ओसामा बिन लादेनको मृत्युको आठ वर्षपछि अल कायदा कहाँ पुग्यो ?
काठमाडौँ । अल कायदाका संस्थापक ओसामा बिन लादेन अमेरिकी सेनाद्वारा पाकिस्तानमा मारिएको आठ वर्ष भइसकेको छ । हजारौँ लडाकूहरू रहेको बिन लादेनले नेतृत्व गरेको सङ्गठन संसारकै सबैभन्दा खतरनाक जिहादी समूह मानिएको थियो ।
अल कायदासँग राम्रो आर्थिक स्रोत रहेको पनि विश्वास गरिन्थ्यो । तर बिन लादेनको मृत्यु र इस्लामिक स्टेट आइएस समूहको जन्मपछि अल कायदाको शक्ति र प्रभाव धेरै नै घटेको थियो । अहिले अल कायदाको अवस्था के छ र यसबाट विश्वलाई के कस्तो खतरा छ त ?
आइएस समूह हालका वर्षहरूमा समाचार शीर्षकहरूमा छाइरहँदा अल कायदाले स–साना प्रादेशिक समूहहरूसँग गठबन्धन गर्दै चुपचाप आफूलाई पुनरुत्थान गर्ने नीति अपनायो ।
अमेरिकी नेशनल इन्टिलिजेन्सको ताजा प्रतिवेदनले अल कायदाका माथिल्लो तहका नेताहरूले सङ्गठनमा विश्वव्यापी निर्देशन संरचना बलियो बनाउँदै पश्चिमा र अमेरिकामाथि आक्रमण गर्न उत्प्रेरित गरिरहेको बताएको बीबीसीमा उल्लेख गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको यो वर्षको सुरुमा प्रकाशित विश्व आतङ्कवादसम्बन्धी प्रतिवेदनमा अल कायदा अझ धेरै महत्त्वाकांक्षी हुँदै गएको देखिएको र अन्तर्राष्ट्रिय प्रभूत्व बनाउने महत्वाकांक्षाका साथ थुप्रै स्थानमा यो सक्रिय रहेको उल्लेख छ ।
यो वर्षको फेब्रुअरीमा यूकेको जासूसी संस्थाका प्रमुख एलेक्स योङ्गले पनि अल कायदाको पुनरुत्थान भइरहेको बताएका थिए । अमेरिकी सेनाको आक्रामक ड्रोन अभियान, बिन लादेनको मृत्यु र आइएसको चुनौतीका कारण अल कायदा नयाँ रणनीति अपनाउन बाध्य भयो ।
यसले अफ्रिका, मध्यपूर्व र दक्षिण एशियामा सफलताका साथ सहयोगी समूहहरू वा शाखाको सञ्जाल बनाएको छ ।
अल कायदाको सञ्जालमा भएका संगठनहरू स्थानीय समूहहरू हुन् जसले अल कायदाको नेतृत्वमा रहेका बचनबद्धता प्रकट गरेका छन् । आइएसको रणनीतिको विपरीत अल कायदाले स्थानीय समुदायलाई नएक्ल्याउने र स्थानीय समूहहरूसँग मिलेर समुदाय विकासका कामहरू गर्ने नीति लिएको छ ।
सन् २०१३ मा अल कायदाले जिहादको लागि सामान्य निर्देशिका जारी गरेर सङ्गठनभित्र महत्त्वपूर्ण सुधारहरू गरेको थियो । सो दस्तावेजमा समुदायमा आधारित तरिकामाथि जोड दिँदै लडाकूहरूलाई जनसमुदायलाई भड्काउने कुनै पनि कार्य नगर्न निर्देशन दिइएको थियो ।
अल कायदाले भ्रष्ट्राचार र सीमान्तकरणजस्ता स्थानीय समस्यालाई आफ्नो एजेन्डामा मिलाउने कला सिकेको छ । पेम्ब्रोक कलेज अक्सफोर्डका डा. एलिजावेथ केन्डल भन्छिन्। त्यसरी यसले आफूलाई स्थानीय स्तरमा उद्धारकर्ताको रुपमा स्थापित गर्दै रहेको छ, उनले भनिन् ।
अल कायदाले आफ्नो सञ्जालमा सङ्गठनहरु र शाखाहरूमार्फत आक्रमणहरू बढाएको छ ।सन् २०१८ मा यसले विश्वभर ३१६ आक्रमण गरेको द आर्म्ड कन्फ्लिक्ट लोकेशन एन्ड इभेन्ट डेटा प्रोजेक्ट एसीएलइडीले जनाएको छ । सन् २००६ मा अल्जेरियामा निर्माण भएको समूह हो । अल्जेरियाली सेनाले लखेटेपछि यो आजकल साहेल र पश्चिम अफ्रिकामा सक्रिय छ ।
–अल कायदा इन अरेबियन
पेनिनसुला सन् २००९ मा यमन र साउदी अरेबियाका दुई जिहादी समूहको मिलन भएर बनेको समूह हो ।
–अल कायदा इन द इन्डियन सबकन्टिनेन्ट
अफगानिस्तान, पाकिस्तान, भारत, म्यानम्यार र बङ्ग्लादेशमा सक्रिय सन् २०१४ मा स्थापित समूह हो।
–जमात नुसरत अल इस्लाम वाल मुस्लिमिन
माली र पश्चिम अफ्रिकाका केही समूहहरू मिलेर बनेको समूह हो।
–अल सबाब
सोमालिया र पूर्वी अफ्रिकामा सक्रिय छ र सन् २०१२ देखि अल कायदाको सञ्जालमा आबद्ध छ।
–हयात ताहरिर अल साम
सिरियाका जिहादी समूहहरू मिलेर बनेको हो र यसको अल कायदासँग सम्बन्ध भएको संयुक्त राष्ट्रसङ्घको भनाइ छ। यसले उत्तरी सिरियाको इडलिब प्रदेशलाई नियन्त्रणमा राखेको छ।
–अल कायदा इन इजिप्ट
सिनाइ प्रायःद्विपमा सक्रिय छ ।
सन् २०१५ मा अल कायदाका नेता आयमन अल जावाहिरीले एकजना युवालाई गुफाको सिंहको रुपमा परिचय गराएका थिए । ती युवा हाम्जा बिन लादेन थिए जो ओसामा बिन लादेनका एक छोरा हुन् र जसलाई अल कायदाको भविष्यको नेताका रूपमा हेरिएको छ ।
अमेरिकाले विश्व आतंकी मानेर हाम्जाको बारेमा सूचना दिनेलाई १० लाख डलरसम्मको पुरस्कार घोषणा गरेको छ । जिहादीहरूको नयाँ पुस्ता तयार गरेर सङ्गठनलाई पुनरुत्थान गर्ने कार्यमा यी ३० वर्षीय युवा सफल हुने अल कायदाको दाबी छ ।
हालैका वर्षहरूमा उनले अडियो र भिडियो सन्देशहरू मार्फत अमेरिका र उसका सहयोगी पश्चिमा राष्ट्रहरूमा आक्रमण गरेर बुबाको मृत्युको बदला लिन आह्वान गरेका छन् ।
च्याटम हाउसकी मध्यपूर्व र उत्तर अफ्रिका प्रमुख लिना खातिबका अनुसार आइएसको पतनले अल कायदालाई आफ्नो रणनीति र संचालनमा विवेकशील हुन सिकाएको छ ।
उनी भन्छिन्ः अल कायदा अहिले रणनीतिक नेतामा आधारित भइरहेछ। यसले हाम्जा बिन लादेनलाई अल कायदाको नेताको रूपमा आफ्नो बुबाको स्थान लिनका लागि आवश्यक समर्थन जुटाउन मद्दत गरिरहेको छ।
प्रतिकृया दिनुहोस