राष्ट्रियसभा निर्वाचनका लागि सबैभन्दा बढी मतदाता प्रदेश नं २ र कम प्रदेश नं ६ मा

Nirbachan aayog

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन् ।

आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता रहेका छन् ।

आयोगको निर्वाचन तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

आयोगले प्रदेश नं १ को मोरङको विराटनगर, प्रदेश नं २ को धनुषाको जनकपुरधाम, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को कास्कीको पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ र सातवटा प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य जम्मा ५५० गरी कूल दुई हजार ५६ जना मतदाताले मताधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था छ ।

स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष छन् भने प्रदेशसभामा पुरुष ३६१ र महिला १८९ मतदाता रहेका छन् । निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने आयोगले जनाएको छ ।

राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुनेछ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ ।

राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ, तर यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ ।

धारा ८६ अनुसार यस सभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरीे निर्वाचित ५६ जना रहन्छन् ।

त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ ।

संविधानअनुसार संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक छ । त्यसमध्ये प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...