‘दीपक शिवा बचाऊ अभियानमा’ रकम जुट्ने क्रम जारी
फिक्कल । देउमाई नगरपालिका मंगलबारेस्थित त्रिवेणी युथ क्लबले ‘दीपक शिवा बचाऊ अभियान’ सञ्चालन गरेको छ ।
मिर्गाैला रोगपीडित दीपक शिवाको उपचारका लागि स्थापित ‘दीपक शिवा बचाऊ अभियान’मा देश तथा विदेशबाट रकम जम्मा हुने क्रम जारी छ ।
क्लबका सदस्य तथा देउमाई नगरपालिका–४ मङ्गलबारे बजार निवासी शिवाको दुबै मिर्गाैलाले काम गर्न छोडेपछि उनी अहिले काठमाडौँस्थित क्रिष्ट अस्पतालमा उपचाररत छन् ।
शिवाको उपचारका लागि रकम अभाव भएकाले क्लबले रकम जुटाउन दुई महीना अघिदेखि शुरु गरेको अभियानमा हालसम्म तीन लाख ८४ हजार सात सय पाँच रुपैयाँ सङ्कलन भइसकेको छ ।
दक्षिण कोरियाकास्थित इलामेली समाजका केदार निरौला र छुङछुङ नेपाली समाजका लोकेन भट्टराईले रु दुई लाख १२ हजार ९०० जम्मा गरेका छन् ।
उक्त क्लबले देश तथा विदेशमा रहेका अन्य सहयोगीबाट रु थप एक लाख ७१ हजार ८०५ सङ्कलन गरेको क्लबका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।
उनले रकम जुट्ने क्रम जारी रहेको बताउँदै यस अभियानलाई अझ प्रचार गर्न सके बढी रकम जुट्ने अपेक्षा गरे ।
विसं २०४३ मा जन्मिनु भएका शिवा कुशल खेलाडी तथा मङ्गलबारे बजारका युवा व्यवसायी हुन् । उनले तीन महीना अघिदेखि उपचार गर्न थालेका थिए ।
प्रतिकृया दिनुहोस