जैश–ए–मोहम्मद समुहका नेता मसूद अजहरलाई आतंकवादी घोषणा, भारतद्वारा स्वागत
काठमाडौं । संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मद समुहका नेता मसूद अजहरलाई आतंकवादी घोषणा गरेको छ । उनी गत फेब्रुअरीमा भारत प्रशासित कश्मीरमको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी गराइएको विस्फोटको योजनाकार हुन । पुलवामा घटनापछि भारत र पाकिस्तान युद्धको संघारमा पुगेका थिए ।
भारतले मसूदलाई आतंकवादी घोषणा गर्न संयुक्त राष्ट्रसंघमा निरन्तर पहल गरिरहे पनि चीनको असहमतिले पूरा हुन सकेको थिएन । यसपटक चीनले उक्त समूहबारेको आफ्नो अडान छोडेपछि राष्ट्रसंघले त्यस्तो निर्णय गरेको हो ।
मसूदमाथिको प्रतिबन्धलाई भारतले आफ्नो कूटनीतिक जितको रूपमा हेरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मसूदलाई आतंककारी घोषणा गर्नुलाई भारतको सफलताको रुपमा व्याख्या गरेका छन् ।
उनले भारतले आतंकबादी समूहलाई जरैदेखि उखेल्न गरेको प्रयासले सार्थकरुप लिएको टिप्पणी गरेका छन् । यस निर्णयसँगै मसूदको सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू लाग्नेछन् ।
सन् १९९९ मा इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरिदिएको मसूद अजहरले नै उक्त समूहको गठन गरेका हुन् ।
त्यतिखेर सो विमानलाई काठमाडौंबाट अपहरण गरेर तालिबानशासित अफगानिस्तान पुर्याइएको थियो । दिल्लीस्थित भारतको केन्द्रीय संसद्मा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको दोष भारतले जैश–ए–मोहम्मदमाथि लगाएको छ ।
त्यसैगरी सन् २०१६ को जेनुअरीमा पाकिस्तानी सीमानजिकै रहेको पठानकोटस्थित हवाई सैन्य अखाडामा भएको आक्रमणका निम्ति पनि भारतले जैश–ए–मोहम्मदलाई जिम्मेवार ठहर्याएको छ ।
प्रतिकृया दिनुहोस