निर्मला हत्या प्रकरणः प्रहरी प्रयोगशालामा गरिएको डीएनए परीक्षणप्रति नै आशंका
काठमाडौ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनामा प्रहरीले सुरुदेखि नै प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिन्छ ।
राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक रुपमै प्रहरीको भूमिकामाथि प्रश्न उठाएको छ । गृहमन्त्री रामबहादुर थापा पनि प्रमाण लुकाउन प्रहरी नै संलग्न रहेको बताएका छन् । तर प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ । यसले आशंका थप बढाएको छ ।
कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ । अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन् । तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन्।
पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएन, प्रहरीकै विधि विज्ञान प्रयोगशालामा गरियो । निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा भने नेगेटिभ आएको छ।
कञ्चनपुरकी १३ बर्से बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रशासनमाथि नै प्रश्न उठेको हो । विकसित मुलुकले सही निर्णयमा पुग्न एकभन्दा बढी मान्यताप्राप्त प्रयोगशालामा डीएनए परीक्षण गराउँछन्।
अधिवक्ता केदार दाहाल निर्मला बलात्कारपछि हत्या घटनामा प्रहरीको प्रयोगशालाभन्दा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिने उपयुक्त भएको बताउँछन् ।
उनी भन्छन्, ‘वातावरणीय प्रभावले पनि डीएनएको गुण कोल्याप्स हुन्छ । डीएनए संकलनका प्रक्रियामा चाहिने विशेष खालको बक्स छैन भन्ने सुनेको छु । प्रहरी नै मुछिएको घटनामा प्रहरीले स्वतन्त्र ढंगले गहिरोसँग परीक्षण गर्न सक्यो–सकेन भन्ने प्रश्न उठ्छ।’
अपराधिक घटनामा प्रहरीको संलग्नता हुन सक्ने सम्भावना रहेकाले अस्टे«लियामा कानून मन्त्रालयअन्तर्गत विधि विज्ञान प्रयोगशाला राखिएको छ । प्रहरी नै मुछिएको मुद्दामा स्वतन्त्र हैसियतको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्नुपर्ने दाहालले बताए।
‘लाहाछाप हानेर ल्याएको हुन्छ । यस्तो पाइयो भनेर ल्याएको हुन्छ । डीएनए फिल्टर गर्ने उपकरण पनि नभएको र जस्तो ल्याएको हुन्छ त्यस्तै परीक्षण गर्नुपर्ने बाध्यता हो ।’ डीएनए परीक्षण गर्ने एक वैज्ञानिकको भनाइ उद्धृत गर्दै अधिवक्ता दाहालले भने । संकलनमा त्रुटि हुन पुगेको अवस्थामा गुणस्तर कायम नहुने उनले बताए।
त्रिभुवन विश्वविद्यालय, फोरेन्सिक मेडिसिन विभागका उपप्राध्यापक डा।गोपालकुमार चौधरीका अनुसार बलात्कार मुद्दामा तीन तहको भेजाइनल स्वाब निकालिन्छ।
केमिकल जाँच, माइक्रोस्कोपिक जाँच र डीएनए विश्लेषण हुन्छ । त्रिवि फोरेन्सिक मेडिसिन विभागका कानुनी चिकित्सकसमेत रहेका उपप्राध्यापक डा। चौधरीले भने, ‘डीएनए संकलनमा उच्च सावधानी र सतर्कता अपनाउनुपर्छ।’
प्रतिकृया दिनुहोस