आत्म रक्षाको खोजीमा लागे महिला, आत्म रक्षाको तालिममा सहभागीको लाइन
काठमाडौं । पछिल्ला दिनमा महिला हिंसा र बलात्कारका घटना बढ्न थालेपछि महिलाहरु आत्म रक्षाको खोजीमा लागेका छन् ।
बुधबारदेखि काठमाडौंको कपनमा जारी महिला हिंसा विरुद्ध आत्म रक्षात्मक खेलकुद प्रशिक्षण पनि बाल उद्धार माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने एक सय २० जना छात्रा सहभागी भएका छन् ।
आयोजक जिल्ला खेलकुद विकास समिति काठमाडौंको आयोजनामा भइरहेको सो प्रशिक्षण कार्यक्रममा सविना भट्टराई र सविना खड्काले पनि प्रशिक्षण दिइरहेका छन् ।
बिहान दैनिक ३ घण्टा प्रशिक्षण लिइरहेका छन् । आत्म रक्षाका विभिन्न उपायहरुको खोजी गर्न र आत्मबल बलियो बनाउन तालिमले सहयोगी भुमिका निर्वाह गर्ने प्रमुख प्रशिक्षक मोेहन विश्वकर्मा बताउँछन् ।
विभिन्न उपायको खोजी गर्दै अहिले विभिन्न पेशामा लागेका महिला र विद्यार्थी महिला हिंसा विरुद्धका तालिमहरुमा सहभागी बन्न लालायित बनेका छन् ।
त्यसमा पनि विद्यार्थी नै बढी त्यस्ता तालिममा सहभागी बन्ने गरेका छन् । सुरक्षा क्षेत्रमा काम गर्ने महिला, अधिकारकर्मी, पत्रकार, विद्यार्थी, गृहिणीसमेतले भाग लिने गरेका छन् ।
तालिमको लहर बढ्दै
एक हप्ता अघिमात्रै मोरङको विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती दासको बलात्कारपछि हत्या भयो । जुन घटनामा संलग्नको खोजीका लागि आन्दोलन भइरहेको छ ।
साउन १० मा कन्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या । अहिलेसम्म पनि सो घटनामा संलग्नलाई सरकारले कारवाही गर्न सकेको छैन । जसका कारण पटकपटक आन्दोलन भइरहेको छ ।
यो त पछिल्ला केही उदाहरण मात्रै हुन् । प्रहरीका अनुसार निर्मला पन्तको बलत्कारपछि मात्र ६ सय भन्दा बढी बलत्कारका मुद्धा दर्ता भएका छन् । प्रहरीको दाबी छ, ‘हिंसा बढेको होइन, बरु हिंसाविरुद्ध उजुरी बढेको हो । यो पीडितहरुमा हिंसा विरुद्ध निस्कन बढेको हिम्मतको उपज हो ।’
प्रहरी आँकडालाई विश्वास गर्ने हो भने महिलामाथि हुने हिंसाविरुद्ध उजुरी वर्षेनी बढ्दै गएको छ । २०७२/०७३ मा बलात्कारका मात्र १ हजार ८९ उजुरी परेका थिए भने त्यो संख्या गत आर्थिक वर्षमा १ हजार ४ सय ८३ पुगेको छ ।
यसरी नै बारम्बार बलात्कारका घटना भइरहेका छन् । यौन दुव्र्यवहार पनि त्यति नै भइरहेका छन् । त्यही भएर पनि अहिले महिला हिंसा रोक्न विभिन्न उपायको खोजी भइरहेको छ ।
हुम्ला, कालीकोट, कास्की, काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, मोरङ लगायतका ४० भन्दा बढी जिल्लामा १० हजार भन्दा बढी महिलाले सहभागिता जनाइसकेका छन् । पछिल्लो १ महिनामा मात्रै ८ सय भन्दा बढीले सहभागीता जनाइसककेका छन् । यसरी प्रशिक्षण दिने काम गरिरहेका छन् राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षक मोहन विश्वकर्माले ।
उनी अहिले जुन जिल्लाबाट आत्म रक्षाको तालिमको माग हुन्छ, त्यही पुग्ने गरेका छन् । ‘पछिल्ला दिनमा भइरहेका हिंसाका घटना रोक्नु हाम्रो पनि दायीत्व हो’ उनले भने, ‘तालिमको माग भए जहिले पनि र जसरी पनि सिकाउन सकिन्छ ।
केके सिकाइन्छ प्रशिक्षणमा ?
प्रशिक्षणका विधी खासै जटिल छैनन् । सामान्यतयः आफ्नो साथमै रहेका बस्तुबाट पनि आफुलाई सुरक्षित रहन सकिन्छ भन्ने कुरा सिकाइन्छ ।
त्यति मात्रै होइन, विभिन्न टेक्निक र ट्याक्टिस प्रयोग अपराधीको घेरा तोडी आफु कसरी सुरक्षित ठाउँमा पुग्न सकिन्छ भनेर अभ्यास गराइन्छ ।
आफुसँगै भएका विभिन्न बस्तुहरु जस्तै चुरा, चावी, मेकअपका सामान लगायतका विभिन्न बस्तुहरुलाई हतियारको रुपमा प्रयोग गरी कसरी अपराधीलाई आक्रामण गर्ने र समाजमा हुने विभिन्न प्रकारका विभद र हिंसा विरुद्ध लाग्न आफुलाई मानसिक र शारिरीक रुपमा आफुलाई तयारी अवस्थामा राख्दै हिंसा विरुद्धको अभियानमा आवाज बुलन्द गर्न सक्षम बनाउन सिकाइन्छ ।
दिनप्रतिदिन महिलाहरु माथि भइरहेको यौन जन्य हिंसा र बलात्कारका विरुद्धमा महिलाहरुलाई शारीरिक र मानसिक रुपमा तयार गर्ने वातावरण बनाइन्छ ।
आफुमाथि कुनै पनि प्रकारका हिनताबोधको अन्त्य गराई आक्रमण गर्नेलाई प्रतिरोध गर्न सक्ने बनाउने र आफुमाथि हिंसा वा बलात्कार हुँदैछ भन्ने कुराको पूर्व जानकारी लिनसक्ने बनाइन्छ ।
प्रतिकृया दिनुहोस