उखु किसानको रकम तिर्न नसक्ने सरकारलाई उद्योगीको जवाफ
काठमाडौं । चिनी उद्योगीहरुले सरकारको निर्देशन पालना गर्न आनाकानी गरेका छन् । उनीहरुले पाँच दिन भित्र किसानको उखुको मूल्य भूक्तानी दिनुपर्ने सरकारको निर्देशनप्रति आपत्ति समेत जनाएका छन् ।
पाँच दिनभित्र किसानहरुको बक्यौता रकम तिर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशन आपत्तिजनक भएको चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।
अध्यक्ष अग्रवालले २५ प्रतिशत चिनी बिक्री हुँदा आफूहरुले किसानहरुलाई ६२ प्रतिशत भुक्तानी गर्दा पनि सरकार र संसदीय समितिले असन्तुष्टि जनाएकोमा पनि आपत्ति जनाए ।
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको मंगलबार बसेको बैठकमा उनले चिनीको बक्यौता रकम तीर्न सरकारले आफूहरुको गोदाममा थन्किएर बसेको चिनी साल्ट ट्रेडिङमार्फत् खरिद गर्ने व्यवस्था गर्नुपर्ने सर्त पनि अघि सारेका छन् ।
किसानहरुको १ अरब ५० करोड बक्यौता रकम तिहारपछि मात्रै तिर्ने गरी गरिएको सहमति पनि सरकारले तोडेको अध्यक्ष अग्रवालको आरोप छ । संघले चिनीको मूल्य बृद्धि नभएको दावी पनि गरेको छ । गत वर्ष प्रतिकेजी ६३ रुपैयाँमा बिक्री गरिएको चिनीको मूल्य यस वर्ष ५७ रुपैयाँ कायम भएको अग्रवालको दाबी छ ।
बैठकमा उपसमितिका सदस्यहरुले चिनीको मूल्य किन बढाएको भन्दै चिनी उत्पादकहरुको चर्को आलोचना गरेका थिए । जवाफमा उनले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तिएपछि स्वदेशी उद्योगलाई जोगाउन आफूहरुले केही समयका लागि सरकारलाई चिनीको आयातमा प्रतिबन्ध गराउन आग्रह गर्नु परेको पनि समितिलाई स्पष्टिकरण दिए ।
प्रतिकृया दिनुहोस