बलत्कारजस्ता जघन्य हिंसा बढ्दै जुम्लामा
जुम्ला । जुम्लामा पछिल्लो समय घरेलु हिंसा बढ्दै गएको छ । समाजमा पुरुषले मदिरा सेवन गरी महिलामाथि यातना दिन थालेपछि न्याय माग्दै महिलाहरू जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा पुग्ने गरेका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४५ घरेलु हिंसाका निवेदन दर्ता भएको केन्द्रले जनाएको छ । केन्द्रमा परेको उजुरीमध्ये ३७ को मिलापत्र भएको र छ वटा अदालती प्रक्रियामा रहेको प्रहरी हवल्दार विमला कुँवरले बताए । दुई निवेदनका व्यक्ति सम्पर्कमा नआएको उनको भनाइ छ । गालीगलौज र कुटपिट गरेका उजुरी बढी आउने गरेको कुँवरको भनाइ छ । घरेलु हिंसाबाट चालु आर्थिक वर्षको हालसम्म ४५ महिला पीडित भएका छन् । प्रहरी हवल्दार कुँवरका अनुसार अपराधको सूचना प्रहरीमा आउनेक्रम बढेसँगै समुदायमा कानूनको पहुँच बढेको बताउछन् ।
विसं २०६६ मा जारी भएको घरेलु हिंसा कसुर तथा सजाय ऐनले शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ । ऐनले अपराध प्रमाणित भएमा रु तीन हजारदेखि रु २५ हजारसम्म जरिवाना वा छ महीनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । चालु आवमा सामाजिक हिंसाको ३८ र जबर्जस्ती करणीको सात उजुरुप्रिहरीमा दर्ता भएको कुँवरको भनाइ छ ।
बलात्कारलगायतका घटना बढिरहँदा इन्टरनेटका यौनजन्य अश्लील सामग्रीमाथि प्रतिबन्ध लगाउनुपर्ने उनले बताए । महिला हिंसाका घटना बढ्नुमा त्यस्ता सामग्रीमाथिको सहज पहुँच कारक रहेको ठहर गर्दै उनले इन्टरनेटका माध्यमबाट अपराधका नयाँनयाँ रूप भित्रिएको बताए । दण्डहीनताका कारण अपराधलाई सामान्यरूपमा स्वीकार्न समाज अभ्यस्त बन्दै गएको अधिवक्ता देवेन्द्रराज शर्माको टिप्पणी छ । उनका अनुसार अपराधीले सफाइ पाएका एकरदुई उदाहरणले पनि आपराधिक मनोवृत्तिलाई मलजल गरिरहेको छ ।
प्रहरीका अनुसार मदिराका कारण घरेलु हिंसा बढी देखिएको छ । मदिरालाई व्यवस्थित र नियन्त्रण गर्न नसक्दा समस्या बढेको छ । जिल्ला प्रहरी कार्यालयसम्म आउने अधिकांश घरेलु हिंसाका घटना मिलापत्रमै टुङ्गिने गरेका छन् ।
प्रतिकृया दिनुहोस