बाटो हेर्दा हेर्दै आँखा थाकिसक्यो, १० वर्षअघि हराएको छोरो फर्किएनन्
सल्यान । आज त आउँछ की भनेर आँगनबाट पारि बाटो सम्म हेर्यो तर साँझ झमक्क पर्छ, आउँदैन ।
१० वर्ष भयो यसरि सल्यान सल्लीबजारका ६४ वर्षीय बुवा चन्द्र बुढा र ६० वर्षीय आमा टिका बुढाले आफ्नो हराइरहेको छोरोलाइ कुर्न लागेको । तर कुर्दा कुर्दा र बाटो हेर्दा हेर्दा आँखा थाकिसके ।
२४ वर्षको उमेरमा यी बृद्धबृद्धाको जेठो छोरा धर्मे बुढा वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ साविकको देवस्थल गाविस वडा नम्बर ७ सल्लीबजारस्थित आफ्नै घरबाट २०६४ साल मंशिरको महिना निस्किएका थिए ।
१० वर्षसम्म पनि छोरो घर फर्केर नआएपछि चिन्ताको पोखरीमा डुबेका यी बृद्ध बाबुआमाले हराइरहेको छोरो खोजिदिन सबैमा अनुरोध गरेका छन् । घरबाट निस्किएको पाँच दिनपछि नेपालगञ्जमा चिनेका केही व्यक्तिले देखेको र घर जाँउ भन्दा इन्डिया (भारत) जान्छु भनी साथीहरुलाई भनेको तर हालसम्म घर नआएको बुवा चन्द्रले बताए ।
‘घरमा कुनैलाई पनि केही खबरै नगरी राती निस्किएर गएछ हामीलाई थाहा नै भएन,’ उनले भने, ‘गाउँघरतिर गएको होला एक दुई दिन फर्किहाल्छ भनेर खासै वास्ता गरिएन । पाँच दिनपछि गाउँबाट नेपालगन्ज घुम्न गएका मान्छेले नेपालगञ्ज देखेको र घर जाँउभन्दा भारत जान्छु भनेको सुनियो ।’
भारत गयो या गएन, त्यो पनि थाहा नभएको र अहिलेसम्म छोरो घर फर्किएर नआएको उनले बताए । धर्मेकी आमा टिकाले आफुहरु डाँडामाथीको जुन भइसकदा सम्म पनि छोरो नआउँदा पिडाले छाति भरिएको बतइन् । उनले भनिन्, ‘कुर्दा कुर्दा १० वर्ष भयो । छोरोको अनुहार एक झल्को भए पनि देख्ने मन छ । मेरो छोरोलाई जसरी भए पनि खोजेर ल्याइदेउ ।’
अहिले बृद्ध बाउआमा चिन्तामै दिन कटाइरहेका छन् । उनका माइला र कान्छा छोराहरू बिबाह गरेर छुट्टिएर बसेको र आफूसँग भएको जेठो छोरा नै बेपत्ता भएपछि एकलो महसुस त भएको छ नै । छोराको अवस्था नै थाहा नहुँदा चिन्ताले पिरोलिरहेको छ । हामीले छोरालाई धेरै खोज्यौं । छरछिमेक इष्टमित्र सबैलाई खोज्न लगाइयो ।
तर छोरा अहिले सम्म पनि घर फर्कि आएन, बुवा चन्द्रले भने । आफ्नो छोरा खोजी दिन र फेला पार्नेलाई पुरस्कार पनि दिने उनले बताए ।
प्रतिकृया दिनुहोस