बेरोजगारीको सीमा नाघ्यो, देशभर झन्डै ४९ हजार नर्स बेरोजगार

काठमाडौं । देशमा नर्सहरूको बेरोजगारीले सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् ।
काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसकेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १२ हजार नर्स मात्रै कार्यरत छन् ।
निजी स्वास्थ्य संस्थामा करिब १३ हजार कार्यरत छन् । परिवार कल्याण महाशाखा नर्सिङ शाखाकी कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको यकिन तथ्यांक नभएको बताउछन् ।
सरकारीको पनि ठ्याक्कै तथ्यांक भने छैन । मन्त्रालयले पहिलोपटक गरिरहेको कर्मचारीको विवरण संकलन सकिएपछि नर्सको आधिकारिक तथ्यांक आउने अर्यालको भनाइ छ । मन्त्रालयका अनुसार करारबाहेक रिक्त दरबन्दी दुई हजार नौ सय ४५ खाली छ ।
विश्व स्वास्थ्य संगठनले प्रतिहजार जनसंख्याबराबर २.५ अर्थात् कम्तीमा तीनजना नर्स आवश्यक पर्ने बताएको छ । तर, नेपालमा भएका २५ हजार नर्स र नेपालको कुल जनसंख्यालाई आधार बनाउँदा एक हजार जनसंख्यालाई एउटा नर्स पनि भाग पुग्दैन ।
हाल २५ हजार नर्सले २ करोड ६४ लाखभन्दा बढी जनसंख्यालाई सेवा प्रवाह गरिरहेको अवस्था छ । छिमेकी मुलुक भारतमै प्रतिहजार जनसंख्यामा दुई नर्स छन् । भुटानमा १, श्रीलंका २, चीनमा २, बेलायतमा ९, अमेरिकामा १०, अस्ट्रेलियामा ११ र जापानमा ११ नर्स एक हजार जनसंख्याको भागमा पर्छन् ।
प्रतिकृया दिनुहोस