इन्डोनेशिया निर्वाचनको मतगणनामा खटिएका २७० भन्दा बढी कर्मचारीको मृत्यु
जाकर्ता । इन्डोनेशियामा भर्खरै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको एक अधिकारीले बताएका छन् । तीमध्ये अधिकांश थकाइसम्बन्धी समस्याबाट पीडित थिए । निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोका अनुसार अरू १८ सय ७८ कर्मचारी बिरामी परेका थिए।
एप्रिल १७ मा भएको निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न झन्डै ७० लाख व्यक्ति खटिएका थिए । उखरमाउलो गर्मी भएका बेला कर्मचारीहरूले राति पनि काम गर्नु परेको थियो । त्यसले धेरैलाई अस्वस्थ बनायो । झन्डै २६ करोड जनसङ्ख्या भएको इन्डोनेशियामा खर्च जोगाउन केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपतिको चुनावमा एकैदिन मतदान भएको थियो ।
त्यहाँ १९ करोड ३० लाख मतदाता थिए । योग्य मतदातामध्ये ८० प्रतिशतले मतदान गरेका थिए । अधिकांश पीडितहरू अस्थायी कर्मचारी भएको बताइएको छ । काममा खटिनुअघि स्थायी कर्मचारीको जस्तो उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन ।
निर्वाचन आयोगका प्रवक्ताका अनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भएर मृत्यु भएको हो ।
आयोगले प्रत्येक मृतकको परिवारलाई तीन करोड ६० लाख रुपियाँ अर्थात् २५ सय अमेरिकी डलर क्षतिपूर्ति दिने भएको निक्केई एशियन रिभ्यूले जनाएको छ । सरकारको एकैचोटि निर्वाचन गर्ने निर्णय व्यावहारिक नभएको र त्यसबाट अस्थायी कर्मचारीबाट धेरै अपेक्षा भएको भनेर आलोचना पनि भएको छ ।
निर्वाचन आफूले जितेको दाबी राष्ट्रपति जोजो विदोदो र विपक्षी नेता प्रबोवो सुबियान्तोले गरेका छन् । तर प्रारम्भिक गणनामा विदोदो विजयी भएको देखिएको छ । निर्वाचन आयोगले मतगणना सकिएपछि परिणाम मे २२ मा घोषणा गर्नेछ ।
प्रतिकृया दिनुहोस