अन्तरजातीय विवाहको कहर : जात नमिल्दा ९ महिने गर्भवती पुगिन् जेल
कञ्चनरुप । ९ महिने गर्भवती महिला अन्तरजातीय विवाह गरेका कारण थुनामा परिन् भन्दा कसले पत्याउला र ? तर, सप्तरीको रुपनगरमा त्यस्तै भएको छ ।
कञ्चनरुप–९ रुपनगरका २० वर्षीय मनीष साह र कञ्चनरुप–९ धरमपुरकी १८ वर्षीया कविता रामले अन्तरजातीय विवाह गरेका थिए । तर त्यही विवाहका कारण सुत्केरी हुने बेलामा कविता राम जेलको चिसो छिढीमा परेकी छन् ।
प्रहरी हिरासतमा रहेकी कविताको स्वास्थ्य अवस्था बिग्रिएपछि उनको अहिले राजविराजस्थित अञ्चल अस्पताल उपचार भइरहेको छ । आफ्नो पेटमा नौ महिनाको बच्चा रहेको जानकारी दिँदै अस्पतालमा उपचाररत कविताले यस्तो बेलामा श्रीमानसँग शान्तिपूर्ण रूपमा बस्न पाउने र भयमुक्त वातावरणमा बच्चा जन्माउन पाउने वातावरण मिलाई दिन आग्रह गरिन् ।
स्वास्थ्य परामर्श र उपचारको आवश्यकता रहे पनि नौ महिनाकी गर्भवतीलाई प्रहरी हिरासतमा थुनेर गर्भको बालकमाथि समेत अन्याय भएको भन्दै कविताकी आमा शान्तिदेवीले दलित भएकै कारण एकपछि अर्को मुद्दा खेप्नुपरेकाले कानुनी संरक्षणको माग गरिन् । कविताले भनिन्, ‘दलित भएकैले प्रेमविवाह गर्ने र सन्तान पाउने अधिकारमाथि एकपछि अर्को आक्रमण भइरहेको छ ।’
यस्तो थियो घटना
गत पुस २१ मा मनीष र कविताले अन्तरजातीय विवाह गरेका थिए । गाउँमा बस्न सक्ने अवस्था नभएपछि भागेर उनीहरु सुनसरीको इनरुवा पुगे । त्यही सामान्य काम गर्दै जीविकोपार्जन गर्न थाले ।
यता मनीषका बुबाले खोजी कार्य जारी राखेका थिए । दुबै जना बसेको ठेगाना पत्ता लगाएपछि मनीषका बुवाले दुबै जनालाई छुटाए । तर, चोखो माया मर्दैन भनेझै मनीष र कविता अलग हुन सकेनन् । मनीष कविताकै घरमा गएर बस्न थाले ।
प्रहरी कार्यालयमा पटक–पटक भएको छलफलपछि विवाह गर्न कविताको उमेर नपुगेको भन्दै दुबैलाई माघ २८ मा घरपरिवारको जिम्मा पनि लगाइयो । तर, मनीष र कविताले फागुन १ मा हनुमाननगर कंकालिनी–१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेर पुनः सँगै बस्न थालेपछि साह पक्षले कुटपिट र डर–त्रास देखाएर अलग गराउन खोजे ।
मनीषका बुबाका अनेक हर्कत
दुवै छुट्टिन नमानेपछि शिवनारायणले कविताका बुवा विनोद रामविरुद्ध अदालतमा अपहरण तथा शरीर बन्धकको मुद्दाका लागि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरे ।
कविता र मनीषलाई उनीहरूका अभिभावकले आ–आफ्नो जिम्मामा बुझी लगेको कागज देखाएपछि अदालतले फागुन २८ गते सो रिट खारेज गरिदियो ।
त्यति मात्रै होइन, दुबै जनालाइर्ए अलग गर्न मनीषका बुबा शिवनारायणले कञ्चनरुप नगरपालिकाको न्यायिक समितिमा उजुरी गरे । न्यायिक समितिमा मनीषले कवितासँगै जीवन बिताउने बताए । त्यसबेला उनहिरुमाथि नै हातपातसमेत भयो । अन्ततः चैत १३ मा न्यायिक समितिले समेत मनीष र कवितालाई आ–आफ्नो अभिभावकको जिम्मा लगायो । तर, मनीष कवितासँग बस्न थाले ।
गत पुस २१ गते घरबाट भागेर विवाह गरेका साह र राम सुनसरीको इनरुवामा बसेर जिविकोपार्जन गर्दै आएका थिए । दुबैलाई छुटाउन मनीषका अभिभावकले प्रयास गर्दै आएका पनि थिए । तर, मनीषका बुवाले छोराले अन्तरजातीय विवाह गरेको सहन नसकेर अन्नतः उनीहरुलाई मनीषका बुवा शिवनारायणले जिल्ला प्रहरी कार्यालयमा थुनाएरै छाडेका छन् ।
कविताका बुवा, आमाविरुद्ध दिएको बन्दी प्रत्यक्षीकरण रिट अदालतले खारेज गरेपछि शिवनारायणले उच्च अदालत जनकपुर राजविराज इजलासबाट भदौ २४ गते परमादेश गराई बिहीबार बालविवाह विरुद्ध उजुरी दर्ता गरेर थुनाएका हुन् ।
प्रतिकृया दिनुहोस