प्राकृतिक विपद्बाट ३५ लाखको क्षति
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट ३५ लाखभन्दा बढीको क्षति भएको छ ।
एक साताको अवधिमा नगरपालिका क्षेत्रभित्र भएको आगलागी, असिनापानी र हावाहुरीका कारण सो क्षति भएको हो ।
आगलागीबाट ४ परिवारको घर जल्दा ६ लाख बढीको नोक्सानी भएको नगरपालिकाका नगर प्रमुख दीलबहादुर ऐरले बताए ।
हावाहुरीबाट घरको छानोमा राखेका टायल फुटालेको र घरको छानोमा रुख ढल्दा ८ परिवारले ४ लाख बढीको क्षति व्यहोरेका छन् ।
यसैगरी, हावाहुरीसँग आएको असिना पानीले व्यावसायिक खेतीमा लागेका किसानको तरकारी बाली र फलफूल खेतीमा २५ लाख बढी क्षति भएको नगरपालिकाले जनाएको छ ।
प्राकृतिक विपद्बाट पीडित वनेका परिवारले क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि प्रहरीको मुचुल्कासहित नगरपालिका कार्यालयमा निवेदन दिएका छन् । विपद्को चपेटामा परेका सबै परिवार विपन्न समुदायका छन् ।
प्रतिकृया दिनुहोस