हावाहुरीबाट तीन जनाको मृत्यु, हजारौं घर भत्किए
जनकपुरधाम । पूर्वी तराईका जिल्लामा बुधबार बिहान आएको हावाहुरीका कारण तीन जनाको ज्यान गएको छ । हुरीले करोडौंको क्षति पुर्याएको छ । हावाहुरीले प्रदेश २ मा हजारौं घरको छाना उडाएर घर घत्काउँदा गास बासको समस्या परेको छ ।
हावाहुरीले घर भत्काउँदा, विजुली पोल ढाल्दा, आँपको चिचिला झर्दा प्रदेश २ मा करोडौं क्षति भएको छ । हावाहुरीले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायत प्रदेश २ का सबै जिल्लामा ठूलो क्षति पुर्याएको छ ।
तीब्र गतिको हावाहुरीले सिरहा, महोत्तरी र धनुषा गरी तीन जनाको मृत्यु भएको छ । हावाहुरीले घर भत्काउँदा च्यापिएर सिरहा मिर्चैया नपा १० का ७० वर्षीया सगुनी महतोको मृत्यु भएको छ । हावाहुरीले घर भत्काउँदा सुतिरहेकी सगुनीको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीले पिलर भाँचिएर सुखीपुर नपा ९ का अशोक गुप्ताको घर बनाउन लागेका मिस्त्री सप्तरी रुपनगरका २६ वर्षीय श्रीप्रसाद सरदार गम्भिर घाइते भएका छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दाउराका लागि जंगल जाने क्रममा हावाहुरीले ढालेको रुखको हाँगाले गम्भिर चोट लाग्दा गौशाला नपा १२ की ३५ वर्षीया फूलवदन देवी महराको मृत्यु भएको छ । त्यस्तै धनुषा क्षिरेश्वरनाथ नपा ५ का करिब ५५ वर्षीया दुःखी दासको घर भत्किँदा च्यापिएर मृत्यु भएको हो । दास घरमा सुतिरहेकै बेला हावाहुरीले घर भत्काएको प्रहरीले जनाएको छ ।
हावाहुरीले ठाउँ ठाउँमा विजुलीको पोल ढालेको छ । पोल ढाल्दा विजुली बिहानैबाट प्रदेश २ का अधिकांश जिल्लामा अवरुद्ध छ । जनकपुरधाममा पनि बुधबार बिहान ३ बजेदेखि करिब १५ घण्टा अवरुद्ध भयो ।
विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले ठाउँ ठाउँमा हावाहुरीले पोल ढाल्दा विजुली अवरुद्ध बनेको बताए । ढल्केबर प्रशारण केन्द्रबाट मजुलेयासम्ममै खराबी देखिएकोले जनकपुरमा धेरैबेरसम्म विद्युत अवरुद्ध भएको उनले सुनाए ।
प्रतिकृया दिनुहोस