मदनकृष्ण श्रेष्ठ भन्छन्ः मेरो शब्दकोषमा नै छैन सानीमा
काठमाडौ । धेरै वर्षअघि तुमलिङटारमा जहाज दुर्घटना भएको थियो, ठ्याक्कै मिति बिर्सें । त्यतिबेला थुप्रैले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा आमा र बच्चा पनि थिए । यसबारे मैले समाचार पढेको हुँ । आमाले बच्चालाई बेसरी छातीमा टाँसेकी रहिछन् ।
बच्चाको छाती आमाको छातीमा टाँसिएको रहेछ । दुवैको शरीर र कपडा जलेको थियो रे । तर, शव छुटाउँदा बच्चा टाँसिएको आमाको छातीनेरको कपडा जलेको थिएन रे । ती आमाले कति जोडले बच्चालाई च्यापिन होला १ ठोक्किँदा, आगोले पोल्दा पनि बच्चालाई छाडिनछन्, यही त हो आमाको माया ।
आमा भगवानको अर्को रुप हुन् भन्ने लाग्छ मलाई । तर, मैले आमाबाटै आमाको माया अनुभव गर्न पाइनँ । म ६ महिनाको हुँदा मेरी आमा मृत्यु भएको रे । सम्झनामा सचित्र त आमा छैनन तर भावनामा छन् । लाई तस्बिरमा हेरेको । मामाको घरमा जाँदा यी तिम्री आमा भनेर मलाई तस्बिर देखाइएको थियो । ए, यस्ती पो हुनुहुँदो रहेछ मेरी आमा भनेर धेरैबेर तस्बिर हेरेको याद छ ।
मेरी आमा बितेको केही पछि बुवाले अर्को बिहे गरे । दोस्रो आमालाई म राम्रैसँग सम्झन्छु । उनले लाई माया गर्थिन् । उनको माइती न्युरोडमा हो, मलाई पनि लैजाने गर्थिन् । दोस्री आमा पनि दुईटा बच्चा जन्मेपछि उनको मृत्यु भयो । पछि दुइटा बच्चा पनि बिते । त्यसपछि बुवाले तेस्री आमा बिहे गरे , लगनटोलबाट । तेस्री आमालाई मैले राम्रैसँग सम्झन्छु ।
उनले मलाई माया गर्थिन । जहाँ जाँदा पनि सँगैलाने गर्थिन तर, तेस्री आमाकाृे पनि मृत्यु भयो । उनले एउटा छोरा जन्माएकाी थिइन , ऊ पनि खस्यो ।
त्यसपछि बुवाले अहिलेकी आमा ल्याए , रामेछाप भंगेरीबाट । जति बेला म आठ वर्षको थिएँ । आमा मभन्दा मात्रै नौ वर्ष जेठी छन् । अहिले ७४ वर्षकी छन् । अहिलेकी आमाले सानोमा मेरो ख्याल गरिन । म स्पष्ट बुझ्थें– मेरो नजरमा उनलाइृ सानिमा बन्नु थिएन ।
आफ्नी आमा र त्यसपछिका दुइटी आमा गुमाउँदासम्म मलाई मेरा फूपूहरूलेहुर्काएका थिए । खासगरी सानो हुँदा नै आमाको माया चाहिन्छ, चाहिने मात्रै होइन पाइन्छ पनि । तर, त्यस्तो सौभाग्य मलाई प्राप्त भएन । जन्म दिने आमा गुमाएपछिका आमाहरूले पनि मलाई माया नगर्ने त होइन । तर, उनीहरु पनि लामो समय रहेनन् ।
सानोमा मनमा लाग्ने र सम्झना हुने गरी फूपहरूबाटै हो मैले माया पाएको । फूपूहरुको मायामा कुनै कमी थिएन । फूपूहरू भगवानजस्तै लाग्छ मलाई । फूपूहरूले खाना खुवाएको, चुठाएको, नुहाइदिएको, लुगा फेरिदिएको सम्झना छ ।
मेरा तीन फूपूमध्ये दुईजना बितिसकेका छन्। । कान्छी फूपू छन् , उनलाई मैले नानीफूपू भन्छु । फूपूहरूका छोराछोरीसँग अहिले दाजुभाइ, दिदीबहिनीको सम्बन्ध छ । नानीफूपू अहिले अमेरिका छन् । बितेका आमाहरू कसैलाई पनि सानीआमा भनेर सम्बोधन गरेको मलाई सम्झना छैन । सबैलाई आमा भनेरै सम्बोधन गर्थें । पछिल्ली आमा जो अहिले छन् ।,उनलाइ आमा भन्छु ।
मेरो शब्दकोषमा सानिमा भन्ने शब्द छैन । यतिसम्म कि नाटक, टेलिफिल्म, चलचित्र, प्रहसन, रेडियो कार्यक्रम केहीमा पनि मैले ‘सानीआमा’ उच्चारण गर्नुपर्नेछ भने त्यो मलाई स्वीकार्य हुँदैन । ‘सानीआमा’ उच्चारण गर्नुपर्ने कुनै भूमिका छ भने पनि त्यसमा खेल्दिनँ । किन–किन मलाई आमा नै भन्नुपर्छ ।म जन्मेर हुर्केको जितुफेदीमा हो । उतिबेला बालाजुबाट एक घन्टा हिँडेर जानुपथ्र्यो । हाम्रो फेदी र काठमाडौंमा जग्गा थियो, छ ।
हाम्रो परिवार काठमाडौं नरदेवीमा भाडामा पनि बस्यो । मेरो बुवा प्रधानपञ्च थिए । राजनीति होइन, समाजसेवा गर्दथे बुवाले । बुवा प्रधानपञ्च भएकाले घरमा थुप्रै मान्छे आउँथे, अनेक काम लिएर । बुवा सधैँ अर्काको काम गरिदिन व्यस्त थिए । बुवाको कुनै कमाइ थिएन । जग्गा पनि हजुरबाले कमाएको हो । बुवा ०३२ सालमा वितेका हुन् । बुवाले मलाई सानै उमेरमा जागिर लगाइदिएका थिए ।
मेरी अहिलेकी आमातिर दुइटी बहिनी र एक भाइ छ । हाम्रो काठमाडौं सोल्टीमोडमा पुख्र्यौली जग्गा थियो । त्यहाँको जग्गा बेचेर पैसा तीन भाग लगायौं– आमा, भाइ र मलाई । मैले नख्खीपोटमा जग्गा किनेँ । ०३८ सालतिर मैले घर बनाएपछि हाम्रो भान्सा अलग भयो ।
आमा र भाइका लागि नयाँबजार खुसिपुमा घर बनायौँ । घर नबनाउँदासम्म पैसा भाइको नाममा बैंकमा राख्यौँ । तर, चेकबुक मैले राखेको थिएँ, उनीहरूले खर्च गर्लान्, घर नबनाउलान् भनेर । घर बनाउन चाहिने खर्च निकाल्न मात्रै मैले चेकबुक दिन्थेँ । हाम्रो सबै जग्गा भाइ, म र आमाको नाममा छ । कित्ताकाट गरेका छौँ, छुट्याएका छैनौं, अझै सगोलमै छ ।
पछि भाइ र आमाले ३६ प्रतिशत ऋण लिएछन्, केही कारोबार गर्न भनेर । तर, घरै खाइदिने स्थिति आएछ । लालपुर्जा पनि ऋण दिनेले लगेछ । जग्गा हामी तीनैजनाको नाममा भएकाले आमाले मलाई भनिन , ‘बाबु, मेराविरुद्ध मुद्दा हाल । आमा र भाइले मलाई नसोधी घर बेचे भनेर हकदाबी गर, घर त जोगाउनुपर्यो ।’
आमाविरुद्ध के मुद्दा हाल्ने भनेर वास्तै नगरी फर्कें । अब ऋण लिएकै हो, तिर्नैपर्छ । भाइ र आमालाई एउटा घर कतै खोजौँला, बनाउँला भन्ने सोचेको थिएँ । भोलिपल्ट त आमालाई हर्टअट्याक भयो । आमाको अप्रेसन भयो, आइसियुमा राखिएको थियो । एक दिन हस्पिटलमा गएर भनेँ, ‘आमा, मैले हजुरको विरुद्धमा मुद्दा हालेँ ।’ आमा पनि खुसी भईन् ।
धेरैपछि हो मैले मेरी आमालाई तस्बिरमा हेरेको । उतिबेला फोटो त्यति प्रचलनमा आइसकेको थिएन, ब्ल्याक एन्ड ह्वाइटको जमाना थियो । मामाको घरमा जाँदा यी तिम्री आमा भनेर मलाई तस्बिर देखाइएको थियो । ए, यस्ती पो हुनुहुँदो रहेछ मेरी आमा भनेर धेरैबेर तस्बिर हेरेको याद छ । आठ वर्षमै मैले तीनवटी आमा गुमाएँ । मेरो शब्दकोसमा ‘सानिमा’ भन्ने शब्द छैन ।
मुद्दा मैले जितेँ । घर त गइहाल्यो, तर मेरो भागको पैसा आयो । त्यसैले आमा र भाइका लागि एउटा राम्रै घर किन्यौँ । अझैसम्म हाम्रो सम्बन्ध यस्तै सौहार्द छ । सानोमा मलाई आमाको अभाव महसुस हुन्थ्यो । अरुका आमाले आफ्ना छोराछोरीलाई माया गरेको देख्थें ।
साथीहरूले ‘आमा’ भनेको सुन्थें । मलाई पनि आमा भनेर बोलाउने रहर हुन्थ्यो । मेरो हरि तन्डुकार भन्ने साथी थियो । सानोमा मैले उसको आमालाई ‘हरिमा’ भनेर बोलाउँथेँ । ‘हरिमा’ भन्दा अर्कै रमाइलो लाग्थ्यो । हरिमाले पनि माया गर्थिन् ।
सानोमा मैले एउटा गुलेली बनाएँ । म अलि टेक्निकल दिमागको थिएँ । अरुले बाँसको फिरफिरे बनाएर उडाएको देख्थेँ । मैले मकैको डाँठ जोडेर हेलिकोप्टरजस्तो बनाउँथे, त्यसमै फिरफिरे जडेर उठाउँथेँ ।
रबरको गुलेली पनि राम्रै बन्यो, ठ्याक्कै निसाना लाग्ने । गुलेली लिएर हिँडेको थिएँ, रुखमा एउटा भंगेराले छाती फर्काएर बसेको देखेँ । ताकेर हिर्काएको भंगेरा खसिहाल्यो । भंगेरा लिएर दगुर्दै घरमा गएँ, के–के नै पौरख गरेको देखाउनु थियो । घरमा गएर भनें, ‘हजुरबा, मैले भंगेरा मारें ।’
म त सिकारी, निसाना चुकाइन्, हजुरबाले स्यावासी दिनु होला भन्ठानेको थिएँ । हजुरबाले त गाली गरे ‘बदमास, किन मारेको भंगेरा रु यो कात्तिक–मंसिरमा चराचुरुंगीको गुँड हुन्छ, बचेरा हुन्छन् । तैंले मारेको भंगेराको पनि बचेरा हुन सक्छ । बचेरालाई आहार खोज्न निस्केको हुन सक्छ ।
तैंले मारिदिएपछि कसले हेर्छ ती बचेरालाई रु ती बचेरा भोकभोकै मर्नुपर्दैन ? हजुरबाको कुराले म खङ्ग्रङ्ग भएँ । म आफू बचेरा भएर गुँडमा बसिरहेको र मलाई आहार खोज्न गएकी मेरी आमालाई कसैले मारिदिएको सोच्न पुगेँ । हजुरबाको कुरा केटाकेटी मनमा निकै गहिरोसँग गढ्यो । पछि ‘साझा पृथ्वी’ भन्ने टेलिफिल्म बनाउँदा यही प्रसंग राखेका छौं ।
उमेर र अनुभवसँगै बुझ्दै जाँदा देश आमाजस्तै लाग्दो रैछ । कलाकार किरण केसी भाइले मलाई एउटा गीत लेख्न भने । एउटा लेख्छु भनेको लेख्दै जाँदा आठवटा पुग्यो । आठवटै गीतलाई आफैंले संगीत दिएँ । एउटा नेवारी गीत थियो । गैरनेवारले नेवारी गीत गाउँदा बेग्लै स्वादको बन्यो ।
त्यसमध्ये एउटा देशलाई आमा बनाएर लेखेको गीत छ–
हे मेरी आमा, नेपाल आमा प्यारी आमा तिमी ।
सारा नेपालीहरूका श्रद्धेयी छौ तिमी ।।
आमाको आमा बुवाको आमा पुर्खाकै आमा तिमी ।
यो धर्तीमा नेपालीलाई जन्म दिने तिमी ।।
मुठी दिँदा मुरी दिन्छौँ धन्य धर्ती माता ।
सन्ततिलाई दिई नथाक्ने हे अथक दाता ।।
लिनमात्रै कति लिनु तिमीसँग हे देश ।
दिनु नि सक्नुपर्यो तिमीलाई आफूसँग जे छ ।।
देशलाई त सपुतले लिन्छ होइन दिन्छ ।
बुद्धको घर घरको घर सगरमाथाको घर ।
हे नेपाल जय नेपाल नेपालीको घर ।।
यो गीत किरण केसीले गाइसकेका छन् । तर, सार्वजनिक भएको छैन । मेरो मामा केदार श्रेष्ठ, अहिले काठमाडौंमै छन् । । मलाई बोलाइरहनुहुन्छ । भान्जाभान्जी आएर जति खायो, त्यति बढ्छ भन्नुहुन्छ । मामा अलि भावुक छन् ।
मेरी साधना बहिनी, अहिलेकी आमाकी कान्छी छोरी । उसैले हो मलाई आमाको महत्त्व बुझाएकी । उसका तीन छोरा थिए । जेठा कलेज पढ्दै थिए । कलेजबाटै गल्छीमा पिकनिक जाँदा उनलाई खोलाले बगायो, यो घटना भएको १५ वर्ष भयो होला । बहिनीले अझै पनि छोरा बित्यो भन्दिनँ, हराएको भन्छे ।
छोरा बित्यो, खस्यो, मर्यो भन्ने शब्द उसले उच्चारण गरेको हामीले सुनेका छैनौँ । एक वर्षसम्म त राति ढोकामा चुकुलै लगाउँदिनथी, राति छोरा आउँछ कि भनेर । एक वर्षभन्दा बढी छोरा सम्झेर एक्लै हिँड्ने, कसैसँग कुरा नगर्ने गरी । छोरा खसेदेखि अहिलेसम्म भात खाएकी छैन । रोटी, तरकारी, चिउरा अन्य कुरा खान्छे । छोराको नाममा भातै खान छाडी ।
उसको मुहारमा हाँसो फर्कनै थुप्रै वर्ष लाग्यो । पछि उसले चाइल्ड केयर सेन्टर खोली । नयाँ बजारमा अहिले पनि छ, साधना ममता ह्याप्पी चाइल्ड केयर । चाइल्ड केयर खोलेर बच्चाहरूसँग रमाउन थालेपछि भने ऊ केही खुसी देखिन थाली । वास्तवमा मैले आमाको माया कस्तो हुन्छ भन्ने अनुभव गर्न पाइनँ । त्यसैले आमाबारे बोल्नुपर्यो भने मलाई सकस हुन्छ ।
अभिनय क्षेत्रमा भर्खर–भर्खर लागेका बेलाको कुरा हो । एउटा साथीले मलाई नाटकमा प्रमुख भूमिकामा खेल्न भन्यो । नाचघरमा देखाइने नेवारी नाटक थियो । नाटकको सुरुमै आमाको फोटो हेरेर भावुक हुँदै ‘मा’ भन्नुपर्ने थियो । जन्म दिने आमालाई साँच्चिकै सम्झेको भाव आउनुपथ्र्यो । खै मनमा के पर्यो रु मैले यो भूमिका निभाउनै सकिनँ र त्यो नाटक खेलिनँ ।
जीवन भोग्दै–बुझ्दै जाँदा, बहिनीले आफ्ना छोराछोरीलाई गरेको माया देख्दा, मेरी श्रीमतीले छोराछोरीलाई गरेको माया देख्दा, मैले आमाको महत्त्व, महिमा अरु बढी बुझेको छु । कहिलेकाहीँ आमा र सन्तान छुटिनुपर्ने पनि होला, यसका थुप्रै कारण होलान् । तर, संसारका सबै पोथी जातिले आफ्ना सन्तानलाई हुर्काउन माया गरेकै देखिन्छ ।
संसार मायाले नै अडेको छ । त्यसमाथि आमाको माया त मायामा पनि महामाया हो । सबैभन्दा ठूलो माया आमाकै माया हो– आमाले सन्तानलाई गर्ने माया र सन्तानले आमालाई गर्ने माया । मानवले आफ्ना मातापितालाई भुल्नु हुँदैन । उपेक्षा, हेला गर्नु हुँदैन ।
समाजमा कतिपय मानिसले आमालाई हेला गरेको देखिन्छ, सुनिन्छ । यस्तै सन्तानका लागि होला ‘कुलंगार’ भन्ने शब्द प्रयोग हुने । यो अधर्म हो । छोराछोरीको पहिलो धर्म नै आमाबाबुलाई हेर्नु हो । मैले मेरी आमाको तस्बिर पूजाकोठामा राखेको छु ।
प्रतिकृया दिनुहोस