कोभिड संक्रमित आएपछि पाटन अस्पताल बन्यो सुनसान
काठमाडौं । मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएका दुई जना विरामी अस्पतालमा भर्ना भएपछि पाटन अस्पता सुनसान बनेको छ । यहाँ दैनिक दुई हजार जना हाराहारी बिरामी आउजाउ गर्दै रहने पाटन अस्पताल मंगलबार दिउँसो सुनसान थियो ।
फाट्टफुट्ट मात्रै मानिस हिँडिरहेका देखिएको मंगलबार अस्पताल परिसरमा धेरैजसोको अनुहारमा मास्क देखिन्थ्यो । कसैले मुखमा रुमाल बाँधेका थिए । केही महिलाहरू सलले टाउको छोपेर आँखा मात्रै देखाएर हिँडिरहेका देखिन्थे । अस्पतालको मूल गेटमा हात धुनका लागि धारा जडान गरिएको छ। धारामुनिको बेसिन हेर्दा यसले वर्षौंदेखि सफाइ नपाएको जस्तो देखिएको थियो । हात धुन साबुनका स–साना टुक्रा मात्रै राखिएको छ ।
खल्तीमा सेनिटाइजर हुनेले त्यही हातमा दले, नहुने त्यसै अस्पताल पस्दै गरेका देखिन्थे । अस्पतालको मूलगेट भन्दा अलि पर ज्वरो क्लिनिक छ। भित्र स्थानीय पीपीई लगाएर एक जना स्वास्थ्यकर्मी बसेका थिए । अस्पताल छिर्ने जोसुकैलाई ज्वरो नाप्दै भित्र पठाइरहेका थिए । आकस्मिक कक्षबाहिर एक जना चिकित्सक पीपीई लगाएर बसेका थिए भने अर्का एक स्वास्थ्यकर्मी सेतो एप्रोन र कपडाको मास्क लगाएर बसेकी थिइन् ।
भित्र अधिकांश बेडमा बिरामी सुतेका थिए । बिरामी जाँच्ने कुनै चिकित्सकले पीपीई लगाएका थिएनन् । पीपीई किन लगाएको भन्नेबारे कुनै चिकित्सक बोल्न चाहेनन् । अस्पताल प्रशासनले बिनाअनुमति पीपीईबारे नबोल्न आदेश दिएको सुनाए । कोभिड–१९ का बिरामी भर्ना भएको विषयले अस्पताल छिर्ने बिरामी र कुरुवा पनि त्रासमा देखिन्थे ।
पिसाबमा समस्या देएिपछि धादिङबाट उपचारका लागि आएका बिरामीले अस्पताल पस्न डर लागेको बताए । काकाको मिर्गौला डायलसिस गर्न अस्पताल आएका राजकुमार शाही पनि केही त्रसित देखिन्थे । साताको एकपटक उनी काकालाई लिएर पाटन अस्पताल आउँछन् । अस्पतालतिर हिँडिराख्ने भनेर समुदायले पनि कर्के नजरले हेर्ने गरेको उनले गुनासो गरे ।
अस्पतालको टिकट काउन्टर, फार्मेसी, पैसा तिर्ने काउन्टर र ल्याब रिपोर्ट लिने ठाउँ पनि उस्तै सुनसान थियो । यी काउन्टरमा पहिले बिरामी र कुरुवाले कुरिरहेका भेटिन्थे । आजभोलि स्वास्थ्यकर्मीले बिरामी कुरिरहेका छन् ।
अस्पताललाई सुरक्षा प्रदान गर्न कुनै सक्दो प्रयास भइरहेको निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए । कोभिड–१९ मात्रै भनिरहँदा अन्य बिरामी मर्कामा नपरुन् भनेर अस्पतालको ओपीडी पनि सञ्चालन भइरहेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस