यौनका बारे अत्यधिक कुरा गर्छन्। ‘यो विषयमा कहिल्यै पर्याप्त छलफल भएको छैन भनेर हामीले आफैँलाई विश्वस्त तुल्याइसक्यौँ,’ उनले आफ्नो चार खण्डको पुस्तक ‘द हिस्ट्री अफ सेक्सुआलिटी’मा भनेका छन्।
यति हुँदाहुँदै पनि केही दशकअघिको तुलनामा अहिले मानिसहरू कम यौन सम्पर्क कायम गरिरहेका छन् ।
सन् २०१७ मा गरिएको एक अध्ययनअनुसार समग्रमा अमेरिकीहरू १९९० को दशकमा भन्दा २०१० को दशकमा वर्षको नौ पटक कम यौन सम्बन्ध कायम गरिरहेका छन्। १९९० को दशकमा औसतमा अमेरिकीहरू वर्षमा ६२ पटक यौनसम्पर्क राख्थे, त्यो अहिले ५३ मा झरेको छ। यो भनेको १५ प्रतिशतको गिरावट हो।
१८ देखि २९ वर्षबीचका २३ प्रतिशत अमेरिकी युवाले अघिल्लो १२ महिना शारीरिक सम्पर्क नगरेको दाबी गरेका छन्। यो संख्या एक दशकअघिको तुलनामा दोब्बर हो। यौनका लागि अनेकौँ बाधा हटिसक्दा पनि अवस्था यस्तो छ।
हरेक जाति, क्षेत्र, शैक्षिक स्थिति, कामको प्रकृति भएका व्यक्तिहरू कम यौन सम्पर्क राखिरहेका छन्।
सन् २०१३ मा बेलायतमा गरिएको एउटा अनुसन्धानले पनि यस्तै देखाएको थियो। १६ देखि ४४ वर्षबीचका बेलायतीहरूले महिनामा औसत पाँच पटक मात्र यौनसम्पर्क राखेको बताएका छन्। जबकि सन् २००० को अध्ययनमा उनीहरूले मासिक ६.२ पटक शारीरिक सम्बन्ध राख्ने गरेको बताएका थिए।
२०१४ को अनुसन्धानअनुसार १० वर्षअघि प्रतिसाता १.८ पटक यौनसम्पर्क राख्ने अस्ट्रेलियालीहरू पछिल्लो समय प्रतिसाता १.४ पटकमा सीमित भएका छन्।
धनी विश्वका युवाहरू कम यौन सम्पर्क राखिरहेका छन्। तीमध्ये पनि जापानमा सबैभन्दा गम्भीर अवस्था छ। पछिल्लो अनुसन्धानअनुसार १६ देखि २५ वर्षबीचका ४६ प्रतिशत महिला र २५ प्रतिशत पुरुष यौनसम्पर्कलाई नै घृणा गर्छन्।
यसरी यौनमा किन मन्दी आइरहेको छ त ?
पोर्नलाई दोष
मानिसहरूको यौन जीवनमा मन्दी आउनुको सबैभन्दा सजिलो कारण खोज्ने हो भने प्रविधिको बढ्दो विकासलाई लिने गरिन्छ। खास गरी, अनलाइन पोर्न र सामाजिक सञ्जाललाई यसको दोष दिने गरिएको छ।
अनलाइन पोर्नोग्राफीको वृद्धि हुँदै जाँदा अनुसन्धाताहरू खास गरी यसको लतका विषयमा केन्द्रित भएका छन्। कतिपयले यसलाई ‘इन्टरनेट सेक्स एडिक्सन’ भन्ने गरेका छन्। यसलाई मानसिक विकारका रूपमा लिने गरिएको छ। नशाको रूप लिएपछि पोर्नले हाम्रो यौनेच्छालाई घटाएर वास्तविक जीवनको यौनलाई नै विस्थापित गर्ने तर्क गरिन्छ।
अर्कोतिर पोर्नले यौनबारे अतिशय र अवास्तविक धारणा बनाउन पनि मद्दत गर्छ। कतिपयमा यसले यौन अक्षमता पनि निम्त्याउने गरेको छ। सन् २०११ मा इटलीमा २८ हजार पोर्न दर्शकमा गरिएको सर्वेक्षणमा धेरै व्यक्तिले अत्यधिक समय पोर्न साइटमा बिताउने गरेका पाइएको थियो। दैनिक पोर्न हेर्नेहरू सबैभन्दा उग्र दृश्यसमेत सजिलै पचाउन बानी पर्ने अनुसन्धाता कार्लो फोरेस्टाको तर्क छ। जसका कारण खास गरी पुरुषहरू वास्तविक यौन सम्बन्धका बेला उत्तेजित हुने क्षमतै गुमाउँछन्।
केही अनुसन्धाताले पोर्न र विवाहको दरमा पनि सम्बन्ध रहेको दाबी गरेका छन्। सन् २०१४ मा अमेरिकामा माइकल मालकोम र जर्ज नाउफालले गरेको अनुसन्धानअनुसार अत्यधिक इन्टरनेट प्रयोगकर्तामाझ विवाहदर सबैभन्दा कम पाइएको थियो।
र, यो पोर्नको कुरा मात्रै होइन। समग्रमा मानिसहरू आफ्नो यौन जीवनलाई ध्यान दिन छोडेर स्क्रिन हेरिरहेका छन्। त्यसैले यौनप्रति विकर्षण पैदा गरेको आरोप खास गरी सामाजिक सञ्जाललाई दिन थालिएको छ। इन्टरनेट आउनुअघि पनि बेडरुममा टीभी राख्ने जोडीमाझ यौन गतिविधि स्वाट्टै घटेको अध्ययनहरूले देखाएका थिए। त्यसैले हाम्रो जीवनका सबै पक्षमा अहिले सामाजिक सञ्जालहरूले हस्तक्षेप गरेको समयमा यो निष्कर्ष स्वाभाविक देखिन्छ।
यद्यपि, यी निष्कर्षलाई अस्वीकार गर्ने अन्य अनुसन्धान पनि भएका छन्। केहीले पोर्नको लतको अस्तित्वमाथि नै प्रश्न उठाएका छन् भने केहीले पोर्नका कारण यौन गतिविधि बढेको तर्क पनि गरेका छन्। उदाहरणका लागि, २०१५ मा सेक्सुअल मेडिसिन नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार सातामा दुई पटक कम्तीमा ४० मिनेट पोर्न हेर्दा कामेच्छा बढ्ने गर्छ।
यस्तै किसिमको तर्क सामाजिक सञ्जालबारे पनि गर्न सकिन्छ। डेटिङ एपहरूले यौन सम्बन्ध कायम गर्ने सम्भावना बढाउन ठूलो भूमिका खेल्न सक्छन्। तसर्थ, प्रविधिले हाम्रो यौन जीवनमा निश्चय नै प्रभाव पार्छ। तर, यौनजन्य क्रियाकलाप कम हुनुको एक मात्र कारण भने यो होइन।
कुर्सीको बन्धन
सन् १९३० मा बेलायती अर्थशास्त्री जोन मेनार्ड किन्सलाई चिन्ता थियो, अबको एक सय वर्षपछि मानिसहरूले के गरेर समय बिताउँदा हुन्? त्यसबेला सम्पन्न शहरका मानिस साताको ४७ घण्टा काम गर्थे। उनको अनुमान मिलेको भए हामी अहिले सातामा बढीमा १५ घण्टा मात्रै काम गरिरहेका हुन्थ्यौँ। तर, दुर्भाग्यवश, उनको भविष्यवाणी फेल खायो। हामी अझै औसतमा प्रतिसाता ४८ घण्टा काममा जोतिन अभिशप्त छौँ।
थकान र तनावले यौन जीवनलाई प्रभावित पार्नु स्वाभाविक हो। अझ हामी त कुर्सीमा बाँधिएका छौँ। यसले हाम्रो शारीरिक हलचल कम गरेको छ। मोटोपन बढाएको छ। तनाव बढाएको छ।
अर्को महत्त्वपूर्ण पक्ष, आफूलाई मन नपर्ने काम गर्न बाध्य भएको अवस्थामा त्यसले मानसिक स्वास्थ्यमा झनै बढी हानि गर्छ। जसको प्रत्यक्ष असर यौन जीवनमा देख्न सकिन्छ।
उदाहरणका लागि, सन् २०१० मा युनिभर्सिटी अफ ज्युरिचका गाई बोदेनमेनले एक सय तीन महिलामा एउटा सर्वेक्षण गरेका थिए। उनका अनुसार आफूलाई बढी तनाव छ भन्ने महिलामा यौनेच्छाको कमी देखिएको थियो। तनावको धेरै वटा असर हुन्छन्। यसले हर्मोनको मात्र घटबढ गराउँछ, जसले शरीरप्रति नकारात्मक धारणा बनाउँछ। त्यस्तै औषधि, लागुऔषध र अल्कोहल प्रयोगको मात्रा पनि बढाउँछ। यी सबैले यौन जीवनलाई अधोगतितर्फ धकेल्छन्।
आधुनिक जीवनको अभिशाप
‘यौनको मन्दी’को सबैभन्दा प्रमुख कारण हो, मानिसहरूले ढिला विवाह गर्नु। स्वाभाविक रूपमा अविवाहितभन्दा विवाहित जोडीले धेरै शारीरिक संसर्ग गर्छन्। तर, पछिल्लो समय, खास गरी धनी विश्वमा मानिसहरू ढिला विवाह गरिरहेका छन्।
आर्थिक मन्दीका कारण पनि यौनमा मन्दी आएको छ। अमेरिकामा जबजब आर्थिक मन्दी आइपर्छ, अमेरिकी युवाहरूको यौन जीवन पनि धीमा हुन थाल्छ। यो समस्या पुरुषमा बढी देखिन्छ। सन् २००८ यता नियमित यौन सम्पर्क नगर्ने ३० वर्षमुनिका अमेरिकी पुरुषको संख्या तीन गुणाले बढेको छ। तर, त्यही अवधिमा यौन सम्बन्ध नराख्ने महिलाको संख्या भने आठ प्रतिशतले मात्र बढेको छ।
समग्रमा भन्ने हो भने कुनै एक कारणले भन्दा पनि हाम्रो आधुनिक जीवनशैलीले यौन जीवनलाई बिगारिरहेको छ। यसको महत्त्वपूर्ण पक्ष भनेको मानसिक स्वास्थ्य हो। कतिपयले हाम्रो जीवनमा बढेको असन्तुष्टिलाई यसको प्रमुख कारण मानेका छन्। गत केही दशकमा पश्चिमा समाजमा मानसिक स्वास्थ्यसम्बन्धी महामारी नै आइपरेको छ। खास गरी, डिप्रेसन र एन्जाइटीजस्ता समस्या व्यापक मात्रामा वृद्धि भएका छन्।
डिप्रेसनको लक्षण देखिनु र यौनजन्य क्रियाकलाप तथा चाहनामा ह्रास आउनुमा बलियो सम्बन्ध छ। युनिभर्सिटी अफ एडिलेडका इभान एटलान्टिस र टमस सुलिभानले गरेको अध्ययनअुनसार मानिसलाई डिप्रेसनले यौन निष्क्रियतातिर लैजाने गर्छ।
मानिसमा यस्ता मानसिक समस्या किन बढिरहेको छ त ? त्यसको सही उत्तर हो, हाम्रो वर्तमान जीवन बढ्दो रूपमा असुरक्षित बनिरहेको छ। न रोजगारीको टुंगो छ, न घरको। सार्वजनिक उपयोगका स्थान समाप्त हुँदै छन्। सामाजिक जीवन खुम्चिएको छ। पृथ्वीकै भविष्यमाथि प्रश्न उब्जिएको छ। त्यसैले हुर्किंदै गरेको पुस्ता आफ्नो भविष्य सुन्दर देख्दैन। निराशामा मानसिक विकार उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले यही पुस्तामा यौनजन्य क्रियाकलापमा सबैभन्दा कमी आएको छ।
तसर्थ कुनै एक कारणले मात्र होइन, आधुनिक जीवनको प्रकृतिका कारण यौनमा मन्दी आएको हो। कामको दबाब, असुरक्षा र प्रविधिको मिश्रण तन्नेरीहरूको यौन उत्तेजनामा बाधक बनिरहेको छ।
सजिलो छैन समाधान
कतिपय खुशी मनाउँछन्, मानिसमा यौनेच्छा कम हुँदै जाँदा खुकुलो बन्दै गरेको सामाजिक बन्धन र नैतिकता बलियो हुनेछ। तर, उनीहरू गलत सोचिरहेका छन्। यौनले मानिसमा खुशीको मात्र बढाउँछ, स्वस्थ रहन मद्दत गर्छ र काममा समेत सन्तुष्ट बन्न सहयोग गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने बहुसंख्यक मानिसका लागि यौन रमाइलो हो, आनन्द हो।
आनन्दको यस्तो स्रोत सुक्न नदिन विश्वभर यो समस्या समाधानका लागि विभिन्न प्रयत्न भइरहेका छन्।
सन् २०१७ को फेब्रुअरीमा स्विडेनको एक नगरपालिकाले आफ्ना ५ सय ५० कर्मचारीलाई घर गएर यौन सम्पर्क कायम गर्नकै लागि भनेर हरेक साता एक घण्टा चाँडो छुट्टी दिएको थियो।
जापान पनि यो समस्या समाधानका लागि लामो समयदेखि संघर्षरत छ। बच्चा जन्माउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ, कर्मचारीलाई बढी छुट्टी दिन कम्पनीहरूलाई प्रेरित गरिएको छ। सरकारी खर्चमै जोडी बाँध्न सघाउने वेबसाइट खोलिएका छन् ।
तर, समाधानका यी अल्पकालीन उपाय मात्र हुन्। सरकारले छुट्टी बढी दिँदा त्यसको छोटो असर त पर्ला, तर समग्रमा मानिसको खुशी घटाइरहेका संरचनागत समस्यालाई त्यसले सम्बोधन गर्दैन। यो समस्या आफैँमा बहुआयामिक छ, त्यसैले समाधान पनि बहुआयामिक खोज्न जरुरी छ। समस्याको जरो मानसिक स्वास्थ्यदेखि लिएर आर्थिक असमानतासम्म पुग्छ। त्यसैले तिनको उपचार पनि तत्तत् ठाउँमै खोज्न जरुरी छ । सम्पूर्णबाट
प्रतिकृया दिनुहोस