केपी ओली कप फुटबलको उपाधिमा मच्छिन्द्रको ह्याट्रिक, आर्मी उपविजेतामै सीमित

काठमाडौं । दुई पल्टको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले सोमबार केपी ओली कप -२०८१ को उपाधि जितेको छ ।
सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै मच्छिन्द्रले केपी ओली कप फुटबलको उपाधिमा ह्याट्रिक गरेको हो । खेल अवधीभर मछिन्द्रले खेल दबदबा कायमै राखेको थियो ।
यसअघिका दुवै संस्करणमा टाइब्रेकरसम्म पुग्नुपरेको मच्छिन्द्रले यसपटक भने निर्धारित समयमै पर्याप्त गोल गर्दै उपाधि फेरि आफ्नो नाममा गरेको छ । पहिलो संस्करणको फाइनलमा सातदोबाटो युथ क्लब तथा दोस्रो संस्करणको फाइनलमा एनआरटी क्लबलाई टाइब्रेकरमा हराएर मच्छिन्द्रले उपाधि जितेको थियो । यो सिजन मच्छिन्द्रको यो दोस्रो उपाधि हो । यसअघि इटहरी गोल्डकपको उपाधि जितेको थियो ।
मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९औं मिनेटमा मच्छिन्द्रको क्रस क्लियर गर्ने क्रममा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो । दोस्रो हाफमा युसुफ मलिकको क्रसमा जमहा जालेले उत्कृष्ट फस्र्ट टच फिनिस गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र मच्छिन्द्रले फेरि पनि उपाधि रक्षा गर्न सफल भयो ।
उपाधिसँगै मच्छिन्द्रले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा सीमित बनेको आर्मीले पाँच लाख रुपैयाँ पाएको छ । प्रतियोगिताको उद्घाटनसँगै खेलाडीलाई उत्साह दिन प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन दशरथ रङ्गशाला पुगेका थिए ।
इटालीलाई सन् २००६ को विश्वकप जिताउन सफल बुफोनलाई प्रतियोगिता आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले पाहुनाको रूपमा नेपाल निम्त्याएको हो । फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कपमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिकृया दिनुहोस