श्रीलंकामा लाग्यो अनुहार छोप्न लगाइने पहिरन लगाउन प्रतिवन्ध
काठमाडौं । अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको मृत्यु भएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमवारदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको छ ।
उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनहरूको उल्लेख गरिएको छैन । तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरू प्रति लक्षित रहेको देखिएको छ । अधिकारीहरूको निर्णय अनुसार अब कसैले पनि अनुहार नदेखिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन् ।
श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन् । यो प्रतिबन्धलाई पनि उनको त्यस्तै आकस्मिक उपायका रूपमा अर्थ्याइएको छ । श्रीलङ्कामा रहेका बीबीसीका स्टीभ ज्याक्सनका अनुसार सोमवारबाट लागु हुने उक्त प्रतिबन्धले सबैखाले अनुहार ढाक्ने पहिरनलाई रोक लगाएको हो ।
उनी भन्छन्, ‘घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ‘निकाब’ बारे प्रस्ट उल्लेख छैन । तर यो उनीहरू प्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ।’ श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन् । तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरतप्रति आकर्षण बढेको बताइन्छ ।
श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाभन्दा अगाडि पनि श्रीलङ्कामा कतिपयले अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गर्दै आएका थिए । ती बम वस्फोटनहरूले यस्तो प्रतिबन्ध लगाउनु पर्ने माग अझ प्रबल बनेको थियो ।श्रीलङ्कामा अघिल्लो साताको आइतबार ईसाईहरूको पर्व इस्टरका दिन चर्च र होटलहरूमा श्रृङ्खलाबद्ध आत्मघाति बम विस्फोटनहरू भएका थिए ।
ती घटनामा परि कम्तीमा २ सय ५० जनाको ज्यान गएको थियो । उक्त घटना त्यहाँको अतिवादी इस्लामिक समूह न्याशनल तौहिद जमातले गराएको श्रीलङ्कन सरकारको दाबी छ । घटनापछि उक्त समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ ।
प्रहरीले श्रीलङ्काको पूर्वी शहर कट्टनकुडीस्थित उक्त समूहको मुख्यालयमा छापा मार्ने क्रममा मुख्य संदिग्धका आफन्तहरू मारिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस