माओवादीले वेपत्ता बनाएका एमाले कार्यकर्ता डाँगीको पन्ध्र वर्षपछि अन्त्येष्टि
नेपालगञ्ज । पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ । तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएनन् । परिवारले उनी आउने बाटो कुर्न भने छाडेनन् । पन्ध्र वर्ष बित्यो डाँगी फर्किएनन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयाका डाँगी परिवारमा अहिलेसम्म पनि द्वन्द्वले बनाएको घाउ निको भएको छैन । घरमूली फर्किने आशामा लामो समयदेखि बाटो हेरेर बसेको डाँगी परिवार अन्ततः निराश बन्यो । घरमूली फर्किने आश त्याग्दै डाँगीको धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यो ।
डाँगी परिवारले लालबहादुर फर्किने आशा मार्दै कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेको छ । ‘बुबा फर्किने आशामा १५ वर्ष बित्यो, न बुबा फर्किनुभयो, न त उहाँको केही खबर नै प्राप्त भयो । त्यसैले हामी अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यौँ,’ लालबहादुरका जेठा छोरा प्रेमप्रकाशले भने ।
विसं २०६० असोज २ गते अपहरणमा परेका लालबहादुरको परिवारले सास र लास दुवै खोजी ग-यो । केही पत्तो लागेन । ‘यत्तिका वर्ष बित्दासम्म बुबाको जति खोजी गरे पनि केही खबर पाउन नसकेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि ग-यौं,’ प्रेमप्रकाशले भने । उनका अनुसार गाउँ नजिकै रहेको राप्ती नदीको घाटमा कुशको प्रतिमा बनाएर डाँगीको अन्त्येष्टि गरी काजक्रिया शुरु गरिएको छ ।
तत्कालीन नेकपा एमालेका सक्रिय कार्यकर्ता लालबहादुरलाई तत्कालिन माओवादी कार्यकर्ताले घरबाटै अपहरण गरेर बेपत्ता पारेपछि लामो समयसम्म अवस्था पत्ता लगाउन खोजी गरे पनि सफल नभएको लालबहादुरका कान्छा छोरा ओमप्रकाशले बताए । उनले भने ‘बुवा जीवित हुनुहुन्छ भन्ने आशा मरिसकेपछि अन्त्यष्टि गर्ने निष्कर्षमा पुग्यौँ ।’ हरेक वर्ष बेपत्ता भएको मिति नजिक आउँदा डाँगी परिवारमा लालबहादुर फर्किने आशा जाग्थ्यो । ‘परिवारका सदस्यका आँखामा बुबा बल्झिँदै आउँदा फर्किनुहुन्छ भन्ने आशा पनि लाग्थ्यो’ ओमप्रकाश भन्छन् ।
लालबहादुरको दाहसंस्कारको प्रक्रियापछि उहाँका श्रीमती गणमति र दाजुभाइ प्रेमप्रकाश र ओमप्रकाश क्रियामा बसेका छन् । तत्कालीन स्थानीय शान्ति समिति बाँकेको तथ्याङ्कअनुसार जिल्लाभर बेपत्ता हुनेको सङ्ख्या १२१ जना रहेको छ ।
प्रतिकृया दिनुहोस