कक्षा तीनमा पढ्ने बालकले डोको बुनेर दशजनाको परिवार पाल्छन्
ताप्लेजुङ । पारीवारिक आर्थिक अवस्था नाजुक हुँदा ग्रामिण क्षेत्रका बालबालिकाहरु पढाई खर्च आफै जुटाउन सानै उमेरदेखि श्रम गर्न बाध्य छन् ।
मेरिङदेन गाउँपालिका–६, नाल्बुका ११ वर्षका बालक आफै डोको बुन्छन् र बजार लगेर बेचेर पढाई खर्च साथै घर खर्च समेत जुटाउने गरेका छन् ।
नाल्बुका ११ वर्षका लाक्पा शेर्पा कक्षा ३ मा पढ्छन् । उनी भन्छन्, ‘म घरदेखि माथिल्लो भेग जंगली क्षेत्र (पातल) जान्छु, एक दिनमा गएर मालिङ्गो लिएर आउछु । दिन भरी चोया काड्छु, अर्को दिन डोको बुन्छु, डोको लगेर दोभन बजारमा शुक्रबार बेच्ने गरेको छु ।’
बालक लाक्पाका बुबा पेम्बा शेर्पा वैैदेशीक रोजगारीको सिलसिलामा मलेसियामा छन् । बुबा नभएपछि आफू घरको जेठो छोरो भएकाले पनि सबै काम आफै गर्नु पर्ने उनको भनाई छ । उनी भन्छन्, ‘११ जनाको परिवार छ । ६ दिदी बहिनी र २ दाजुभाई र हजुर आमासहित छौं । सबैका लागि खर्च जोहो गर्न काम गर्नै पर्छ ।’
तीन दिनमा एउटा डोको बने पनि बजारमा लगेर प्रतिगोटा बेच्दा २०० सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बालक पेम्बाको भनाई रहेको छ । एक हप्तामा धेरैमा ३ वटासम्म डोको बुनेर बजारमा बिक्री गर्ने गरेको बालक पेम्बाले बताए ।
एक हप्तामा पढाई पनि भ्याउनु पर्ने अनि शुक्रबार ४ घण्टा लगाएर जिल्लाको दोश्रो ठूलो बजार दोभानमा लगेर डोको बेच्न भ्याउनु पर्ने र घर खर्च समेत जुटाउनुपर्ने बाध्यता रहेको लाक्पाले सुनाए ।
डोको बेचेर कापी कलम मात्र होइन, दैनिक उपभोग्य सामाग्रीहरु नुन, तेल, चामललगायत सामाग्री समेत किनेर लाने गरेको बालक पेम्बाले बताए । ‘१२ जनाको परिवारलाई डोको बुनेर घरखर्च जुटाउने गरेको छु’, उनले भने ।
उनीमात्र होइन, सोही गाउँका १५ वर्षका दोर्ची शेर्पा कक्षा ९ मा अध्ययन गर्छन् । उनी पनि समयलाई बचाएर डोको बुनेर पढाई खर्च जुटाउने गर्छन । बजारमा लगेर डोको बेचेको रकमले आफूले कापी, कलम किन्ने गरेको उनको भनाई रहेको छ ।
ताप्लेजुङ जिल्लाको ग्रामिण क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरु घरायसी काम भ्याएर आफै पढाई खर्च जुटाउछन् । सदरमुकाम आसापाका बालकालिकाहरु परिवारले दूध बोकाएर बेच्नका लागि बजार पठाउँछन् ।
दही, दूध, घ्यू, दाउरा, निगुरो समेत बजार ल्याएर बेच्ने र दिउँसो विद्यालयमा पढ्ने धेरै बालबालिकाहरु बालश्रमबाट अछुतो हुने परिवारको अवस्था पनि छैन् । विद्यालय छुट्टि भएपछि ४ बजे पछाडि भोलिपल्ट बिहान बजारमा लाने सामग्री जुटाउने गरेको स्थानीय बालबालिकाहरु बताउँछन् ।
यस्ता बालबालिकाको अवस्था ताप्लेजुङमा धेरै रहेको छ । सरकारले बालश्रम मुक्त गर्ने भनेको निकै वर्ष भैसके पनि गाउँमा सरकारको ध्यान अहिलेसम्म पुग्न सकेको छैन् ।
प्रतिकृया दिनुहोस