पारिश्रमिक नपाएका जेट एयरवेजका एक कर्मचारीले गरे आत्महत्या
काठमाडौँ । आर्थिक सङ्कटमा परेर अस्थायी रूपमा बन्द भएको भारतीय विमानसेवा कम्पनी जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले महाराष्ट्र राज्यको पालघर जिल्लामा आत्महत्या गरेका हुन् ।
उनी तीन वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए । विगत चार महिनादेखि उनको स्वास्थ्य बिग्रिएको थियो । प्रहरीले जनाएअनुसार अस्पतालमा भर्ना भएका उनले यस वर्षको मार्च महिनादेखि तलब पाएका थिएनन् ।
शुक्रवार उनलाई घर ल्याइएको थियो । त्यसै दिन दिउँसो चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ । उक्त विमानसेवा कम्पनी आर्थिक सङ्कटमा परेपछि उसका कर्मचारीले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।
मृतकका छोरा पनि जेट एयरवेजमा काम गर्छन् । छोराले पनि तलब पाएका छैनन् । जेट एयरवेजका कैयौँ कर्मचारीले आर्थिक सङ्कटका कारण तनावमा रहेको बताएका छन् । उक्त कम्पनीका सबै उडान अहिले बन्द छन् ।
जेट एयरवेजले त्यसो गर्नुबाहेक अन्य विकल्प बाँकी नभएको तर आफू चाँडै सेवामा फर्कने कुरामा आशावादी रहेको बताएको छ । झन्डै १।२ अर्ब अमेरिकी डलर ऋणको भार बोकेको सो कम्पनी ऋणदाताहरूसँग छलफलमा थियो । एक सय २३ वटा विमान रहेको जेट एयरवेज भारतमा निजी क्षेत्रले सञ्चालन गरेको सबैभन्दा ठूलो विमान कम्पनी हो ।
हालै एउटा विज्ञप्ति जारी गर्दै जेटले ऋण दाता र आधिकारिक निकायहरूसँग लामो समयसम्म चलेको निरन्तर प्रयासबाट परिणाम नआएपछि सम्पूर्ण उडान बन्द गर्न बाध्य भएको बताएको छ । पच्चीस वर्षअघि नरेश गोयलले स्थापना गरेको उक्त कम्पनीले २३ हजार जनालाई रोजगारी दिएको छ ।
गोयलले कम्पनीको अध्यक्ष पदबाट गत महिना राजीनामा दिएका थिए । समस्याको भुमरीमा फसेको जेट एयरवेजका कैयौँ विमानचालक, इन्जिनियर र अन्य कर्मचारीले महिनौँदेखि पारिश्रमिक पाएका छैनन् ।
प्रतिकृया दिनुहोस