माघीमय बन्न थाल्यो बाँके र बर्दियाका थारू बस्ती

Tharu maghi

बाँके । थारूहरुको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले रौनक छाएको छ ।

थारू युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार पार्न व्यस्त छन् । नयाँ वर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल शुरु भइसकेको छ ।

‘माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछौं’, वैजनाथ गाउँपालिका–१ चिसापानीकी फूलमती चौधरीले भनिन् । एक महीना अघिदेखि नै माघीको तयारी गर्ने उक्त समुदायमा अनदी चामलको गुलियो जाँड, रक्सी बनाउनाका साथै दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने गरिन्छ ।

पुसको अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने यस पर्वमा पुरानो वर्षलाई बिदाइ नयाँ वर्षलाई स्वागत गर्न रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवाहरु बताउँछन् । यो पर्वमा थारू समुदायले विगतको गतिविधिको समीक्षासमेत गर्ने गर्छन् ।

माघीमा मिठा खानेकुरा खाने र नाचगान गरी रमाउने चलन छ । ‘माघी पर्वसँगै थारू समुदायमा विधिवत रूपमा विवाह, अंशवण्डालगायत कार्यको थालनी हुन्छ’, चिसापानीका राजकुमार चौधरीले भने, ‘यस दिन बालबालिकादेखि वृद्धवृद्धासम्म आपसी विवाद त्यागेर आफन्त, इष्टमित्रलाई भेटघाट गरी ढिक्री, मासु, तरुललगायत परिकार खाने– खुवाउने र नाचगान गरी रमाउँछन् ।’

माघी पर्व नै थारू समुदायको मुख्य पर्व भएकाले यसलाई तामझामका साथ मनाउने गरिएको बाँके टिटिहिरियाका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए । माघीमा आफन्तहरु आउने भएकाले उनीहरुको सत्कारका लागि सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

माघ महीनामा थारू समुदायमा घर फुट्ने, जग्गा अधियाँ लगाउने नलगाउने, बडघर बस्ने नबस्ने, चौकीदार हेरफेरजस्ता महत्वपूर्ण योजना बनाउने गर्दछन् । माघ १ गतेको बिहान २ बजेदेखि नजिकैको खोला तथा नदीमा नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने चलन थारू समुदायमा छ । पछिल्लो समय माघी पर्वलाई भव्यरूपमा मनाउन ‘थारू महोत्सव’ समेत आयोजना गर्नसमेत थालिएको छ ।

‘माघीमा आफन्तहरुको सत्कारका लागि सम्पूर्ण तयारी पूरा गर्नुपर्ने परम्परा रहेकाले त्यसको तयारीसमेत गरिरहेका छौं । जाँड, रक्सी र घर लिप्नेजस्ता सबै तयारी सकिएकोे छ’, बाँके फत्तेपुरकी फूलमती थारूले भनिन्, ‘घरमा धेरै आफन्तहरु एकै ठाउँमा जम्मा भएर मनाउने योजना छ ।’

माघी पर्व नै थारू समुदायको मुख्य पर्व भएकाले यसलाई तामझामका साथ मनाउने तयारी गरिएको बर्दिया ठाकुरबाबा नगरपालिका–३ मिर्चैयाका हरिप्रसाद थारूले बताए । विदेशमा कमाउन गएका थारू युवा पनि माघी मनाउन घर फर्किएका छन् ।

सबैतिर माघीको तयारी चलिरहेको स्थानीयवासी हरिप्रसाद चौधरीले बताए । ‘गाउँमा साथीहरु मिलेर रमाइलो गछौैँ”, उनले भने, ‘गाउँमा माघीको रौनकले विगतका पीडा भुलाइदिएको छ । टाढाटाढाबाट आएका साथीभाइको जमघटले निकै रमाइलो भएको छ ।’

घोँगी बेच्न भ्याइनभ्याई
माघी पर्व शुरु भएसँगै राजापुर नगरपालिका–८ बर्दियाका प्रकाश थारूलाई अहिले घोँगी किन्नेहरूको फोन आइरहन्छ । पर्व माघी आउन केही दिन मात्र बाँकी हुँदा घरायसी प्रयोग तथा मेला, महोत्सवमा बिक्री गर्नका लागि घोँगीको माग अत्याधिक हुन्छ । माघ अधिक भए पनि अत्यधिक चिसोका कारण भनेजस्तो घोँगी भेटाउन नसकिएको उनले बताए ।

‘घोँगी पठाइदिनुप¥यो भन्दै दिनदिनै फोन आइरहन्छ तर पु¥याउनै सकेको छैन’, प्रकाशले भने, ‘यसपालि भनेजस्तो घोँगी भेटृाउन सकिएको छैन ।’ तीन वर्षदेखि घोँगीको कारोवार गर्दै आएका उनले आफ्नै तलाउबाट घोँगीको जोहो गर्छन् । थारू समुदायमा घोँगीको परिकारलाई विशेष मानिन्छ । स्वास्थ्यका लागि उपयोगी मानिने घोँगी पछिल्लो समय हरेक समुदायले रुचाउने गरेका छन् ।

होमस्टे तथा रेष्टुरेण्टबाट समेत माग हुन थालेपछि घोँगीबाट राम्रै आम्दानी हुन थालेको छ । प्रकाशले भने, ‘तीन वर्षअघि घोँगीको प्रतिकेजी ३० मूल्य भएकामा अहिले १ सय ५० पुगेको छ ।’

गाभर होमस्टे सञ्चालक एवं होमस्टे एशोसिएसन प्रदेश नं ५ का सचिव कृष्ण चौधरीले घोँगीको बिक्रीबाट स्थानीयवासीले आम्दानी गर्दै आएको बताए ।

स्थानीय गोचाली रेष्टुरेन्टमा घोँगीको परिकार खान आउनेहरुको भीड लाग्छ । सामान्य अवस्थामा पनि दैनिक दुई केजीसम्म घोँगीको परिकार बिक्री हुने गरेको गोचाली रेष्टुरेन्टका सञ्चालक सोम डेमनडेउराले बताए ।

उस्तै चर्चा
थारू बस्तीमा माघीको चहलपहल शुरु भएसँगै सामाजिक सञ्जालको फेसबुक, ट्वीटरका वालहरुमा माघीकै चर्चा छ । कसैले ‘माघी महोत्सव’ भनेर प्रचार गरिरहेका छन् भने कसैले ‘माघी मिलन कार्यक्रममा उपस्थितिका लागि’ भनेर आमन्त्रण गरिरहेका छन् ।

सामाजिक सञ्जालहरु थारू समुदायको महान् पर्व माघीको अवसरमा दिइएका शुभकामना सन्देशहरुले रङ्गिएका छन् ।

थारू समुदायको आफ्नै मौलिक लोकसंस्कृतिको जगेर्ना गर्न सबैलाई एकजुट हुन आग्रह गर्दै फेसबुक वालमा शुभकामना सन्देशहरु आइरहेका छन् ।

थारू अधिकारकर्मी सुशील चौधरीले फेसबुकमा लेखेकी छन्, ‘२०६२/६३ को परिवर्तनपछि माघी महोत्सवले निरन्तरता पाउँदै आएको छ । खासगरी थारू सघन जिल्ला र बस्तीमा यसलाई सांस्कृतिक उभार मान्नुपर्ला । यस्ता सांस्कृतिक पहलले आर्थिक तथा सामाजिक विकास र सद्भाव वृद्धि एवं पहिचानको सार्थक प्रवद्र्धनका लागि सघाउनुपर्छ ।’

होमस्टे एशोसियन नेपाल (होसान) प्रदेश नं ५ का सचिव तथा गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालन कृष्णलाल चौधरीले फेसबुक वालमा लेखेका छन्, ‘माघी एक अनौठो पर्व, सबै नेपालीको महान् पर्व, हरेक गाउँशहरमा माघी मेला र महोत्सव, अब थारू समुदायको मात्र रहेन माघी पर्व । त्यसैले यो महान पर्व माघीको शुभकामना !’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...