पाँच दिने बैंकिङ ट्रेनिङ सम्पन्न
काठमाडौं । पाँच दिने बैंकिङ तालिम विहीबार राजधानीमा सम्पन्न भएको छ । २६ कात्तिकदेखि संचालन भएको तालिममा ४० विद्यार्थीको सहभागीता रहेको थियो ।
मिडिया इन्टरनेशनलले आयोजना गरेको सो तालिमको समापनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बैंकमा जागिर खान चाहने तथा बैंकिङ क्षेत्रलाई बुझन चाहनेका लागि बैंकिङसम्बन्धी तालिम उपयोगी भएको बताए । उनले वित्तीय साक्षरता अभिवृद्धि नभएसम्म वित्तीय पहुँच विस्तारको कुनै अर्थ नहुने पनि बताए ।
सो अवसरमा इमर्जिङ नेपालका सीईओ डा. विनोद आत्रेयले बैंकिङ पहुँच र विकास सँगसँगै अघि बढ्ने बताए । उनले आफू राष्ट्र बैंकमा रहँदा सार्वजनिक गरिएको तथ्यांकअनुसार ४० प्रतिशत नेपाली जनता मात्रै बैंकिङ पहुँचमा रहेको तथ्यलाई स्मरण गर्दै बैंकिङ पहुँच वृद्धि गर्नु अत्यन्तै आवश्यक रहेको बताए ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसनका महासचिवसमेत रहेका लुम्बिनी विकास बैंकका सीईओ झलक प्रसाद खनालले पनि बैंकिङ पहुँच आजको आवश्यकता रहेको भन्दै यसका लागि विकास बैंकहरु सदैव तयार रहेको जानकारी गराए ।
बैंकिङ ट्रेनिङ समापनमा मिडिया इन्टरनेशनलका अध्यक्ष एवम् वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले आगामी दिनमा पनि यस्तो ट्रेनिङहरुको आयोजना गरिने जानकारी दिए ।
प्रतिकृया दिनुहोस