पाठेघर चेकगर्न जाँदा पनि शंका गर्छन विधवालाई
काठमाडौ । आजभन्दा २५ बर्ष अघि रोजबर्ड स्कुलमा एकल महिलाको बेदना पोख्ने एकमात्र थलोको रुपमा एउटा सानो कोठा थियो । स्कुलकी प्रिन्सीपल थिइन् लिली थापा । २९ बर्षको कलकलाउदो उमेरमा नै बिधवा बन्न पुगेकी लिली त्यत्तिखेर फुंङ्ग उडेको अनुहार, खाली सिउँदो, अनि चमक खुइलिएजस्तो कपडा बेरेर स्कुल जाँन्थिन् । उनी आफैँलाई त्यतिखेर पलपल आत्मविश्वास गुमिरहेको महशुस हुन्थ्यो ।
आफुले भोगेको पीडा अन्य एकल महिलालाई पनि हुँदो हो, अरुका पीडा पनि सुनौं र आफ्ना पीडा पनि आफूजस्तै जीवन भोगेकालाई सुनाउँ भनेर लिलीले आफनै स्कुलमा हरेक आईतबार विधवा महिलालाई भेला गर्न थालिन् त्यतिबेला । यो सानो कोठामा उनीहरुले आ –आफ्ना बेदना सुन्ने, सुनाउने रुने र मनलाई शान्त्वना दिंदै हलुँगो बनाउने सानो प्रयास गरेका थिए त्यत्तिखेर ।
साढे दुइ दशक अघिबाट शुरुभएको यो अभियानले अहिले ठुलो रुप लिएको छ । २५ बर्षसम्म आइपुग्दा संस्थाले गरेका उपलब्धीका बारेमा जानकारी गराउन र नवनिर्मित भवन ‘छहारी’को अवलोकन गराउन बिहीबार संस्थापक अध्यक्ष लिली थापाले पत्रकार भेटघाटको आयोजना गरिन् ।
लिलीको अगुवाइमा पाँचसय रुपैया भाडा तिरेर शुभारम्भ भएको उनको अभियानले सफलता पाउदै भोलीबाट ४० कोठाको चारतल्ले भवन पाउँदैछ । बुढानिलकण्ठमा रहेको हात्तीगौंडाको शान्त ठाउँमा अढाइ रोपनी जग्गामा आफनै भवन बनाई उद्घाटन गर्ने ‘छहारी’ समूह सफल भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार संस्थाको भवन उद्घाटनगर्न आउने जानकारी गराएसँगै उनीहरुमा यत्तिखेर दोब्बर खुसी बढेको छ ।
‘बाटो हिड्दा बिधवा महिला देखिन्छ भनेर कोठा भाडामा नदिने सोंचका कारण कति ठुलो समस्या थियो’ संस्थापक अध्यक्ष लिली थापाले अतित सुनाउदैे भनिन् । ‘त्यत्तिबेला कसैले हजार हजार रुपैया भाडा तिर्न सक्छन् ? पनि भन्थे ।
त्यसो त पैसा तिर्छु भन्दा पनि कोठा भाडामा पाइदैन थियो ।’उनले लामो स्वास फेर्दै भनिन्, २५ बर्ष अगाडिदेखि भोग्दै आएको त्यो संघर्षले नै अहिले आत्मनिर्भर बनाउन सहयोग गरेको छ । कुनै समय अफिसको लागि कोठा नै नपाउने त कहिले भाडा नै तिर्न नसक्ने पीडा खेपेको यही समूहले हाल ५ करोड रकमको लगानीमा आफनै भवन पाएको छ ।
यो अवस्थामा आउँदा संस्थामा आवद्द एकल महिलाहरुमा खुसीको सिमा नै छैन यत्तिखेर । अझ राष्टप्रमुख विद्यादेवी भण्डारीले महिलाको कार्यक्रममा सहभागि हुनु २५ बर्षदेखिको मेहनतको फल भएको उनीहरुको अनुभुति छ ।
नारीको जीवनमा तीन पटक नयाँ रुपले जन्मिएको अनुभुती गर्नुपर्ने रहेछ । श्रीमानको मृत्यु पछि जन्मिएको तेस्रो पहिचान हो विधवा । लिली भन्छिन,–‘हिजो छोरी हुँदा कति रमाइलो थियो आमाहँुदा झनै रमाइलो तर, तेस्रो जन्म विधवाको रुपमा हुँदा निक्कै पीडादायी हुनेरहेछ ।
श्रीमानको मृत्यु भएको दिनदेखि यो समाजले एकल महिलालाई शंकाको दृष्टिकोणबाट हेर्न सुरु गर्छ । यहाँ जान हुन्छ, त्यहाँ जान हुँदैन, यस्तो लगाउन हुन्छ, यस्तो लगाउन हुँदैन, हरेक स्थानमा आचार संहिताको घेराबन्दीमा हुन्छन् उनीहरु । तर त्यही नियम श्रीमती गुमाएका पुरुषमा भने लागू हुँदैन ।
बिधुवाले रातो लुगा लगायो भने पितृ तर्सिन्छ भनेर गरुण पुराणमा भनेको वाक्य स्मरण गर्दै लिलीले भनिन्,– यहाँ मरेको मान्छे तर्सिन्छ भन्ने कत्रो चिन्ता छ समाजलाई, तर हामी बाँचेकाको चाहि मतलब नै नहुने । झन् हामीले सेतै लुगा लगाउँदा चाँहि तर्सिदैनौ ? १०० बर्षअगाडि जन्मिएको भए त हामीलाई मारिसक्थे नी ?’ लिलीले थोरै आक्रोश मिसिएको स्वरमा भनिन्, हामी त सती जानु नपरेर बाँचेका हौ नी रु त्यही भएर बाँचेको खुसीयालीमा हामी अर्कोबर्ष धुमधामसँग उत्सव मनाउने योजनामा छौ ।
देशभरी रहेका एकल महिलालाई संगठीत गर्ने अभियानमा हाल डेढलाख एकल महिला एउटै संगठनमा आबद्ध भएका छन् । एउटै लक्ष्य र साझा पीडाबाट मुक्त हुन आबद्ध भएका उनीहरुले देशभरीमा १४ वटा शाखाको पनि बिस्तार गरिसकेका छन् ।
अभियान जत्ति नै चालेपनि समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण खासै नबदलिएकोे उनीहरुको भोगाई छ । एकल महिलामाथि चरित्रमा दाग लगाउने परम्परागत सोंच अझैपनि हाम्रो समाजमा छन् । गाउँ घरतिर पाठेघर चेकजाँचगर्न जाँदा समेत शंका गर्ने गरेको घटनाको सामना गर्नुपरिरहेको पीडा उनीहरुसँग अझै छ ।
लिलीले एकल महिलाहरूलाई रातो कपडा पर्हियाइदिएपछि थुप्रै तरंग पनि उठे समाजमा । विधवाहरूलाई रातो लाईदिई, अब दुलहा पनि खोजिदिन्छे’,भनेको पनि सुनिन् उनले ।
पछिल्ल्लो समय ‘एकल महिलामा’ नै पिएचडी गरिरहेकी लिली एकल महिलाका बारेमा दुनियाभरीको अवस्थाको अध्ययन गरिरहेकीे छन् । गरुढ पुराणमा एकल महिलाको विषयमा उल्लेख गरेको सुनेपछि बनारसमा गएर सबै धर्ममा अनुसन्धान गरेर आएको उनले सुनाइन ।
सबै धर्म हेरें, कुनै पनि धर्मले महिलाको बिषयमा यस्तो नियम बनाएको छैन उनले भनिन् । यो रातो चुरा टिका भनेको पास्नीमा आमाले दिएको हो ।
यो सिन्धुर र पोतेमा तपाई विवाह गरिको हो भन्ने पहिचान मात्रै हो । विवाहिताको चिनो हो अरुले हेर्दैन भनेर मात्रै हो । श्रीमानको आयू लामो हुन्छ भनेर हैन उनले भनिन् । विवाह गरेको कसरी चिनिने भन्ने प्रमाणमात्रै चुरापोते हो तर त्यसलाइ धर्मसंस्कारसँग जोडेर विधुवालाई मात्रै बाध्यकारी लगाइएको छ उनले भनिन् ।
लिली भन्छिन,–‘पिएचडीको अध्ययनकै क्रममा पत्ता लगाएको कुरा श्रीमान नभएका महिलालाइ विभेद नगरिएको त विश्वमा कही पनि रहेन छ । बेलायतमा एकल महिलालाई ‘बल्याक विच’ भन्छन्, रुवान्डा, अर्फिकन मुलुकमा श्रीमान मरेको लासको पानी छर्किनु पर्ने अनि सम्पति पाउनका लागि घरको एकजनासँग शारीरिक सम्पर्क राख्नुपर्ने व्यवस्था पनि रहेछ ।
साउथ एसियामा पाकिस्तानमा बंगलादेश र सबैभन्दा धेरै भारतमा पीडित रहेछन । अलि सहज भुटान अनि नेपाल नै रहेछ । पच्चिस बर्षमा एकल महिलाको अवस्थामा हिजोभन्दा धेरै सकारात्मक पहल अवश्य भएका छन् तर आगामी २५ बर्षमा विधवाको कहानीलाई एकादेशको कथा बनाउने एकल महिला समुहको योजना छ ।
प्रतिकृया दिनुहोस