कविता : माटो र बुद्धको बाटो
म यति बेला
मेरो बिगतलाई यसरी झल्झल्ती सम्झन्छु ।
बोल्नै नमिल्ने अप्ठ्यारा शब्दहरु भेला गरेर
सजिला वाक्यहरु बनाएको छु स्वार्थका लागि
नयाँ नयाँ सुत्रहरु प्रतिपादन गरेर
मिलाउनै नहुने हिसाब पनि मिलाएको छु जीवनका लागि ।
साच्चै भन्नु पर्दा
घाम निदाएको मौका छोपी बारम्बार
जुनको केश कोरिदिएको छु
दिन धुम्मिएको मौका छोपेर
बतासको गालामा चुम्म खाईदिएको छु ।
प्रकृतिका पाउँदै नपाउने सुन्दरताहरु
सर्लक्क आँखैले पिइदिएको छु
सधैँ बगिरहने समुन्द्रको अनुहार धोइदिएर
मृदुल प्रेमका श्रृङ्गारहरु घसिदिएको छु ।
कति पटक त हस्ताक्षर नै गरिदिए होला
इन्द्रेणीका दुबै ओठहरुमा
पटक–पटक नै ल्याप्चे लगाइदिए होला
बादलको काँचो पाठेघरमा ।
तर समय बितेपछि
माटो र जिन्दगीको सम्बन्ध टुटेपछि
कोर्न नमिल्ने रहेछ
आफ्नै हातका हस्त रेखाहरु
पढ्न पनि नमिल्दो रहेछ
अखबारमा छाप्नसमेत नालायक आफ्नै तस्वीर ।
आफ्नो छातीलाई आफैँले मट्टी दिएर
काखमा फुलेको दुधे मुस्कानलाई श्रद्धाञ्जली दिएर
एक्लै जङ्गल पसेका ए मूर्ख बुद्ध
धर्तीको माटो भुलेर
तिम्रो बाटोमा हिड्न यति दुःख रहेछ यसकारण
आज के खायो होला मेरो नानीले
घरमा एक गेडो चामल पनि थिएन ।
पाख्रिबास, धनकुटा
प्रतिकृया दिनुहोस