बहुगुणी तरुलमा पनि नेपाल अझैं परनिर्भर !
काठमाडौं । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । बहुगुणी तरुल पनि छ ।
तरुल निकै पोषिलो र बहुउपयोगी खाद्य पदार्थ हो । तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, खनिज र भिटामिन पाइन्छ । तरुललाई खानाकै रुपमा खान सकिन्छ । खानाको रुपमा प्रयोग गरिने चामलभन्दा तरुलमा बढी पोषक तत्व हुन्छ । तर, सर्वसाधारणमा कम जानकारी भएकाले तरुलको भरपुर उपयोग हुन सकेको छैन ।
तर, तरुलमा पनि नेपाल अझैं परनिर्भर छ । उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये करिब दुई करोड रुपैयाँको सिम्मल (तराई जातको) तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको छ ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार यो वर्षको पुस २५ गतेदेखि ३० गतेसम्ममा करिब दुई हजार पाँच सय टन विभिन्न प्रकारका तरुलको कारोबार भएको छ । अघिल्लो वर्ष सीमित बजारबाट १३ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो । यो वर्ष गत वर्षभन्दा ४० प्रतिशतले कारोबार बढेको महासंघको तथ्यांकले देखाउँछ ।
तरुलको मुख्य कारोबार हुने स्थल कालिमाटी तरकारी बजार हो । यो बजारमार्फत ६ दिनमा साढे १० करोड मूल्यको तरुल बिक्री भएको छ । गत वर्ष कालिमाटी बजारमा सात सय टनका हाराहारीमा तरुल कारोबार भएको थियो । बाँकी बल्खु बजारबाट पाँच सय ५०, बानेश्वर बजारबाट ८०, जडिबुटी बजारबाट ६०, बालाजु बजारबाट सय र टुकुचा बजारबाट ८० टनको हाराहारीमा तरुलको कारोबार भएको छ ।
तरुलबाट विभिन्न प्रकारका परिकार बनाएर खान सकिन्छ । उसिनेर नुन र खुर्सानीसँग चोपेर खाजाको रुपमा खान सकिन्छ । तरकारी र अचारको रुपमा पनि उपभोग गर्न सकिन्छ । तरुललाई सुकाएर पाउडर बनाउन सकिन्छ । यस्तो पाउडरको प्रयोग गरी पाउरोटी, केक, रोटी, चाउचाउ र मिठाई बनाएर पनि खान सकिन्छ ।
पछिल्लो ४–५ वर्षयता तरुलको व्यापार निकै फस्टाएको छ । पहिले खान नरुचाउने उपभोक्ता पनि स्वास्थ्यका लागि लाभदायक मानिने तरुलका परिकारमा पल्केका छन् । यो वर्ष धादिङ, नुवाकोट, दोलखा, चितवन, काभ्रे, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङजा, गोरखा, नवलपरासी, ललितपुर लगायतका जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल उपत्यका भित्रिउको छ ।
बजारमा अत्यधिक महँगो मानिएको वन तरुलसहित घर तरुल, हात्ती पाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल, सर्लाही तरुल, तराई तरुल नामका तरुलको कारोबार भइरहेको छ । उपत्यकामा हुने तरुलको कूल कारोबारमध्ये झण्डै ८० प्रतिशत सर्लाहीबाट भित्रिन्छ । बाँकी २० प्रतिशतमा भारत र स्वदेशकै अन्य जिल्लाको उत्पादनले हिस्सा ओगटेको छ ।
प्रतिकृया दिनुहोस