कविता : तिम्रो मुख हेर्न औँशी कुर्न नपरोस्
मलाई नौ महिना कोखमा राख्यौँ आमा
मैले तिमप्लाई मेरो छातिभित्र राख्न सकिनँ
मलाई जन्माउँदा रगतले मुछिएको धोती
फेरिदिने सपना देखाएँ तर फेर्दिन सकिन आमा ।
बक्षस्थलमा उफारी उफारी दुधले सेचन गरायौँ आमा
तिम्रो प्राणलाई मुलपानीको शुद्ध पानीले सिच्न सकिनँ
तिम्रो धोतीको भोटोले मेरो छाती छेक्यौँ आमा
तिम्रो झुत्रा परेको चोली फेर्न त के टाल्न नि सकिनँ ।
सपना धेरै बोके आमा तिमीलाई रेशमको सारी
फुलबुट्टे चोली, रातो पोतेमा नौगेडी, पाते बुलाकी
चिरिच्याट्टै परेकी पुर्णिमाको जुनसँगै कि परी तिमी
झल्यांस्स बिउँझे आमा खाडीको रापमा आफैंँ बिलिन छु ।
तै पनि आमा मैले हार खाएको छैन
तिम्रो बुढेसकालको लौरो भाँचिने छैन आमा
रातदिन रगत पसिना बेचेर पनि तिम्रो सपना
तिम्रो कल्पनामा कुठाराघात हुन दिने छैन आमा ।
आमा तिम्रो दुधको भारा त सातौं जुनि तिर्न सक्दिन
तिम्रो अमुल्य कोखमा गरेको बासको भारा मूल्य गर्न सक्दिन
तिम्रो मातृवात्सल्यको जुनीजुनी ऋणी त छु नै
तर आमा म तिम्रो बुढेसकालको लौरी भाँचिन दिने छैन ।
तिमीले पिलाएको स्नेह रगतका थोपाथोपामा दौडिरहेको छ
तिम्रो ममताको छहारीमा मेरो आत्मा बाँचेको छ आमा
तिमी बिना मेरो चिनारी नै कहाँ छ र आमा ?
आमा तिमी मेरो संसार हौँ मेरो सास हौ
तिमि छौ र त म छु आमा तिमी छौ र त म छु
आमा आजै बाचाकसम खान्छु आमा म तिम्रो
बुढेसकालको लौरो हुनेछु तिम्रा आँखाआसुले भिज्ने छैनन् ।
म तिम्रो आशालाई मर्न दिने छैन आमा
म तिमिलाई बृद्धाआश्रममा हैन मेरो दिलको
दरबारमा राख्ने छु आमा सृष्टिको नै असल सन्तान बन्ने छु
आमा तिमीसृष्टि हौँ आमा तिमी जननी हौँ
तिम्रो मुख हेर्न एउटा औँशी कुर्न नपरोस् आमा
हर पल तिम्रो मुहार खुशिले मुस्कुराओस् ।।
प्रतिकृया दिनुहोस