कहाँ गायव भयो जानकी मन्दिरको नाममा भारतमा रहेको १५१ बिघा जग्गा ?

काठमाडौं । जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ ।

जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् । सम्बन्धित निकायले छानबिन गरी यसको यथार्थता पत्ता लगाउन नसक्दा जग्गाको अवस्थाबारे पत्ता लाग्न नसकेको हो ।

स्रोतका अनुसार हाल ती जग्गासमेत मन्दिरको सम्पत्ति संरक्षणको जिम्मेवारी लिएका महन्थ तथा पुजारीले बिक्री गरिसकेका छन् । यसरी जग्गा बिक्री गरी प्राप्त रकम नेपाल तथा भारतका विभिन्न बैंकमा जम्मा गरी व्यक्तिगत सुविधाका लागि उपयोग गर्दै आएको स्रोतले जनाएको छ । भारतका अन्य स्थानमा पनि मन्दिरको नाममा थुप्रै जग्गा रहेको हुन सक्ने देखिएकाले यसको छानबिन गरिनुपर्ने सरकारद्वारा यसअघि गठन भएका विभिन्न छानबिन प्रतिवेदनले उल्लेख गरेका छन् ।

सरकारले मन्दिरका नाममा रहेको सम्पूर्ण जग्गालाई ट्रस्टमा परिणत गरी संरक्षण गर्ने योजना बनाएको थियो । मन्दिरका सम्पत्ति हिनामिना भएको तथा विभिन्न व्यक्तिका नाममा मन्दिरको जग्गा गएको पाइएपछि १९ माघ २०६७ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । यसका लागि तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई यस बारेको निर्देशन दिएको थियो । यद्यपि, यसलाई कार्यान्वयनमा लान मन्त्रालयले चासो देखाएन । फलस्वरूप ती योजना अलपत्र बन्न पुग्यो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट समेत राजगुठीको जग्गामा २० करोडभन्दा बढीको सम्पत्ति हिनामिना भएको पाइएको छ । त्यस्तै, मन्दिरका नाममा रहेका अन्य सम्पत्तिसमेत गायब भएको अख्तियारले जारी गरेको १३ जेठ २०६६ को निर्णयमा उल्लेख छ ।

यस्ता सम्पत्ति हिनामिनामा महन्थहरूको संलग्नता पाइएपछि सर्वोच्च अदालतले २६ साउन २०७२ मा मठाधीशहरू फेर्ने फैसला गरेको थियो । तर, यो निर्णयसमेत कार्यान्वयनमा आउन सकेन । यसरी विभिन्न समयमा भएका निर्णय कार्यान्वयन नहुँदा र सम्पति हिनामिना गर्नेलाई कारबाही गर्न नसक्दा दुरुपयोग र अतिक्रमण बढ्न गएको देखिन्छ । राजधानी दैनिकबाट । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...