आज ४ बजे कस्तो आउला त बजेट ?

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट ल्याउँदै छ । सरकारले पहिलोपटक हावादारी भनिएका योजनालाई समेत आफ्नो प्राथमितामा राखेको छ ।
सरकारले आफ्ना नीति तथा कार्यक्रम सफल बनाउन झण्डै १५ खर्बको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रिय योजना आयोगले १५ खर्बको बजेट सिलिङ वरिवरि रहेर बजेट ल्याउने सिलिङ तोकेको छ ।
संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् ।
दुई ठूला पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि आउन लागेको पहिलो बजेट कसतो होला भनेर धेरैले चासोका साथ हेरेका छन् । खासगरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार बनाएको छ ।
जसमा निर्वाचनताका गरिएका जलमार्ग, रेलमार्ग लगायतका पूर्वाधार विकास गर्ने जस्ता प्रतिबद्धतालाई पूरा गर्नेगरी बजेटमा प्राथमिकता दिइएको छ ।
अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्ने भएका छन् ।
संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्च अनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ ।
प्रतिकृया दिनुहोस