नजिकिँदो चाडबाडसँगै यसरी हुँदैछन् चोरीका घटना
काठमाडौं । चाडपर्वका समयमा चोरीका घटना बढ्ने भएकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ । तै पनि चोरीका घटनामा वृद्धि भएका छन् । चाडपर्वमा अधिकांश मानिसका आर्थिक गतिविधि बढेर जान्छन् । हाम्रा सामान्य असावधानीले घर वा साथमा भएका नगद तथा गहना लुटिने, चोरिने गर्दछ ।
केही दिन यता लुटपाटका घटनामा समेत वृद्धि भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरुबाट आइतबार विभिन्न धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।काठमाडौं शंकरापुर नगरपालिका–३ लप्सीफेदी बस्ने सुवर्ण श्रेष्ठको घरबाट कोही नभएको अवस्थामा सुनका गहना १.५ तोला र नगद २१ लाख चोरी भएको छ ।
काठमाडौं महानगरपालिका–१६ नर्सरी चोक बस्ने ४५ वर्षीय उद्धव निरौलाको घरबाट कोही नभएको अवस्थामा करीब १ लाख ४२ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ ।
बुढानिलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीस्थित लक्ष्मी शर्मा बरालको घरबाट १ थान ल्यापटप, १ थान टिभी र नगद ४ हजार समेत गरी करीब १ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित डेरा गरी बस्ने रामेछाप सुनापती गाउँपालिका–३ घर भएका सुजित घिसिङको कोठाबाट १ थान सुनको सिक्री र जापानी ऐन ७५ हजार गरी करीब १ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यस्तै, गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती नौतलेस्थित हरि कुमार खत्रीको घरबाट सुनका विभिन्न गहनाहरु र नगद ३ लाख ५० हजार समेत गरी करीब ५ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
ललितपुर महानगरपालिका–२० सुनाकोठीस्थित सुर्य कला शाहको घरबाट सुनका विभिन्न गहना र नगद ५० हजार समेत गरी करीब २ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ३३ बर्षीय राजेन्द्र कार्कीको घरबाट कोही नभएको अवस्थामा सुनका विभिन्न गहना र नगद ३ लाख समेत गरी करीब ४ लाख ८१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । फरार चोरहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस