श्रीलंकामा शंकास्पद आक्रमणकारीसहित १५ जना मारिए
कोलम्बो । सुरक्षा निकायले गरेको कारबाहीका क्रममा श्रीलंकामा १५ जना मारिएका छन् ।
सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा ६ जना बालबालिका र तीन जना महिलासमेत छन् ।
शंकास्पद व्यक्तिहरु लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले घेराहालेर आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।
देशको पूर्वी ठाउँ काल्मुनाइमा भएको भिडन्तमा परी मृत्यु हुनेमा जियादी पनि छन् । उनीहरुले आत्मघाती विस्फोट गराएका प्रहरीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
घटनास्थलबाट प्रहरीले शनिबार विहानै शव उठाएको छ । उनीहरुले खोजी अभियान पनि जारी राखेका छन् ।
झण्डै २५० भन्दा बढीको मृत्यु हुनेगरी केही दिन अगाडी तीन चर्च र तीन होटलमा भएको हमलामा आफ्नो संलग्नता रहेको भन्दै इस्लामिक स्टेट्स (आईएस) लडाकूले जिम्मेबारी लिएपछि उनीहरु विरुद्ध सरकारी सुरक्षाकर्मीहरुले खोजी तथा कारबाही अभियान तिव्र पारेका छन् ।
श्रीलंकाको प्रहरी र सेनाले संयुक्त रुपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आइएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सुरक्षा कारबाहीका क्रममा अहिलेसम्म सुरक्षाकर्मीतर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ ।
घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरु नै दोषी रहेको भन्दै उनीहरुलाई बर्खास्त गरिएको छ । एजेन्सी
प्रतिकृया दिनुहोस