सय वर्षअघि हजुरबुवाले चोरेको मूर्ति नातीले फिर्ता गरे
नयाँ दिल्ली । भारतमा सय वर्षअघि हजुरबुवाले चोरेको सातसय वर्ष पुरानो मुर्ति नातीले फिर्ता गरेका छन् । सात सय वर्ष पुरानो द्रौपदीको मूर्तिलाई मन्दिरका पुजारी करप्पास्वामीले चोरेका थिए । उनका नातीमुरुगसेनाले भगवानको प्रकोपको डरले उक्त मूर्ति मन्दिर प्रशासनलाई जिम्मा लगाइदिएका छन् ।
मूर्तिलाई अब पुनः मन्दिरमा स्थापना गरिने भारतीय संचार माध्यमले बताएको छ । भारतको मदुरै भन्ने स्थानमा रहेको मेलोर मन्दिरबाट सन् १९१५ मा सो मुर्ति चोरिएको थियो । नाती मुरुगसेनाका अनुसार मूर्तिका कारण उनको परिवारमाथि बज्रपात आइलाग्यो ।
परिवारका धेरै सदस्यको असामयिक मृत्यु भयो भने कति बिरामी भए । मूर्तिका कारण यस्तो समस्या आइरहेको हो कि भन्ने उनलाई बारम्बार लागिरहन्थ्यो । भारतीय मिडियाका अनुसार मेलोर मन्दिरमा दुई पुजारी थिए ।
करप्पास्वामीको अन्य पुजारीसँग विवाद भएको थियो जसका कारण उनले मूर्ति चोरेका थिए । चोरीबारे सन् १९१५ मा बेलायती पुलिसलाई पनि उजुरी दिइएको थियो । ६० वर्ष पुगिसकेका मुरुगसेनाका अनुसार बाल्यकालमा उनले हजुरबुवालाई भित्तातिर मुख फर्काएर पूजा गरिरहेका देख्ने गर्दथे ।
सुरुमा उनलाई यो सामान्य जस्तो लाग्थ्यो तर केही समयपछि आफूलाई शंका लाग्न थालेको उनले बताए । उनले यसबारे मन्दिर प्रशासनलाई जानकारी दिए । मन्दिर प्रशासनले पुलिससँग मिलेर भित्ता फोड्दा त्यहाँ १.५ फिट लामो दुर्लभ मूर्ति बरामद गर्यो । यो करिब सात सय वर्ष पुरानो मूर्ति हो । मेलोरको मन्दिर लगभग ८ सय वर्ष पुरानो भएको जनाइएको छ । ।
प्रतिकृया दिनुहोस