८ वर्षपछि पक्राउ परे भारतमा लुकिछिपी बसेका बालक हत्यारा, सम्पत्ति हडप्न भिनाजुको यस्तो कर्तुत
विराटनगर । मोरङको रंगेली नगरपालिका –४ का १५ वर्षीय बालक उपेन्द्र साहको अपहरणपछि हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले घटना भएको ८ वर्षपछि पक्राउ गरेको छ ।
बालकको अपहरणपछि हत्या गर्ने रंगेली–४ का ४० वर्षीय ठेङवा भनिने रमेश मण्डललाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।
बालकको हत्यापछि भारतमा लुकिछिपी बसेका उनलाई गाउँ आएको मौका छोपेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार २०६७ साल फागुन ८ गते साँझ अमरलाल साहका छोरा १५ वर्षीय उपेन्द्र बेपत्ता भएका थिए ।
लामो समयसम्म खोजतलास गर्दा पनि फेला नपरेका बालकको कंकाल बेपत्ता भएको चार वर्षपछि २०७१ कात्तिक १४ गते फेला परेको थियो ।
प्रनि कार्कीका अनुसार छिमेकी ईनरलाल मण्डलको शौचालयको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा कपडासहितको मानव कंकाल फेला परेपछि अनुसन्धान गर्दै जाँदा उक्त कंकाल उपेन्द्रकै भएको पत्ता लागेको थियो ।
त्यतिबेला बेपत्ता हुँदा लगाएको कपडाका आधारमा मानव कंकाल बालककै भएको खुलेको उनको भनाई छ ।
आफ्नै भिनाजु ४० वर्षीय शम्भु साहको योजनामा बालकको अपहरणपछि हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए ।
उनका अनुसार घटनाको योजना बनाएका भिनाजु शम्भुले रमेशको साथ लिएर बालकको अपहरणपछि हत्या गरेको खुलेको हो । हत्या गरेपछि छिमेकीको सेफ्टी ट्यांकी भित्र शव फ्यालिएको र पछि सफा गर्ने क्रममा कंकाल फेला परेको श्रेष्ठले बताए।
ससुरालीको सबै सम्पत्ति आफ्नो बनाउने प्रपञ्च रचेर शम्भुले ससुरालीमा रहेका एउटा मात्रै सालोको हत्याको योजना बनाएको अनुसन्धानका क्रममा खुलेको थियो ।
शम्भुलाई भने प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । उनी अहिले कारागारमा अदालतले फैसला गरेको २० वर्षे कैद सजाय भुक्तान गरिरहेका छन् ।
घटनामा संलग्न भए पनि लामो समयदेखि फरार रहेका मण्डललाई समेत अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरले २० वर्ष कैद सजायको फैसला सुनाइसकेको छ ।
मण्डललाई २०७३ साल बैशाख २८ गते जिल्ला अदालत मोरङले एक वर्ष पाँच दिनको मात्रै कैद सजाय सुनाएको थियो । उक्त कैद सजाय भने भुक्तान गरेर उनी जेलमुक्त भएका थिए ।
पछि उच्च अदालत विराटनगरले २०७४ साल जेठ ३० गते जिल्लाको फैसलालाई उल्टाउँदै मण्डललाई २० वर्षको कैद सजाय सुनाएको थियो। त्यसपछि भने उनी फरार बनेका थिए ।
प्रनि कार्कीले लामो समयको निरन्तर निगरानी तथा नेपाल–भारत सीमावर्ती क्षेत्रमा आएको हुन सक्ने सूचनाका आधारमा मण्डललाई पक्राउ गर्न सकिएको हो ।
पक्राउ परेका मण्डललाई अदालतमा बुझाइने प्रहरीले जनाएको छ । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ ।
त्यस्तै राहदानी किर्ते मुद्दाकी एक फरार प्रतिवादीलाई पनि प्रहरीले अदालतले दोषी ठहर गरेको सात वर्षपछि पक्राउ गरेको छ ।
मोरङको धनपालथान गाउँपालिका–६ कदमाहकी ४५ वर्षीय प्रमेश्चरीदेवी मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी श्रेष्ठले बताए ।
मण्डललाई जिल्ला अदालत मोरङले २०६८ साल साउन १३ गते एक महिना कैदको फैसला गरेको थियो । कैद फैसलापछि फरार रहेकी उनलाई गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस