रंगमञ्चमा पहिलोपटक संस्कृत नाटक मञ्चन
काठमाडौँ । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ ।
श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार बेलुकीदेखि प्रदर्शन शुरु गरेका हुन् ।
गुरुकुलको सहयोगका लागि सामाजिक विषय वस्तुमा आधारित नाटक मञ्चन शुरु गरिएको हो । नाटकको शुरुवात गर्दै भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले लोपोन्मुख भाषाको संरक्षणमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । आयोगले भाषा सुधारका लागि काम गरिरहेको उनले जानकारी दिए ।
जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलले कुनै पनि कृतिलाई पढ्नभन्दा अभिनयका माध्यमबाट रंगमञ्चमा हेर्दा त्यसको सन्देश बुझिने विचार राखे । गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा. डा. ऋषिराम पोखरेलले संस्कृत भाषाका नाटक प्रदर्शनलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
नाटक मंगलबारसम्म सर्वनाम थिएटर कालिकास्थानमा प्रदर्शन गरिने गुरुकुलका आचार्य सह प्रा. डा. श्रीराम अधिकारीले जानकारी दिए । गुरुकुलले यसअघि विसं २०७१ चैतमा वाल्मीकि विद्यापीठको चौरमा तयार पारिएको रंगमञ्चमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएको थियो । नाटकमा दर्शकको सहभागिता बढेपछि यसपटक रंगमञ्चमै संस्कृत नाटक देखाइएको हो ।
नाटक त्रिभुवन विश्वविद्यालय संस्कृत अध्ययन संस्थानका पूर्व डीन स्व. तोयनाथ पाण्डेयले लेखेको हो । नाटकको निर्देशन ‘गुरुदक्षिणा’ र ‘रागविरागम्’ जस्ता संस्कृत भाषाकै टेलिचलचित्रको निर्देशन गर्नुभएका डा घनश्याम खतिवडाले गरे ।
आइतबार बेलुकी ४ बजेदेखि ६ बजेसम्म देखाइएको नाटक श्रीपञ्चमीका अवसरमा आज विद्यार्थीका लागि अतिरिक्त प्रदर्शनस्वरुप दिउँसो १ बजेदेखि ३ बजेसम्म पनि देखाइनेछ । १सय देखि १ हजारसम्मको टिकट लिएका दर्शकको नाटक हेर्न भीड लाग्ने गरेको छ ।
प्रतिकृया दिनुहोस