हारको बदला लिन श्रीलंकामा आक्रमण गरेको दाबी
मालीका बिद्रोही समूहसँग सहकार्य
काठमाडौं । इस्लामिक बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले आफ्ना नेता दाबी गरिएका व्यक्तिको भिडियो सार्वजनिक गरेको छ । आइएसले पछिल्लो पाँच वर्षमा पहिलोपटक आफ्ना नेता अबु बकर अल–बग्दादीको भिडियो सार्वजनिक गरेको हो ।
भिडियोमा अल–बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेको र त्यसको बदला लिरै छोड्ने चेतावनी दिएका छन् । भिडियो फुटेजमा अल–बग्दादीले आइएसको नियन्त्रण रहेको अन्तिम क्षेत्रका रुपमा रहेको बाघुजमा भएको हार पनि स्वीकार गरेका छन् ।
भिडियो कहिले रेकर्ड गरिएको भन्ने स्पष्ट भएको छैन, तर आइएसले भने अप्रिलमा लिइएको भिडियो रहेको बताएको छ । आइएसको अल–पुक्र्वान मिडियान नेटवर्कमा भिडियो पोस्ट गरिएको हो ।
अल–बग्दादीले इस्टरको दिन (अप्रिल २१) श्रीलंकाको राजधानी कोलम्बोमा भएको आक्रमण इराकी शहर बाघुजमा बेहोरेको हारको बदला रहेको दाबी गरेका छन् ।
उनले बुर्किना फासो र मालीका बिद्रोही समूहसँग सहकार्य रहेको पनि बताएका छन् । यस्तै सुडान र अल्जेरियामा भइरहेको प्रदर्शनका बारेमा पनि उनले कुरा गरेका छन् ।
अल–बग्दादीले जिहाद मात्रै तानाशाहको समाधान रहेको बताएका छन् । सुडान र अल्जेरियामा लामो समयदेखि सत्तामा रहेका शासक विरुद्ध प्रदर्शन भइरहेको छ । भिडियोको अन्त्यतिर अल–बग्दादीको तस्बिर छैन, त्यसपछि उनले श्रीलंकामा भएको आक्रमणका बारेमा चर्चा गरेका छन् ।
श्रीलंकामा भएको आक्रमण सम्बन्धी अंशमा अडियो मात्रै रहेकाले यो भाग पछि रेकर्ड गरिएको हुन सक्ने पनि अनुमान रहेको समाचार संस्था रोयटर्ससहितले उल्लेख गरेका छन् । १८ मिनेट लामो भिडियोमा उनले अब बदला लिएरै छोड्ने चेतावनी दिएका छन् ।
इस्टरको दिन कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तिमा २५० जनाको ज्यान गएको थियो । घटनामा ५०० जना भन्दा बढि घाइते भएका छन् ।
प्रतिकृया दिनुहोस