यसकारण नरेन्द्र मोदीविरुद्ध बनारसमा उठेका भूतपूर्व सैनिक तेजबहादुरको उम्मेदवारी रद्द
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ । उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का जवान तेजबहादुर यादवको उम्मेदवारी बनारसको निर्वाचन कार्यालयले रद्द गरिदिएको हो ।
उनले पाकिस्तानस्थित सीमाको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई गुणस्तरहीन खाना दिने गरिएको भन्दै सार्वजनिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि त्यसले ठूलै तरङ्ग उत्पन्न गरिदिएको थियो । त्यसको चार महिनापछि मिथ्या आरोप फैलाएको भन्दै उनी सेवाबाट हटाइएको थिए ।
निर्वाचन कार्यालयले सरकारी सेवाबाट बर्खास्त गरिएका व्यक्ति पाँच वर्षसम्म चुनाव लड्न नपाउने निर्णय गरेको छ । तेजबहादुर यादवले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने बताएका छन् ।
उनले संवाददाताहरूसँग भने, मैले प्रमाण पेस गरिसकेको छु । तैपनि मेरो उम्मेदवारी गलत तरिकाले रद्द गरिएको छ । म सर्वोच्च अदालत जान्छु ।
पहिले स्वतन्त्र उम्मेदवारी दिएका यादव पछि समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा)को संयुक्त उम्मेदवारको रूपमा मोदीविरुद्ध उठेका थिए । क्षेत्रीय दलहरूले भारतीय जनता पार्टीका मोदी र विपक्षी कांग्रेस विरूद्ध मोर्चाबन्दी गरेका छन् ।
निर्वाचन कार्यालयले के तपाईलाई सरकारी सेवाबाट भ्रष्टाचार वा देशद्रोहको आरोपमा कहिल्यै बर्खास्त गरिएको छ ? भन्ने लिखित प्रश्नमा पहिलो पटक उम्मेदवारी दिँदा उनले छु भन्ने जबाफ दिएका छन्। मोदीविरूद्ध उम्मेदवारी दिएपछि बनारसमा तेजबहादुरले चुनाव प्रचार सुरु गरिसकेका थिए ।
तर एप्रिल २९ तारिखमा दोस्रो पल्ट उम्मेदवारी दिँदा उनले गल्तीले त्यसो लेखिएको उल्लेख गरेका छन् ।निर्वाचन अधिकृतका अनुसार सरकारी सेवाबाट बर्खास्त कर्मचारी पाँच वर्षसम्म उम्मेदवार बन्न नपाउने नियम छ । बनारसको लोकसभा क्षेत्रमा दर्ता भएका १०१ उम्मेदवारीमध्ये ७१ जनाको खारेज गरिएको छ ।
प्रधानमन्त्री मोदीले उम्मेदवारी दिँदा सपा–बसपाको तर्फबाट शालिनी यादवलाई उम्मेदवार बनाइएको थियो । तर तेजबहादुर यादवले स्वतन्त्र उम्मेदवारी दिएपछि सपाले सोमवार अचानक उनैलाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको थियो । गठबन्धनबाट उक्त क्षेत्र सपाको भागमा परेको थियो ।
तर सपाले त्यस्तो निर्णय गरेपछि बलियो देखिएका मोदीविरुद्ध उनको उम्मेदवारीप्रति चासो बढेको थियो । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले उक्त निर्णय गरेकोमा सपालाई बधाई दिएका थिए । सन् २०१४ को निर्वाचनमा मोदीविरुद्ध उठेका केजरीवाल पराजित भएका थिए । तेजबहादुर यादवले बनारसमा चुनावी प्रचार पनि सुरु गरिसकेका थिए जहाँ वितरण गरिएका पोस्टरमा देशको असली चौकीदार म हुँ लेखिएको थियो ।
भाइरल हुन पुगेको भिडिओमा तेजबहादुर यादवले जवानलाई दिइने खानाको गुणस्तरप्रति गुनासो गरेका थिएदुई वर्षअघि बीएसएफका जवान तेजबादुरको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसमा उनले फौजमा दिइने खानाको गुणस्तरप्रति गुनासो गरेका थिए ।
उनले अधिकृतहरूसँग त्यसबारे गुनासो गर्दा पनि सनुवाइ नभएको र गृह मन्त्रालयलाई चिट्ठी लेख्दा पनि सुधार नभएको बताएका थिए । त्यस भिडिओले राजनीतिक वृत्तमा हलचल मच्चाइदिएको थियो । बीएसएफले त्यसबारे छानबिन गर्न आदेश दियो तर पछि सङ्गठनले उनैलाई बर्खास्त गर्यो ।
प्रतिकृया दिनुहोस