कमाउने छोरो बाकसमा आएपछि परिवारको विचल्ली
काठमाडौ । सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ।
त्यही घरभित्रबाट ‘मेरो बाबा आउँछ’ भन्ने तोते आवाज सुनिन्छ, बाहिर दलानमा कहिले नाबालककी आमा त कहिले हजुर आमा मुर्छा पर्दै बिउँझन्छन्।
कमाउन गएको छोरो १० महिनामा बाकसमा आउँदा कसको मनले थेग्ला? सबैका आशाका केन्द्रबिन्दु ढलेपछि यतिबेला श्रीपुरका सार्कीबहादुर मगरको परिवार शोकमा मात्र छैन, यसपछि गुजारा कसरी चलाउने भन्ने चिन्तामा छ।
२६ वर्षको लक्का जवान जसले सात समुद्रपारिको भूमिमा प्रचण्ड घामको बेवास्ता गर्दै दुःख गरेर घरमा पैसा पठाउला र बाँडीचुँडी खाउला, अलिक हेर्न हुने भए पनि घर बनाउला, स्वास्थ्य उपचार गरौँला र भाइबहिनी र छोराको शिक्षामा लगानी गरौंला भन्ने सोच बनाएका मगर परिवारको त्यो कल्पना अब सपनामा मात्रै सीमित बनेको छ।
१० महिनाअघि काठमाडौंको एक म्यानपावरबाट हेल्पर काम गर्न मलेसिया पुगेका रतन मगरको दसैँको टीकाको दिन मृत्युको खबर आएपछि परिवार यतिबेला विक्षिप्त छ।
दसैंको टीकाको दिन विदेशमा बसेको छोराले फोन गर्ला भन्ने परिवारले आशा गरिरहेका थिए, त्यो स्वाभाविक पनि थियो । स्वदेशमै हुँदा त चाडबाडको बेला घरमा आउन नसक्दा फोनबाट दुःखसुखका कुरा हुन्छ । झन् विदेशमा रहेकाको नहुने कुरै भएन
।
कति बेला बुढाको फोन आउला र खुसी साटासाट गर्दै सबै कुरा गरौंला भन्ने सोचमा रतनकी २३ वर्षीया श्रीमती मीना थिइन् । त्यसो त उनी मात्र होइन, उनकी ५५ वर्षीया सासू मंगलीमाया मगरको पनि त्यही सोच थियो।
टीकाको दिन छोरासँग कुरा गरौंला भन्ने उनको चाहना थियो । उनीसँगै परिवारका अन्य सदस्यको चाहना पनि उही थियो । तर, त्यो चाहना पूरा हुन सकेन।
टीकाको समय सुरु हुँदै गर्दा मीनाको मोबाइलमा टिनिनिनी बजेको घण्टी उनीहरुका लागि बलेको दियो एक्कासि निभे जस्तो भयो । रतनको एक्कासि मृत्युको खबर आउँदा सुरुमा त पत्यार लागेन उनीहरूलाई।
तर, नलाग्दा नलाग्दै पनि घरमा कोलाहल मच्चियो, जब पुष्टि भयो, त्यतिबेलासम्म आमा र श्रीमती मुर्छा परिसकेका थिए।
आधाभन्दा बढी जीवन व्यतीत गर्न बाँकी रहेकी मीना तीन वर्षीय छोरो काखमा लिँदै भन्छिन्, ‘राम्रोसँग बुबा पनि भन्न नपाई टुहुरो हुनुप¥यो । के गर्नु, यसको भाग्यमा नै बुबा भन्ने नाता यति नै रहेछ । अब यसको पालनपोषण र शिक्षादीक्षा कसले गर्देला?’
उनी थप्छिन्, ‘म त जसोतसो बाँचुँला, कहिले खाउँला, कहिले भोकै रात बिताउँला तर यो बच्चालाई कसरी जिउने बनाऊँ।’ साक्षर मात्र रहेकी मीनासँग न कुनै सिप छ, न शैक्षिक योग्यता । केवल मजदुरी गर्ने बाहेक उनीमा अरू केही उपाय छैन ।
साहुको ऋण काटेर सबै गरी १ लाख ७० हजार रुपैयाँ खर्च गरेर बिदेसिएको छोरो ऋण तिर्न नपाई ज्यान गुमाएपछि मगर परिवार यतिबेला संकटमा छ। (राजधानी)
प्रतिकृया दिनुहोस