जापानमा नारुहितो बने नयाँ सम्राट, गरे सुख र विश्वशान्तिको कामना
टोकियो । जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन् । राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन् ।
उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन् ।
बिहान आयोजित प्रतीकात्मक समारोहमा सम्राट नारुहितोलाई उनका पूर्वजको नासो हस्तान्तरण गरिएको थियो । नारुहितो नयाँ सम्राट बनेपछि रेवा नाम दिइएको नयाँ युग आरम्भ भएको छ । जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो ।
जापानमा सम्राट फेरिएपछि नयाँ युग सुरु गर्ने प्रचलन छ। छोटो मन्तव्यमा ५९ वर्षीय नारुहितोले भावुक हुँदै आफ्ना बुवा आकिहितोप्रति कृतज्ञता व्यक्त गरे ।
आकिहितोले देशका सेवा गरेको उल्लेख गर्दै सम्राट नारुहितोले भने, उहाँले आफ्नो कर्तव्य गम्भीरतापूर्वक ३० वर्षदेखि निर्वाह गर्नुभयो ।
उहाँले आफ्नो आचारबाटै ठूलो दयाभाव देखाउनुभयो । म उहाँप्रति हार्दिक सम्मान र प्रशंसा प्रकट गर्न चाहन्छु । जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन । तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन् ।
प्रतिकृया दिनुहोस