‘मलाई मेरो कान्छो बुबाले तेरो मृत्युको खबर यसरी आइरहेको छ, फेसबुक देखाउनुभयो’
कञ्चनपुर । निर्मला पन्तको बलात्कार र हत्याका वास्तविक दोषी पत्ता लगाउनुपर्ने माग गर्दै चर्केको आन्दोलनमा भदौ ८ गते प्रहरीको गोली लागेर १ जनाको मृत्यु भयो ।
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा मृत्यु हुनेको नाम चेतन भट्ट भनेर आयो । धेरैले आफ्नो फेसबुकवालमा उनको तस्बिर राखेर श्रद्धाञ्जली दिँदै ‘अलबिदा चेतन’ पनि भन्न भ्याए ।
भीमदत्त नगरपालिका-१८ जानकीटोलका १४ वर्षीय चेतन भट्टले पनि आफ्नो मृत्युको खबर सुने । तिनै चेतन अहिले निर्मला घटनाका विषयमा महेन्द्रनगरमा हुने जुनसुकै आन्दोलन र विरोध कार्यक्रममा सहभागी भइरहेका छन् ।
महेन्द्रनगरकै भृकुटी उच्चमाविका कक्षा ८ का विद्यार्थी चेतन निर्मलालाई राम्ररी चिन्थे । त्यसैले उनी सुरुदेखि आन्दोलनमा संलग्न थिए । भदौ ८ गते उनी महेन्द्रनगर बसपार्कको पूर्वपट्टी प्रदर्शनमा थिए ।
उनीसँगै पढ्ने २०र२५ जना विद्यार्थी पनि थिए । त्यहीबेला जिल्ला प्रशासन कार्यालयमा खटिएका प्रहरीले चलाएको गोली लागेर सनी खुना लगायतका व्यक्तिहरु घाइते भएका थिए । गोली चलेपछि भीड तितरवितर भयो ।
‘जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै हामी ५ जना साथी थियौं,’ चेतनले भने, ‘अचानक मेरो बायाँ पाखुरामा जोरले ढुंगा हानेजसरी दुख्न थाल्यो ।’ उनलाई गोली लागेको थाहै भएन । गोलीको छर्रा लागेका साथीभाईलाई सुरक्षित ठाउँतिर पुर्याउन लागे । जब रिंगटा लागेर आफैं ढले त्यसपछि मात्रै उनले गोली लागेको थाहा पाए ।
‘राजमार्गबाट तरकारी बजारसम्म आफैं हिडेर गएँ,’ चेतनले भने, ‘त्यसपछि एकजना आफन्त भेटिए, उनले नै अस्पताल पुर्याए ।’ अस्पतालमा चेतनका आमा बुबा र आफन्तहरु पुगिसकेका थिए । महाकाली अञ्चल अस्पतालमा प्रारम्भिक उपचार गरी उनलाई धनगढी रेफर गरियो । धनगढी जाने क्रममा चेतनलाई सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरुमा आएको उनको मृत्युको खबरबारे थाहा भयो ।
‘मलाई मेरो कान्छो बुबाले फेसबुक देखाउनुभयो( तेरो मृत्युको खबर यसरी आइरहेको छ भनेर,’ उनले भने । भोलिपल्ट केही पत्रपत्रिकामा समेत चेतनकै नाम छापिएको थियो । फोटो भने सनी खुनाको थियो । अर्को दिन उक्त खबर सच्याएर आएको चेतन सम्झिन्छन् । चेतनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय भित्रबाट चलाएको गोली लागेको हो । त्यस दिन मृत्यु भएका सनी खुनालगायतलाई भने जिल्ला प्रशासन कार्यालय नजिकैबाट चलाएको गोली लागेको उनले बताए ।
चेतनका बुबा पदमराज भट्ट निर्माण व्यवसायी हुन् । आमा पुनम गृहिणी । उनी प्राय बिरामी भइरहन्छिन् । ‘त्यतिबेला धेरैले फोन गरेर मलाई नै भने, तेरो त यस्तो खबर आयो,’ उनले भने, ‘कतिपय आफन्त त रुँदै फोन गर्थे, म नै बोलेपछि शान्त हुन्थे ।’
धनगढीस्थित सेती अञ्चल अस्पतालमा ५ दिन उपचारपछि चेतनलाई काठमाडौं लगियो । काठमाडौं शिक्षण अस्पतालमा पनि उनले ४ दिन उपचार गराए । अहिले उनको बायाँ पाखुरामा गोलीका छर्रा छन् । शिक्षण अस्पतालमा सुरुमा राम्रो उपचार भए पनि अहिले फलोअपमा जाँदा लापरबाही हुने गरेको उनले बताए ।
पाखुरामा रहेका छर्रा निकाल्न डाक्टरले अप्रेशन गर्नुपर्ने बताएका छन् । सरकारले घाइतेको सम्पूर्ण उपचार खर्च व्योहोर्ने भने पनि स्थानीय प्रशासनले फलोअपमा जाँदा लाग्ने टिकट तथा उपचार खर्च दिन नमानेको उनले बताए ।
‘अब आफैं टिकट काटेर आफ्नै खर्चमा उपचार गर्नुपर्छ भनेको छ,’ चेतनले भने, ‘टिचिङमा पनि सुरुकोजस्तो उपचार नहुने भएकाले अप्रेसन अर्को अस्पतालमा गर्ने सोच बनाएको छु ।’ उनको बायाँ हात पुरै झिनिनी गरेर दुखिरहन्छ । भित्र छर्रा भएकाले अप्रेसन नगरेसम्म यो समस्या निको नहुने भएकाले जतिसक्दो चाँडो अप्रेसन गर्नुपर्ने डाक्टरले सुझाव दिएको उनले बताए । गोली लागेको डेढ महिना भइसक्यो । अझै बलत्कारी र हत्यारा पत्ता लागेको छैन । ‘निर्मलाले न्याय नपाएसम्म म आन्दोलनमा सहभागी भइरहन्छु,’ उनले भने ।
प्रतिकृया दिनुहोस