प्रहरीले यसरी गरेको थियो निर्मला हत्याको प्रमाण नष्ट

Nirmala parents

काठमाडौं । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो। तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ।

न्याय माग्न बुधबार राजधानी आइपुगेका निर्मलाका बावुआमा र कञ्चनपुरका महिला अधिकारकर्मीहरूका अनुसार निलम्बित एसपी डिल्लीराज विष्ट र उनी मातहतका प्रहरीले योजनाबद्ध रूपमै प्रमाणहरू नष्ट गरेको देखिन्छ।

के भएको थियो कञ्चनपुरमा?
किशोरी निर्मला पन्तलाई उनकी साथी रोशनी बमले घटना हुनु एक साताअघिदेखि नै डान्स सिक्न जान कर गरिरहेकी थिइन् ।

‘साउनमा स्कुल वर्षेबिदा भएदेखि ऊ दिनहुँ आउँथी र जतिखेर पनि निर्मलालाई डान्स सिक्न पठाउनु न आन्टी भनेर कर गरिरहन्थी,’ आमा दुर्गादेवी पन्त भन्छिन्, ‘मैले हुँदैन, डान्स सिक्ने हाम्रो अवस्था पनि होइन र इच्छा पनि छैन भनेर टारेँ । तर उसले जिद्दी गरेको गर्‍यै गरेपछि अर्काकी छोरीलाई सम्झाइरहनुभन्दा आफ्नै छोरी नजाओस् भनेर निर्मलालाई दुई–चार चड्कन लगाएकी थिएँ।’

त्यसको दुई दिनपछि साउन ९ गते आमा नभएका बेलामा रोशनी निर्मलालाई भेट्न उनको घर पुगिन् । गुजाराका लागि निर्मलाका बा घरदेखि अलि पर कञ्चनपुरकै भासी भन्ने ठाउँमा ठेलामा पानीपुरी बेच्थे । निर्मलाकी आमा पनि घरमै चटपटे बेच्ने गर्थिन् ।आफू नभएका बेलामा आएकी रोशनीले उधारोमा चटपटे खाएको र ‘भोलि घरमा पैसा लिन आउनू’ भनेको कुरो पछि मात्रै आफ्नी अर्की छोरीबाट दुर्गादेवीले थाहा पाइन्।

साउन १० गते बिहान ९ बजे दुर्गादेवीले निर्मला र अरू दुई छोरीसँगै खाना खाइन् । अनि निर्मलालाई होमवर्क गर्दै पसलमा बस्नु भनेर सामान लिन बजारतिर हिँडिन् । ‘दिउँसो १ बजे फर्केर आउँदा कान्छी छोरी मात्रै थिई, जेठी छिमेकीकोमा गएकी रहिछ,’ उनी भन्छिन्, ‘मैले निर्मला खोइ भनेर सोधें, उसले रोशनीकोमा गाइड बुक र अम्बा लिन जान्छु भनेर हिँडी भनी। निर्मला ११ बजे गएकी रहिछ।’

साँझ ६ बजेसम्म पनि छोरी नफर्किएपछि दुर्गादेवीको मनमा चिसो पस्यो । सधैं समयमै घर फर्किने छोरीलाई आज के भयो भन्दै उनी डेढ किलोमिटर पर पर्ने रोशनीको घर पुगिन्।
कम्पाउन्डसहितको दुई तले घरमा आफ्नी दिदी बबिताका साथ बस्दै आएकी रोशनी बमलाई दुर्गादेवीले गेटबाटै बोलाइन्।

‘मैले छोरी खोइ नानी भनेर सोद्धा उसले ऊ त दुई बजे नै हिँडिसकी भन्ने जवाफ दिई,’ उनी भन्छिन्, ‘घरमा त आएकी छैन भनेर मैले भन्न नपाउँदै बबिताले मलाई तथानाम गाली गरी। आफ्नी छोरीको आनीबानी ठीक राख्नु नि, कता पोइल गइसकी होला हामीलाई किन दोष लाउनु भन्दै सत्तोसराप गरी।’

यसरी अचानक बबिता पड्किएपछि दुर्गादेवी अन्योलमा परिन् । भित्र पो छे कि निर्मला भनेर हेर्न खोज्दा बबिताले उनलाई गेटबाट पस्नै दिइनन् । त्यसपछि उनी घर फर्किन्। निर्मलाको अत्तोपत्तो थिएन । छिमेकी लक्ष्मण भट्टलाई उनले छोरी हराएको र बबितासँग भएको ठाकठुकबारे बताइन्। लक्ष्मणले मोटरसाइकलमा राखेर उनलाई बम दिदीबहिनीकै घरमा पुर्‍याए।

‘बबिताले फेरि पनि जे पायो त्यही भनेर हामीलाई झपारी। मलाई त्यसै बेला घरभित्र पसेर हेर्न मन थियो । तर लक्ष्मण पनि अर्काको घरमा पस्दा भोलि मुद्दा हाल्ली भनेर डराए,’ उनी भन्छिन्, ‘हामी घर फर्कियौं । बबिताले पोइल गई भनेकीले पक्कै पनि बेच्न पठाए होलान् भन्ने लागेर लक्ष्मणले नाकामा पर्ने गड्डा चौकीमा फोन गरेर घटनाको रिपोर्ट लेखाए ।’ त्यसपछि उनीहरूले वडा प्रहरी कार्यालय पनि उजुरी हाले । जिल्ला प्रहरी कार्यालयमा पनि फोन गरेर छोरी हराएकाले खोजी पाऊँ भनी निवेदन गरे, जहाँ तत्कालीन एसपी डिल्लीराज विष्ट बस्ने गर्थे।

‘एघार बजे घरबाट हिँडेकी छोरीलाई यति राति आएर खोज्ने हो रु’ जिल्ला प्रहरी कार्यालयमा फोन उठाउने प्रहरीले दुर्गादेवीलाई उल्टै झपार्‍यो, ‘अलि अगाडि नै आएको भए हुन्थ्यो, अहिले त रात परिसक्यो। अब भोलि निवेदन लिएर आउनुस्।’

दुर्गादेवीको छटपटी झनै बढ्यो । ‘खोज्न सघाउला भनेको प्रहरीले त उल्टै सातो जाने गरी हप्काएको देख्दा मलाई कहाँ जाउँ र के गरौं भयो,’ काठमाडौंमा मानव अधिकारवादी र सञ्चारकर्मीसामु उनले घटनाबारे सबिस्तार भनिन्, ‘नजिकै भासी प्रहरी बिट थियो। त्यहाँ गएर गुहार लगाउँदा पनि प्रहरीले सुने नसुन्यै गरे।’

त्यतिन्जेल रातको बाह्र बजिसकेको थियो । निर्मलालाई पक्कै केही भइसक्यो भन्ने दुर्गादेवीलाई मात्रै होइन, टोलछिमेकका सबैलाई पर्‍यो। छिमेकका सातरआठ जनाको टोली लिएर उनी फेरि बम दिदीबहिनीको घरमा पुगिन् ।

त्यो घर भएको वडा नम्बर १८ मा पर्ने सालघारी अस्थायी प्रहरी बिटका प्रहरीलाई उनीहरूले फोन गरे र गाउँलेको रोहबरमा घरभित्र पस्न प्रहरीलाई निवेदन गरे। तर प्रहरीले उही जिल्ला कार्यालयबाटै आएजस्तो जवाफ फर्कायो र भन्यो, ‘यति राति अर्काको घरमा पस्न मिल्दैन।’

केही उपाय नलागेपछि दुर्गादेवी छिमेकीहरूसहित घर फिरिन् । भोलिपल्ट बिहानै फोटोसहितको निवेदन लिएर उजुरी गर्न गर्न जाँदा त्यो बिटका इञ्चार्जलाई एसपी विष्टले सरुवा गरिसकेका थिए।

‘घटनाबारे थाहा पाउने जिल्लाका अरू पनि धेरै प्रहरीलाई साउन ११ गते नै सरुवा गरियो,’ निर्मलाका बाआमासँग काठमाडौं आउनेमध्येकी एक अधिकारकर्मी शारदा चन्द भन्छिन्, ‘प्रहरीले त्यसपछि सिलसिलाबद्ध रूपमा एकपछि अर्को प्रमाण मेट्दै गयो।’

उजुरी दिएर फर्किँदा दुर्गादेवी र उनीसँगै प्रहरी चौकी पुगेका गाउँलेले बम दिदीबहिनीको घरको कौसीमा सादा पोसाकमा केही प्रहरी उभिरहेको देखे । ‘हामीलाई जान मिल्दैन भनेका प्रहरी कसरी त्यहाँ एकाएक देखा परे,’ दुर्गादेवी भन्छिन्, ‘त्यहीबेला मलाई प्रहरीप्रति शंका भयो।’

तर प्रहरीले उनलाई र गाउँलेलाई भित्र छिर्न दिएनन् । बबिताले फेरि पनि दुर्गादेवीलाई गालीगलौज गर्दै ‘बारबार किन आइरहेको’ भनेर सबका अघिल्तिर हकारिन् । दुर्गादेवीले सँगै उभिएका प्रहरीलाई हात जोर्दै भनिन्, ‘साहेबहरू, हिजो पनि यसले यसरी नै मलाई झम्टेर घरभित्र पस्न दिइनन् । अहिले पनि त्यसै गरी । तपाईंहरूले मलाई देखाइदिन पर्‍यो, भित्र के भएको छ भनेर।’

जबाफमा प्रहरीले उल्टै उनलाई सम्झाए, ‘तपाईं चुप लाग्नुस्, बुझ्ने काम हाम्रो हो । हामीले हेरिसक्यौं, भित्र केही पनि छैन।’

बबिताले कठोर बचन लगाए पनि रोशनीले भने दुर्गादेवीलाई मुख फर्काएकी थिइनन्। उसबाट पो केही सुराक मिल्छ कि भनेर उनले रोशनीलाई सोधिन्, ‘तँ पनि त निर्मलाजस्तै मेरी छोरी होस् नि, भन् रोशनी ऊ कहाँ गई ।’

थाहा छैन भन्दाभन्दै रोशनीले कुरैकुरामा सुनाइन्, ‘खै अन्टी भासी जान्छु भन्थी।’ भासीमा उनका बुवा यज्ञराज पन्त ठेलामा पानीपुरी बेच्ने गर्थे । निर्मला पनि हप्ता दुई हप्तामा बुवालाई भेट्न जान्थिन् ।

‘रोशनीले त्यसो भनेपछि मेरो मनमा झनै चिसो पस्यो । किनभने ९ गते नै छोरी भासी गएकी थिई । बुवा गुरुपूर्णिमा मनाउन राधेराधेको मन्दिर पारि भारतमा जाने कार्यक्रम थियो । घरमा ताल्चा मारे गइसक्नुभएको हुनाले छोरी फर्केकी थिई,’ दुर्गादेवीले सुनाइन्, ‘हिजै फर्केर आएको हुनाले आजै ऊ जानुपर्ने कारणै थिएन । यसरी पहिले कहिल्यै गएकी पनि थिइनँ । त्यसैले मलाई रोशनीको कुरा पुरै बनावटी लाग्यो।’

दुर्गादेवीको छिमेकी पर्ने एक जना भूपू सैनिक मोतीराम नेपाल पनि उजुरी गर्न भनेर साथै गएका थिए । ‘तिम्री साथी यसरी हराउँदा तिमीलाई केही पीर छैन नानु ,’ भनेर मोतीरामले रोशनीलाई सोध्दा बबिताले ‘तँ को होस् यसरी केरकार गर्ने’ भनेर झम्टिन आइन् ।

त्यो देखेपछि गाउँलेको शंका उनीहरूमाथि बढेको थियो । तर त्यही घरमा रहेका प्रहरीले गाउँलेलाई बम दिदीबहिनीमाथि थप कुनै प्रश्न सोध्न दिएनन्।
मनमा अनेक कुरा खेलाउँदै बिहान साढे ८ बजेतिर गाउँलेका साथ दुर्गा फर्किंदा बाटामा पर्ने खोलामा साइकल भेटिएको खबर आयो।

निर्मला त्यही साइकलमा रोशनीको घर गएकी थिइन् । खोलाछेउ बाख्रा चराउन गएकी दुर्गादेवीकी छिमेकी धन भण्डारीले साउन १० गते नै अपराह्न ४ बजेतिर साइकल देखेकी रहिछन् । उनका अनुसार स्टयान्ड लगाएको अवस्थामा खोलामा साइकल अडकिएको थियो । कसैले फालेको कवाडी होला भनेर धनले त्यसलाई वास्ता गरिनछन्।

तर, बिहान वडा प्रहरी कार्यालयका इञ्चार्ज जगदीश भट्टको भतिजो लोकेन्द्र भट्टको घरमा काम गर्ने चौधरी थरका एक अधबैंसेले साइकल देखेपछि यसबारे हल्लीखल्ली भएको थियो।

साइकल भेटिएको खबर सुन्नेबित्तिकै बबिता बमले रुपा कार्कीलगायत गाउँलेका अघिल्तिर ‘उसो भए लास पनि त्यतै होला’ भनेपछि सुन्नेहरू स्तब्ध भए ।
‘त्यतिबेलासम्म हामी सबैलाई छोरीलाई इन्डियातिर बेच्न लगेको छ कि भन्ने शंका थियो,’ निर्मलाका बुबा यज्ञराज पन्त भन्छन्, ‘निर्मलाको ज्यान गएको छ भन्ने पहिलो मानिस बबिता नै हो ।’
नभन्दै खोलाभन्दा अलिक पर उखुबारीमा निर्मलाको शव उत्तानो अवस्थामा फेला पर्‍यो । शव फेला पर्दा बिहानको साढे नौ बजेको थियो । ‘खोला छेउमा किताब, अम्बा र कलम पनि थियो,’ भक्कानिँदै दुर्गादेवीले सुनाइन्, ‘राति ठूलो पानी परेकाले खोला बढेकाले उखुबारीमा पानी पसेको थियो । किताब भने ओभानै थियो।’

शव फेला पर्नेबित्तिकै जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटका इन्सपेक्टर एकेन्द्र खड्का नेतृत्वको प्रहरी टोलीले घेर्‍यो। टोलीमा एक महिला प्रहरी पनि हातमा सेतो पञ्जा लगाएर सादा पोसाकमा थिइन्।

‘एकेन्द्रले हातले केही इसार गरेपछि ती महिलाले छोरीको सुरुवाल निकालेर पानीमा धोइन् र रगतले लतपत भएको योनी पखालिन्,’ यज्ञराज भन्छन्, ‘घटनास्थलको मुचुल्का गरी सिलबन्दी गर्न‘पर्नेमा उल्टै प्रमाण नष्ट गरेको भनेर गाउँले कराउन थालेपछि एकेन्द्र रिसले आगो भए।’

उपस्थितमध्ये धेरैले यसरी प्रहरीले योनी पखालेको र सुरुवाल धोएर प्रमाण नष्ट पारेको भिडियो मोबाइलले खिचेर सार्वजनिकसमेत गरिदिएका थिए, जुन युटयुबमा हेर्न सकिन्छ।
भिडियोमा कुर्ता सुरुवाल लगाएकी एक युवतीले शव नजिकै जमिरहेको पानीमा निर्मलाको रातो सुरुवाल धोएको देखिन्छ। अर्को भिडियोमा निर्मलाको योनी धमिलो पानीले पखालेको पनि प्रस्टै देखिन्छ।

‘प्रमाण नष्ट नगर्न गाउँलेहरूले सचेत गराउँदा यो शव तिमीहरू नै जिम्मा लिओ त्यसो हो भने । होइन भने नेपाल प्रहरीलाई अनुसन्धान गर्न सिकाउन नआओ भनेर इन्सपेक्टर एकेन्द्रले सबलाई झपारे,’ यज्ञराज भन्छन्, ‘प्रहरीले चारैतिरबाट घेरेर हामीलाई अघि बढ्न पनि दिएनन्। छोरीको लास म निसहाय भएर हेरी मात्रै रहेँ।’

राजधानीमा आएका प्रत्यक्षदर्शी अधिकारकर्मीहरूका अनुसार प्रमाण नष्ट पारिसकेपछि ती महिला घटनास्थलबाट गाडी चढेर गइन्। (कान्तिपुर) 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...