सन्तोषको सपना : बादलमाथि जन्मियो, बादल जस्तै चम्कियो
आखिर डाडा काटनु रैछ
त्यो मन अन्तै साटनु रैछ
निलो आकासमाथि हावा हुन्छ । त्यही हावासँग पौठे जोरी खेल्दै चराचुरूंगी उडिरहेका हुन्छन् । त्यही आकासमा मानिसका अनेक सपना पनि उडिरहेका हुन्छन् ।
त्यही हावाको बेगलाई पन्छाउँदै सपनाका घरहरू पनि बनिरहेका हुन्छन् । जीवनका अनगिन्ती मोडहरू पनि निलो आकासलाई नियाल्दै पार गरिरहेका हुन्छन् । अझ आम नेपालीले त तीव्र गतिमा हुँईकिएको बादलको बेगलाई छिचोल्दै सात समुन्द्र पारी पुगेर जीवनलाई शरणार्थी बनाइरहेका हुन्छन् ।
भनिन्छ, पहिलो कुरा पहिलो नै हो । पहिलो प्राप्ति जस्तो सुकै भए पनि त्यसको महत्व आकासभन्दा ठूलो हुन्छ । पहिलो माया, पहिलो खुसी । पहिलो भोगाई, पहिलो भेट । सबै–सबै प्रिय हुन्छन् र लाग्छन् ।
सन्तोष श्रेष्ठलाई बादलमाथिको पहिलो उडाई अझैं प्रिय र कल्पनाझैं लाग्छ । बादल माथि–माथि उड्दै गर्दा एउटा सिर्जना गरे, जसले सन्तोष श्रेष्ठलाई चिनायो । त्यो हो ‘आखिर डाडा काट्नु रैछ बादल जस्तै फाट्नु रैछ ।’
यसरी बन्यो यो गीत
संगीत साधना हो । साधना बिना संगीत अपूरो हुन्छ । ‘तिमीले पराई ठानेपछि’ अचम्मको भोगाईले सिर्जना भयो । जसलाई एउटा भोगाई भन्न पनि मिल्छ ।
२०६२ तिरको कुरा हो । लोकराज अधिकारीले गीतको शब्द संगीत गर्न सन्तोषलाई दिए । तर, त्यो गीत लामो समयसम्म दराजमै थन्कियो । गीत बनेन, केवल त्यो लोकराज अधिकारीको भावनामा सीमित रह्यो । त्यो भावनाले धुन पाउन नसक्दा गायक गायीकाको स्वरसम्म आइपुग्न सक्ने स्थिति नै बनेन ।
सन्तोष श्रेष्ठ आफैंमा राम्रा गायक पनि थिए । मिठो स्वर । मिठास बोली । त्यसमा पनि बाजाको लयमा स्वर भर्न उनी पनि सिपालु थिए । २०६५ मा उनलाई एउटा सांगीतिक कार्यक्रममा बहराइन जाने मौका मिल्यो । झोला बोकेर उनी त्रिभुवन विमानस्थलतर्फ लागे ।
मनमा कताकता डर लागेको थियो । सँगै खुसी पनि । बिस्तारै बिस्तारै हवाई जहाजको गति बढ्यो । त्यही नै उनको मनको गति पनि बढ्यो । पहिलो यात्रा, फरक सपना, भोगाई फरक ।
उनलाई लाग्यो बादलभन्दा माथी त आकास मात्रै हुन्छ । उनले बादलमाथिबाट हवाई जहाज उढेको देखे । झ्यालबाट हेर्दाहेर्दै डाडाकाँडा काटेको देखे । बादल फाटेको नजिकबाट नियाले । उनी यात्रा गर्दागर्र्दै भावनामा डुबब्न थाले । फेरि उनको मन दाङतिर फर्कियो । लोकराज अधिकारीले दिएका शब्दका टुक्रा सम्झिए ।
‘ओहो !! यो त राम्रो गीत पो बन्ने रहेछ ।’
हार्माेनियम बजाउँदै गीत गाउनेलाई हवाई जहाजमा त्यो कहाँ सुबिधा मिल्छ र ? हवाई जहाजभित्रै गुनगुनाए, हातका औलाहरूले हार्माेनियम सम्झेर सिटमा खेलाए । त्यही बेला ‘आखिर डाडा काट्नु रैछ, बादल जस्तै फाट्नु रैछ’ गीतको मेलोडी तयार पारे ।
मन नछुँदा ३ वर्ष
लोकराज अधिकारीले स्वर्गद्धारी एफएममा गजलसम्बन्धी कार्यक्रम चलाउँथे । उनलाई दैनिक ८/१० गजल आइरहन्थे । त्यही क्रममा लोकराजले पनि संगीत गरिदिनुप¥यो भनेर ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र’ बोलको शब्द दिएका थिए ।
एफएममा गजल चलाउने मान्छे, शब्दको ओइरो नै लाग्ने । उनलाई शब्दप्रति कताकता बिश्वास पनि लागेन । ‘केहो केहो भन्ने शंका पनि थियो । त्यो बेला गीत जस्तो पनि लागेन’, उनले भने, ‘शब्दले मेरो मन छुन सकेन । त्यसै थन्कियो ।’
श्रेष्ठको हातमा यो गीत पर्दा रामकृष्ण ढकाल, यम बराल, कुन्ति मोक्तान जस्ता कलाकार चर्चाको शिखरमा थिए । उनीहरूले गाएका जस्तो पनि गीत पनि चल्थे । बजार एकलौटी नै थियो ।
त्यसबेला लोक दोहोरी गीतको बजार थियो । आधुनिक गीत गाउने गायक गायीकाहरू पनि लोक गीतमा ढल्किएका थिए । सन्तोष पनि त्यो बेला लोकलयमै आधारित गीत गाउँथे ।
बन्यो रेकर्ड तोड्ने गीत
हवाई जहाजमा उड्दै गर्दा मेलोडी तयार भएको गीतले झण्डै पाँच महिना बिश्राम पायो । उनी बहराइनमा गएर ३ महिना त गायनमै ब्यस्त भए । ३ महिनामा नेपाल फर्किएपछि पनि गीत बनाउन सल्लाह भयो । शब्द तयार थियो ।
पहिले यो गीत अन्जु पन्तले गाउने शिशिर योगीले गाउने सल्लाह भएको थियो । व्यस्तताका कारण धेरै दिनसम्म योगीले गाउने समय दिएनन् । अनि कुरा पुग्यो अन्जु पन्तसम्म । उनले स्वीकारिन र, पहिलोपटक २०६५ मा ‘तिमीले पराई ठानेपछि’ गीत रेकर्ड भयो । त्यसको एक हप्तापछि शिशिर योगीले गाए । जुनबेला योगीलाई यो गीत अन्जुले गाइसकेकी छन् भन्ने नै थाहा थिएन ।
सिर्जना जन्मिन त्यस्तै परिस्थिती बन्नुपर्छ । एउटा परिस्थितीले ‘आखिर डाडा काट्नु रैछ’ भन्ने गीतको सिर्जना भयो, जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा नयाँ आयाम नै थप्यो ।
रेकर्डमाथि रेकर्ड
शिशिर योगीले गाउन समय नमिल्दा अन्जुले गाएकी थिइन् यो गीत । पहिलोपटक रेकर्ड गर्दा भने जस्तो भएन । राम्रो सुनिएन । गीत राम्रो बनेको थियो । सबैलाई राम्रो गरौं भन्ने थियो । त्यही भएर फेरि १ महिनापछि पुनः अन्ज पन्तकै आवाजमा रेकर्ड भयो ।
त्यसलाई ग्रुप भ्वाईलुन र तबला थपेर बनाइएको हो । त्यसबेला अन्जुले ५ हजार रूपैया लिइन । पहिले गाउँदा पनि उनले ५ हजार पाएकी थिइन् । त्यसबेला उनको रेट नै ५ हजार थियो । त्यो बेला अन्जुको ‘न बिर्से तिमीलाई’ भन्ने मात्रै चर्चामा थियो ।
त्यसबेला डबल रेकर्ड गर्ने बेलासम्म पनि ५० हजारभन्दा बढी सिआरविटी डाउनलोड भइसकेको थियो । त्यो भनेको अन्यन्तै धेरै हो ।
‘तिमीले पराई ठानेपछि’ सिआरविटीमा नम्बर वान भयो । ३ लाख सिआरविटी डाउनलोड भएको थियो । यसैबाट अन्जु व्यवसायीक गायीका बनिन् । त्यो गीतले लोक गीतको बजारलाई तल पारिदियो । यो गीत लोक दोहोरी सुन्नेले पनि मन पराए । आधुनिक गीत पारखीका लागि पनि उत्तम थियो ।
सन्तोषलाई चिनाउने गीत बन्यो
त्यसै पनि सन्तोष श्रेष्ठ लोक गीतका राम्रा सर्जक थिए । आफैं लोक गीत गाउँथे । उनले १ दर्जन जति लोक गीत रेकर्ड पनि गराइसकेका थिए । आधुनिक तर्फ भने ‘चिनारी’ एल्बममा समावेश भएका ८ वटा गीत बजारमा आएको थयो । ‘चिनारी’ मै समावेश थियो ‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु ?’ बोलको गीत ।
२०५८ मा रेकर्ड भएको यो गीत रामकृष्ण ढकालले गाएका थिए । त्यो बेला पनि सन्तोषलाई यो गीतले चिनाउन सकेन । मात्रै रहर पूरा गर्ने माध्यम बन्यो । पछि यही गीत २०६८ मा अन्जु पन्त र शिशिर योगीले गाए । यसले फेरि चर्चा कमायो ।
‘मलाई आखिर डाडा काट्नु रैछ’ ले चिनायो, सँगै अन्जु पन्तलाई पनि व्यवसायीकता तर्फ लम्कायो’ उनले भने, ‘गीत हो, कसरी र कुन बेला चल्छ भन्ने पनि नहुने रैछ । राम्रा सिर्जना भए पनि केही चल्छन्, केही चल्दैनन् ।’ तर, उनका सिर्जना त्यसपछि लगातार चले र सन्तोष श्रेष्ठलाई सफल संगीतकारको पहिचान रूपमा पनि यसै गीतले चिनायो ।
प्रतिकृया दिनुहोस