थाइल्यान्डका राजा बाजिरालंकर्नले गरे आफ्नै अङ्गरक्षकसँग चौंथो बिहे
थाईल्यान्ड । थाईल्यान्डका राजाले आफ्नी अङ्गरक्षकसँग बिहे गरेर उनलाई महारानीको उपाधि प्रदान गरेका छन् । उक्त अप्रत्याशित घोषणा शनिवार सुरु हुन लागेको उनको औपचारिक राज्याभिषेक समारोहको केही दिन अगाडि भएको छ ।
छैसट्ठी वर्षीय राजा महा बजिरालङ्कर्न सन् २०१६ मा उनका पिताको निधनपश्चात् थाईल्यान्डका राजा बनेका हुन् । सअघि उनको तीन पटक विवाह र सम्बन्धविच्छेद भएको थियो । थाईल्यान्डमा जारी गरिएको शाही विज्ञप्तिमा राजा बजिरालङ्कर्नद्वारा जनरल सुथिदा बजिरालङ्कर्नलाई महारानी सुथिदामा पदोन्नति गर्ने निर्णय गरिएको जनाइएको छ ।
रानी सुथिदा लामो समयदेखि राजा बजिरालङ्कर्नको साथ छिन् र कैयौँ वर्षदेखि उनलाई राजासँगै सार्वजनिक स्थलमा देखिएको थियो । तर दुई जनाबीचको सम्बन्धलाई यसअघि आधिकारिक रूपमा स्वीकारिएको थिएन ।
थाई टेलिभिजन च्यानलहरूमा बुधवार प्रसारित वैवाहिक समारोहको दृश्यमा राजपरिवारका अन्य सदस्य एवम् दरबारका भारदार उपस्थित देखिन्थे। राजाले रानी सुथिदाको शिरमा पवित्र जल छर्किएको देखिन्छ । त्यसपछि राजदम्पतिले विवाह रजिस्टरमा हस्ताक्षर गरेको देखिन्छ ।
सन् २०१४ मा बजिरालङ्कर्नले थाई एअरवेजकी भूतपूर्व परिचारिका सुथिदालाई आफ्नो अङ्गरक्षक दलको उपकमान्डर नियुक्त गरेका थिए । सन् २०१६ को डिसेम्बरमा उनलाई जनरलमा बढुवा गरियो ।
यसअघि बजिरालङ्कर्नका बुवा राजा पूमिपोन अदुन्यादेतले ७० वर्षसम्म शासन गरेका थिए। सन् २०१६ मा निधन हुँदा उनी विश्वमै सबभन्दा लामो समय शासन गर्ने राजा थिए।
प्रतिकृया दिनुहोस