घरेलु मैदानमा पोखराको सुखद सुरुवात, विराटनगर पराजित

पोखरा । पोखरा प्रिमियर लिगमा घरेलु टिम पोखरा पल्टनले विजयका साथ प्रतियोगिता सुरु गरेको छ ।
पोखरा आजदेखि सुरु प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको छ ।
शुक्रबार पोखराले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो ।
निकै आक्रामक सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । उसका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएपछि पोखराले पहिलो विकेट गुमायो । नयाँ पीचमा पहिलो पटक खेलेको पोखराका लागि भारतीय खेलाडी रवी इन्दोर र आशिफ शेखले ९४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।
बलिङमा पोखराका ललितनारायण राजवंशीले ३ विकेट लिए । मेहबुब आलाम, कृष्ण कार्की, रासिद खान, विक्रम भुषाल र शरद भेषवाकरले १/१ विकेट लिए ।
खराब ओपनिङ गरेको विराटनगरका ओपनरद्वय प्रदीप ऐरी १० रन र सुनील धमला ११ रनमा आउट भए । यस्तै जितेन्द्रसिंह ठकुरी पनि १० रनकै झिनो स्कोरमा आउट भए ।
राजु रिजालले ३० रनको योगदान गरे । उनले २७ बलमा समान २–२ चौका र छक्का प्रहार गरे । भारतीय ब्याट्सम्यान एन्ड्रीउ सुविक्षण १४ रन र राजेशपुलामी मगर ७ रनमा आउट भए । पुष्प थापाले ३० रन बनाए। उनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । जितेन्द्र मुखिया ६ रनमा आउट हुँदा सन्दीप लामिछानेले नटआउट १४ रन जोडे ।
त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९७ रन जोड्यो । बलिङमा विराटनगरका सन्दीप लामिछानेले २ विकेट लिए । १ विकेट साहब आलामलाई हात पारे ।
प्रतियोगिताअन्तर्गत शनिबार चितवन टाइगर्स र बुटबल ब्लास्टर्सबीच ९ बजे हुनेछ । दोस्रो खेलमा धनगढी र काठमाडौं रोयल्स भिड्नेछन् ।
प्रतिकृया दिनुहोस