जनप्रतिनिधि नै गर्छन छुवाछूत, दलित जनप्रतिनिधि पनि बहिष्करणको शिकार !
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–५ की वडा सदस्य दुरुपति नेपालीलाई आफू दलित भएकै कारण सार्वजनिक ठाउँमा कयौंपटक हेपिनुपरेको अनुभव छ ।
सामूहिक बैठक बस्ने प्रतिनिधिहरु दलित प्रतिनिधिले छोएको चिया र पानी समेत पिउन मान्दैनन् । दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो जातका जनप्रतिनिधि नै हुन् ।
गाउँमा जातीय बहिष्करणको शिकार बनेका नागरिकसँगै गाउँपालिका बैठकमै माथिल्लो जातका व्यक्तिले पानी छोइदिएको भन्दै खान नमानेको तितो अनुभव सुनाउँछन्, दलित प्रतिनिधि दुरुपति । ‘वडापालिकाका ब्राह्मण सदस्यहरू बैठकमा मैलै छोएको पानीसमेत पिउदैनन्, म दुखित छु, जातीय आधारमा हेपिएको महसुस भएको छ,’ उनले भनिन् ।
जनप्रतिनिधि नेपाली एकल महिला पनि हुन् । एकल महिला र दलित आरोपमा उनलाई स्थानीय धामी झाँक्रीले समेत छुन मान्दैनन् । झुक्किएर छोइहाले सुनपानीसम्म छर्कन्छन् ।
‘मलाई दलित एकल महिला भनेर गाउँका धामी झाँक्रीले समेत छुन मान्दैनन्,’ उनी भन्छिन्, ‘स्थानीय तह कार्यान्वयनमा आएपछि जातीय विभेदको अन्त्य हुनुपर्ने हो तर झन् हावी भएको छ ।’
जातीय विभेद गर्ने र विभेदको मारमा पर्ने जनप्रतिनिधि नै छन् । अझै पनि दलित र ब्राह्मण बस्ती रहेको गाउँमा सार्वजनिक काममा होस् या समाजभित्र जातीय छुवाछूतको अवस्था उस्तै रहेको तातोपानीका लोकबहादुर परियारले बताइन् ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुुख लालबहादुर सार्कीले जातका आधारमा गरिने व्यवहार विद्यमान रहेको बताए । उनी विशेषगरी बाहुन क्षेत्रीमा जातिवाद हावी रहेको दाबी गर्छन् ।
‘अरू त परै जाओस् धारामा माथिल्लो जातका व्यक्तिले पानी भरिसकेपछि मात्र हामीले भर्नुपर्छ, सहजै उनीहरूका भाँडाकुँडा छुन पनि मिल्दैन’ समन्वय समिति प्रमुख सार्की भन्छन् ।
सदरमुकाम खलंगास्थित चन्दननाथ मन्दिर पूर्वतर्फ बनेको एउटा भवनको अँध्यारो कोठाभित्र ३५ जना विद्यार्थी भाका हालेर संस्कृत श्लोक कण्ठस्थ गर्दै छन् । दौरा सुरुवालमा सजिएका प्रधानाध्यापक विश्वराज उपाध्यायसँगै स्वर मिलाउँदै छन्, चेलाहरू ।
यो कर्णालीकै पहिलो गुरुकुल पाठशाला हो । २०६९ सालमा स्थापना भएको चन्दननाथ गुरुकुल पाठशालामा ४ कक्षासम्म पढाइ हुन्छ । एक शिक्षक र ५२ जना विद्यार्थी छन् । तर, दलितको संख्या भने शून्य छ ।
विद्यालयमा जुम्लाका ब्राह्मण र क्षेत्री समुदायका बालबालिका मात्रै पढ्न पाउँछन् । कथित तल्लो जातको आधारमा छोएको नखाने, छुईछिटो हाल्ने, मन्दिर प्रवेशमा रोक लगाउने, जुम्लाको चलन नै जसरी हटेको छैन, उसैगरी गुरुकुलमा दलितका लागि अध्ययन बर्जित छ ।
यहाँ व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबै ब्राह्मण क्षेत्री मात्रै छन् । नेपालको संविधानले छुवाछूत मात्र होइन प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक ज्ञारेन्टी गरेको छ । जसमा दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुनबमोजिम छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्थासमेत छ ।
तर, एक जना शिक्षकको भरमा सञ्चालन भइरहेको यो विद्यालयमा एउटा पनि दलित विद्यार्थी छैनन् । प्रधानाध्यापक उपाध्ययायका अनुसार चन्दननाथ नगरपालिका र तातोपानी गाँउभित्रका ब्राह्मण र क्षेत्री समुदायका बालबालिका मात्र विद्यालयमा अध्ययन गरिरहेका छन् ।
‘खोइ किन हो दलित र अन्य समुदायका विद्यार्थी आएकै छैनन्,’ उपाध्याय भन्छन्, ‘गत वर्ष दुई–चार जना दलित समुदायका विद्यार्थी संस्कृत पढ्न भन्दै आए, तर पछि सम्पर्कबाटै हराए ।’
प्रतिकृया दिनुहोस