पृथ्वीको सतह नजिक दोस्रो ठूलो शक्तिशाली उल्का विष्फोट
काठमाडौं । पृथ्वीको सतहभन्दा केही किलोमिटरमाथि वायुमण्डलमा शक्तिशाली उल्का विष्फोट भएको वैज्ञानिकहरुले बताएका छन् ।
नासाका अनुसार गत १८ डिसेम्बरको मध्याह्नमा भएको विष्फोटबाट १ सय ७३ किलोटन ऊर्जा उत्पन्न भएको थियो ।
३२ किलोमिटर प्रतिसेकेण्डको वेगमा वायुमण्डलमा प्रवेश गरेको पिण्ड पृथ्वीको सतहभन्दा २५.६ किलोमिटर माथि विष्फोट भएको थियो ।
टेक्सासको उडल्याण्डमा आयोजित चन्द्रमा र ग्रह विज्ञान सम्बन्धी एक सम्मेलनमा नासाकी वैज्ञानिक डा. केली फास्टले यो विष्फोटबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।
यो कुरा सबैभन्दा पहिलो अमेरिकी वायु सैनिकले पत्तो पाएका थिए । उनीहरुले नै नासाका वैज्ञानिकहरुलाई विष्फोटबारे जानकारी दिएका थिए ।
वैज्ञानिकहरुका अनुसार उक्त विष्फोट उत्तर अमेरिका र एसियाबीच व्यापारिक उडान हुने रुट नजिकै भएको थियो ।
३० वर्षको अवधिमा भएको यो दोस्रो ठूलो विष्फोट हो । ६ वर्षअघि रुसको वायुमण्डलमाथि योभन्दा कयौं गुणा शक्तिशाली विष्फोट भएको थियो ।
उक्त विष्फोट जापानको हिरोसिमामा अमेरिकाले खसालेको अणु बमभन्दा १० गुणा शक्तिशाली थियो । यद्यपि बेरिङ सागरमाथि विष्फोट भएकाले त्यसको ऊर्जाले धेरै क्षति भएन ।
डिसेम्बर महिनामा भएको विष्फोटबाट उत्पन्न ऊर्जा रुसमा भएको विष्फोटभन्दा ६० प्रतिशत कम हो । त्यसैले यसको धेरै चर्चा नभएको वैज्ञानिकहरु बताउँछन् । वैज्ञानिकका अनुसार 'यस्ता ठूला विष्फोट एक वर्षको अवधिमा दुई वा तीन पटक मात्र हुने गर्दछ ।’
आकासीय पिण्ड पृथ्वीको नजिक आएमा ग्रुत्वाकर्षणका कारण तीव्र गतिले पृथ्वीतर्फ र्झन थाल्छन् र वायुमण्डलसँग घर्षण भएर आगो निस्किन्छ । यसैलाई उल्का खसेको भनिन्छ ।
यदि यी उल्का पृथ्वीमा ठोक्किएमा ठूलो क्षति र्पुयाउने वैज्ञानिकहरुको भनाइ छ । यद्यपि पृथ्वीमा पानीको मात्रा बढी भएकाले प्रतिरक्षामा धेरै हदसम्म सहयोग पुग्ने गरेको छ ।
सन् २००५ मा अमेरिकी संसदले नासालाई सन् २०२० भित्र पृथ्वी नजिकका क्षुद्रग्रहको संख्या पत्ता लगाउन भनेको थियो । तर उक्त समयसीमा अपुग भएको र थप १० वर्ष समय चाहिने वैज्ञानिकहरूले आकलन गरेका छन् ।
उल्कापातको कोण र गतिका आधारमा यो पृथ्वीको कुन क्षेत्रमा खस्छ भन्ने पत्ता लगाउन वैज्ञानिकहरु धेरै हदसम्म सफल भएका छन् ।
तर, बेरिङ सागरमाथि भएको ठूलो विष्फोट र गत डिसेम्बर महिनामा भएको पछिल्लो घटनाको पूर्व जानकारी भने वैज्ञानिकहरुलेसमेत पाएनन् ।
यसबाट पिण्डहरुको अध्ययनमा थप सुधार आवश्यक देखिएको विश्लेषण गरिएको छ ।
प्रतिकृया दिनुहोस