भारतमा योगी आदित्यनाथ र मायावतीलाई निर्वाचन प्रचार–प्रसारमा प्रतिबन्ध
नयाँदिल्ली । आम निर्वाचन चलिरहेका बेला भारतमा दुईजना प्रभावशाली नेतालाई निर्वाचन प्रचार–प्रसारमा प्रतिबन्ध लगाइएको छ ।
भड्किलो र निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले भारतको उत्तर प्रदेशका दुई नेतालाई निर्वाचन प्रचार–प्रसारमा प्रतिबन्ध लगाउने निर्णय सोमबार गरेको हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी (बीएसपी)की अध्यक्ष मायावतीलाई ‘घृणित अभिव्यक्ति’ दिएको भन्दै निर्वाचन आयोगले प्रतिबन्ध लगाइएको जनाएको छ ।
आयोगकाअनुसार योगीलाई तीन दिन र मायावतीलाई दुई दिन निर्वाचनसम्बन्धी कुनैपनि क्रियाकलापमा सहभागी हुन रोक लगाइएको छ ।
उनीहरुलाई लगाइएको प्रतिबन्ध मंगलबार बिहानदेखि लागू हुने पनि आयोगले जानकारी दिएको छ ।
उनीहरुको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सर्वोच्च अदालतले उनीहरुकाबारेमा जाँचबुझ गर्न आदेश दिएपछि निर्वाचन आयोगले उनीहरुलाई दोषी ठहर गर्दै कारबाहीस्वरुप प्रतिबन्ध लगाएको हो ।
दलित समुदायकी मायावतीले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) हिन्दूवादी भएकाले मोदी र भाजपाको पक्षमा मतदान नगर्न मुस्लिमहरुलाई आह्वान गरेकी थिइन् ।
मायावतीको अभिव्यक्तिको प्रतिवाद गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले पनि भारतमा हिन्दू धर्मावलम्बीहरुको बाहुल्यता रहेको भन्दै धार्मिक सहिष्णुतामा असर पार्ने अभिव्यक्ति दिएको निर्वाचन आयोगले जनाएको छ ।
भारतमा यही अप्रिल ११ देखि मतदान सुरु भएको छ भने आगामी मे १९ तारिखसम्म गरी सात चरणमा मतदान हुनेछ ।
प्रतिकृया दिनुहोस