एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने

काठमाडौं । अर्को वर्ष आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ । विश्वकप ट्रफी बंगलादेश हुँदै सातौं राष्ट्रका रूपमा नेपाल प्रवेश गर्न लागेको हो ।
ट्रफीलाई हालसम्म ओमन, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश गरी ६ राष्ट्रको भ्रमण गराइसकिएको छ । आईसीसी विश्वकपको १२औं संस्करण सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ ।
आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो । फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ । सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो ।
विश्वकप सुरु हुनुअघि विश्वव्यापी रूपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले आईसीसीले पाँचवटै महादेशमा ट्रफी टुर गराउन लागेको हो । आगामी शुक्रबार बंगलादेशबाट ट्रफी नेपाल ल्याइने सम्भावना छ ।
नेपाल भ्रमणका क्रममा ट्रफीलाई काठमाडौंसहित पोखरा पनि लगिने बताइएको छ । आईसीसीले सम्भव भएसम्म ट्रफीलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुर्याउने योजना बनाएको छ ।
नेपालबाट भारत लगिने छ । भारतपछि न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स र जर्मनी हुँदै आगामी फेब्रुअरी १९ तारिखमा विश्वकप आयोजनास्थल इङ्ल्यान्ड र वेल्स लगिने आईसीसीले जनाएको छ ।
आईसीसीले द्रुत गतिमा क्रिकेटको विकास भइरहेका नेपालसहित ११ राष्ट्रमा पहिलो पटक विश्वकप ट्रफी टुर गराउन लागेको हो । आगामी आईसीसी विश्वकपमा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इन्डिज, न्युजिल्यान्ड, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान गरी १० वटा राष्ट्रको सहभागिता रहने छ ।
प्रतिकृया दिनुहोस