यसरी गर्नुस उच्च रक्तचापको नियन्त्रण
काठमाडौं । मानिसको खानपान र बदलिँदो जीवनशैलीलाई हेर्ने हो भने प्रायः सबैमा अहिले उच्च रक्तचाप भएको पाइन्छ। उच्च रक्तचापको समस्या त्यस्ता व्यक्तिमा हुन्छ, जसको खानपान र जीवनशैली अस्तव्यस्त हुन्छ।
उच्च रक्तचापको खास कारण खराब जीवनशैली हो। सुत्ने - उठ्ने तालिका नियमित नभएका, खानपानमा सतर्क नभएका, मानसिक बोझ बोकेका, महत्वाकांक्षाले लखेटेका, धपेडीमा दैनिकी बिताइरहेका तमाम व्यक्तिलाई ‘उच्च रक्तचाप’ले सताइरहेको छ।
उच्च रक्तचाप यस्तो समस्या हो, जसले अरू थुप्रै समस्या पैदा गर्छ। यसले मुटुको कार्यमा अवरोध पु¥याउँछ, मिर्गौलालाई समस्यामा पार्छ। शरीरका अन्य अंगहरूको कार्यक्षमतालाई पनि शिथिल तुल्याउँछ। त्यसैले त भन्ने गरिन्छ, यो ‘साइलेन्स किलर’ हो। अर्थात् यसले थाहै नदिई मान्छेलाई मृत्युको मुखमा धकेल्छ। वर्तमान जीवनशैलीको सबैभन्दा ठूलो चुनौती हो, उच्च रक्तचाप।
अहिले हामी प्रतिस्पर्धात्मक युगमा छौँ। हामी करियर, पैसा र प्रतिष्ठाको होडबाजीमा लागेका छौँ। यसले हामीलाई स्थिर र शान्त हुन दिएको छैन। हामी अस्थिर छौँ। बेचैन छौँ। असन्तुष्ट छौँ। यही मनोवेगले हामीलाई उच्च रक्तचापको रोगी बनाएको छ।
अर्कोतिर हामी फस्टफुड जीवनशैलीमा रमाएका छौँ। हामीलाई कुनै पनि कामको नतिजा तुरुन्तै चाहिन्छ। हामीमा अधैर्य बढ्दैछ। यसले पनि हाम्रो मुटुको गतिलाई अरू तीव्र बनाइदिएको छ। त्यस्तै हामीलाई खाना पकाउन र खानसमेत फुर्सद छैन। अर्डर गर्नसाथ हातमा आइपुग्ने खाना चाहिन्छ। यही फास्टफूड शैलीले हाम्रो शरीरलाई रोगको भण्डार बनाउँदैछ। यसको असर रक्त प्रवाहमा पनि पर्ने नै भयो।
हाम्रो खानाले शरीरमा विषाक्त तत्त्व जन्माइदिएको छ। बोसोको मात्रा बढाइदिएको छ । यसले गर्दा रक्त प्रवाह सुचारु र सहज हुन छाडेको छ ।
हामी अहिले ऐस - आरामको भोका छौँ। हामीलाई हिँड्न, श्रम गर्न जाँगर चल्दैन। हामीमा बस्ने, आराम गर्ने, मोजमस्ती गर्ने र मिठोमसिनो खाने बानी परिसकेको छ। यस किसिमको विलासी तर निष्क्रिय जीवनले हामीलाई उच्च रक्तचापको रोगी बनाइरहेको छ। हुन त उच्च रक्तचापको रोग लाग्नुमा अरू पनि कारण छन्। वंशानुगत कारण, मिर्गौलालगायत अंगको खराबी। तर, मूल रूपमा चाहिँ खराब जीवनशैली र खानपान नै उच्च रक्तचापको कारण हो।
रक्तचापको चाप
मुटुको धमनीमा चाप बढेमा वा रक्त नली साँघुरिएमा उच्च रक्तचाप हुने गर्छ। यसले गर्दा शरीरका सबै अंगमा रगत पुग्न दबाब बढ्ने गर्छ। उच्च रक्तचाप भएमा टाउको दुख्ने, चक्कर लाग्ने र मुटुको धड्कन बढ्ने हुन्छ। यो एक गम्भीर समस्या हो। त्यसैले यसबाट ग्रसित रोगीहरूले रक्तचाप नियन्त्रण गर्ने विषयमा अहिलेदेखि नै सोच्नु आवश्क छ।
उच्च रक्तचापको समस्यालाई जीवनशैली परिवर्तन गरेर, स्वस्थ खानेकुरा खाएर र नून कम गरेर तथा नियमित एक्सरसाइज गरेर नियन्त्रण गर्न सकिन्छ। नियमित रूपमा एक्सरसाइज गर्नाले मुटु फिट हुनुका साथै बलियो हुन्छ। त्यस्तै पौडी पनि रक्तचाप नियन्त्रण गर्ने एउटा काइदा हो। द अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित एक अध्ययनले जनाएअनुसार स्वीमिङद्वारा सिस्टोलिक (माथिल्लो) रक्तचापलाई सजिलै कम गर्न सकिन्छ।
सन् २०१४ मा आर्टेरियोस्क्लेरोसिस, थ्रोम्बोसिस तथा भास्कुलर बायोलोजी एलमा प्रकाशिक एक अध्ययनले जनाएअनुसार मुटुका लागि हिँड्नु पनि निकै राम्रो मानिन्छ। र, यसले मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्न सकिन्छ। रक्तचापको स्तर, आस्टियोपोरोसिस लगायत केही विशेष प्रकारको क्यान्सरलाई पनि हिँडाइद्वारा नियन्त्रण गर्न सकिन्छ। त्यसैले, दैनिक ४० मिनेट हिँड्नुस्, नभए पनि कम्तीमा आधा घण्टा हिँड्नुस् र रक्तचापलाई नियन्त्रित राख्नुस्।
रक्तचाप नियन्त्रण गर्न साइकिलिङ पनि एक प्रभावकारी उपाय मानिन्छ। जर्नल अफ द अमेरिकन हार्ट एशोसिएशनले जनाएअनुसार साइकिलिङद्वारा हामीले आफ्नो रक्तचापलाई नियन्त्रित गर्न सक्छौँ। साथै, कोलेस्ट्रोल, ब्लड ग्लूकोज तथा तौललाई पनि नियन्त्रण गर्न सक्छौँ।
त्यसबाहेक मदिराको सेवन नगरेर वा कम गरेर, धूमपान त्यागेर, कैफिनको सेवन कम गरेर तथा आफ्नो रक्तचाप नियन्त्रण चेकजाँच गरेर पनि उच्च रक्तचापको समस्यालाई कम गर्न सकिन्छ।
प्रतिकृया दिनुहोस